लिगमा हिमालयन शेर्पाको तेस्रो जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिगमा हिमालयन शेर्पाको तेस्रो जित

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान विश्वास श्रेष्ठको पेनाल्टी गोलको सहयोगमा हिमालयन शेर्पा क्लबले दशरथ रंगशालामा सोमबार सातदोबाटो युवा क्लबलाई १–० ले हराएर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

सातदोबाटोका डिफेन्डर पिटर सेगुनले पेनाल्टी क्षेत्रमा मिडफिल्डर त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले हिमालयन शेर्पालाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई विश्वासले गोलमा परिणत गर्दै ४५ औं मिनेटमा हिमालयन शेर्पालाई १–० ले अघि बढाए । निकै निराशाजनक प्रतिस्पर्धाको इन्ज्युरी समयमा मुताम्बा पिस्टोनले सहज अवसर उपयोग गर्न नसक्दा हिमालयन शेर्पा अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

सात मिनेटको इन्ज्युरी समयको अन्त्यतिर सातदोबाटोले पनि पेनाल्टी अवसर पाएको थियो । हिमालयन शेर्पाका डिफेन्डर जीवन गुरुङले मार्टिन सिलो नांगालाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि सातदोबाटोले बराबरी गर्ने राम्रो मौका पाएको थियो । तर, पेनाल्टीमा मार्टिनले प्रहार गरेको बल गोलकिपर दीप कार्कीले रोक्दै हिमालयन शेर्पाको ३ अंक निश्चित गरेका थिए । तेस्रो हारपछि सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले भने, ‘गेम राम्रै खेलेको हो । अन्त्यमा एउटा सानो गल्तीले हार्न पुग्यौं । पेनाल्टी हानेको राम्रै थियो तर किपरले रोकिदियो ।’


मुख्य प्रशिक्षक मेघराज केसीलाई मातृशोक परेपछि ‘टचलाइन’ सम्हाल्ने अवसर पाएका महर्जनले थपे, ‘मैदानमा उहाँ (मेघराज) हुनु र नहुनुले अलि फरक त परिहाल्छ । हाम्रो अलि मिहिनेत पुगेन जस्तो लाग्यो । अर्को खेलमा थप मिहिनेत गर्नेछौं ।’

सुरुका तीन खेलमा ७ अंक जोडेको सातदोबाटो पछिल्ला ४ खेलमा १ अंकमै सीमित भएको छ । सातदोबाटो दुई जित, दुई बराबरी र तीन हारको नतिजासहित ८ अंक बनाएर आठौं स्थानमा छ ।

सातौं चरणको अन्तिम खेलमा सफलता हात पारेपछि हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले भने, ‘जहिले पनि गोल रक्षा गर्न एकदम गाह्रो हुन्छ । हामीलाई पनि गाह्रो भएको हो । दुवै टिमले अवसरहरू पाएका हुन् । सातदोबाटोले राम्रो खेलेको हो । हामीलाई दबाब दिएको हो । हाम्रो प्रदर्शनमा सन्तुष्ट छैन ।’ उनले सहायक रेफ्रीले टिमप्रति सम्मान गर्न आवश्यक रहेको पनि बताए । सुरुका चार खेलमा दुई अंकमा सीमित रहेको हिमालयन शेर्पाले पछिल्ला तीन खेलमा ब्रिगेड ब्वाइज, च्यासल र सातदोबाटोलाई पराजित गर्‍यो । तीन जित, दुई बराबरी र दुई हार खेल्दै ११ अंक जोडेर हिमालयन शेर्पा शीर्ष पाँचमा उक्लियो ।

प्रकाशित : पुस १९, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

त्रिविको आन्तरिक प्रतिस्पर्धा स्थगित, एक महिनापछि खुल्यो तालाबन्दी

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा एक महिनादेखि भएको तालाबन्दी सोमबारबाट खुलेको छ ।

आन्दोलनरत विद्यार्थी र त्रिविबीच आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सहमति भएसँगै आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको हो ।

त्रिवि सभाले गत मंसिर १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा सत्तारुढसहित ६ विद्यार्थी संगठनले मंसिर १६ गते उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालबन्दी गरेका थिए ।

नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र अखिल क्रान्तिकारी र त्रिविबीच सहमति भएको हो । त्रिविले प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

दुई पक्षबीच भएको सहमतिमा ६/६ महिनामा खुला विज्ञापन गरी शिक्षक, कर्मचारी नियुक्ति गर्ने र तालाबन्दी खोल्ने उल्लेख छ । आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी नियुक्ति गर्ने त्रिविको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको पनि सोमबार नै आदेश आउँदैछ ।

प्रकाशित : पुस १९, २०७८ १५:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×