कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनीलको गोल र मछिन्द्रको भाग्य

सुनील बलको गोलमा पुलिसलाई १–० ले हराएर शीर्षस्थानमा उक्लिँदै मछिन्द्रले पहिलोपल्ट एएफसी कप छनोट खेल्ने पक्का गर्‍यो ।
राजु घिसिङ

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्रविरुद्ध विभागीय टिम पुलिसको प्रदर्शन गतिलो थिएन । उसले दोस्रो हाफमा भने आच्छुआच्छु नै पार्‍यो । तैपनि पूरा खेलमा एकपल्ट पनि ‘फ्रेम’ मा बल प्रहार गर्न सकेन ।

सुनीलको गोल र मछिन्द्रको भाग्य

त्यसैले पहिलो हाफमा सुनील बलको गोलमा लिएको अग्रता जोगाउँदै आइतबार दशरथ रंगशालामा १–० को जित निकाल्दै मछिन्द्र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई उछिन्दै शीर्षस्थानमा उक्लियो । यससँगै मछिन्द्रले एएफसी कप २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

गत सिजन (२०७६ साल) पहिलोपल्ट च्याम्पियन भए पनि मछिन्द्रले एएफसी क्लब लाइसेन्स नभएकाले एएफसी कप खेल्न पाएको थिएन । जसको फाइदा आर्मीलाई भएको थियो । लिगको उपविजेता भए पनि आर्मीले एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्ने अवसर पाएको थियो । एएफसी कप २०२२ को ‘ड्र’ निस्कँदा हाम्रो ‘ए’ डिभिजन लिग नसकिने भएकाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपालि सातौं चरणमा शीर्षस्थानमा रहने क्लबले देशको प्रतिनिधित्व गर्न पाउने जनाएको थियो । त्यो अवसर मछिन्द्रले पाएको छ । उसले आर्मीले जस्तै एएफसी कपको दक्षिण एसियाली क्षेत्रमा प्रारम्भिक चरणमै प्रतिस्पर्धा गर्नेछ । प्रारम्भिक चरण र प्ले–अफमा सफलता हात पार्नसके समूह चरणमा पुग्नेछ ।

एएफसीले आफ्नो प्रतियोगितामा सहभागी हुन क्लब लाइसेन्स अनिवार्य गरेको छ । गत सिजन आर्मीले मात्रै एएफसी क्लब लाइसेन्स पाएको थियो । मछिन्द्र, मनाङसँगै आर्मी र एपीएफले सन् २०२२ का लागि एएफसी क्लब लाइसेन्स पाएका छन् । यी चार क्लबमध्ये सबभन्दा अगाडि रहने क्लबमात्रै आउने एएफसी कपमा खेल्ने हकदार हुन् । नेपाली क्लबले खेल्ने माथिल्लोस्तरको औपचारिक प्रतियोगिता पनि एएफसी कप नै हो । एएफसी कपमाथिको च्याम्पियन्स लिगमा नेपाली क्लबले छनोट खेल्ने हैसियत पनि राख्दैन ।

पुलिसलाई हराएर मनाङलाई १ अंकले उछिन्दै एएफसी कप खेल्ने निश्चित गरेपछि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले भने, ‘अवश्य खुसी लागेको छ । सात खेलमै निर्णय भयो । अलिकति टिमलाई दबाब पनि थियो । तर, हामी सफल भयौं । यसमा सबैले मिहिनेत गरेका छन् ।’ उनले थपे, ‘पहिला आर्मीले एएफसी कप खेल्दा हामीलाई दुःख लागेको थियो किनभने हामी च्याम्पियन भएर पनि लाइसेन्स नभएका कारण खेल्न पाएनौं । यसपालि मौका पाइएको छ । खुसी छौं । भगवान्ले पनि साथ दिनुभएजस्तो लाग्छ ।’ उनले टिम राम्रो भएकाले एएफसी कपको प्रारम्भिक चरणबाट अगाडि बढ्ने आशा पनि व्यक्त गरे ।

सुनीलको पाँचौं गोल

राम्रो लयमा रहेका सुनील बलले विशाल राईको फ्रि–किकमा हेडद्वारा खेलको एकमात्र गोल २२ औं मिनेटमा गरेका थिए । पहिलो हाफमा फिक्का देखिएको पुलिसले फ्रि–किकमा पनि पेनाल्टी क्षेत्रमा सुनीलसहित आन्द्रस निआ र विमल घर्तीमगरलाई खुला छाडेको थियो । त्यसै अवसरमा सुनीलले हेडद्वारा प्रहार गरेको बल ‘फस्ट बार’ मै जाली चुम्न पुगेको थियो । यससँगै सुनील ५ गोलसहित यो लिगको सर्वाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् ।

त्यो गोलबारे पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने, ‘फ्रि–किक सेकेन्डबारमै हान्छ भनेर त्यसैमा केन्द्रित भयो । तर, फस्ट बारमा हाने । केटाहरू झुक्किए ।’ टिमको प्रदर्शनबारे उनले भने, ‘हामीले पहिलो हाफ डिफेन्समा सुरक्षित भएर खेलेका थियौं । जसरी पनि गोल हान्नुपर्छ भनेर दोस्रो हाफमा अगाडि बढ्यौं । सुमन (लामा) को फ्रिकिक इन्साइड बार (पोस्टको भित्री भाग) मा लागेर पनि गोल नहुनु मछिन्द्रको भाग्य रह्यो ।’ सात खेलमा ६ अंकमात्रै जोडेको उनको टिम ११ औं स्थानमा छ । पुलिस ५ खेलयता जितविहीन छ ।

विशालले ४३ औं मिनेटमा सशक्त रूपमा प्रहार गरेको बल पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुनीलले लामो दूरीबाट प्रहार गरेको बल शत्रुघनले पन्च गर्दै बाहिर फालिदिए । मनीष डाँगीले गोलकिपर पछाडि परेको अवस्थामा खाली पोस्टमा ६८ औं मिनेटमा हानेको बल पोस्ट बाहिर गएको थियो ।

आक्रामक देखिएको पुलिसले दोस्रो हाफमा बराबरी गर्ने अवसर पाएको थियो । तेज तामाङको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका कप्तान रामचन्द्र वजीले बल पोस्टमाथि हानेपछि पुलिस बराबरी गर्न चुक्यो । सुमनले करिब २८ यार्डबाट ७४ औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बल बारमा लाग्दै फर्किंदा अर्को अवसर गुम्यो । चोटका कारण दोस्रो हाफमा मात्रै मैदानमा प्रवेश गरेका मछिन्द्रका कप्तान सुजलले ७८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रूपमा प्रहार गरेको बलमा पुलिसका गोलकिपर शत्रुघनले उत्कृष्ट बचाउ गरे । अन्त्यतिर सुमन र अजित भण्डारीका प्रहारलाई डिफेन्डरले रोकेपछि मछिन्द्रले एएफसी कपमा स्थान सुरक्षित गरेको थियो ।

चर्को दबाब

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘एकदम दबाबपूर्ण खेल थियो । जित्नैपर्ने खेलमा खेलाडीको चोट र निलम्बनले धेरै दबाबमा परेका थियौं । तैपनि जित्ने लक्ष्य १–० ले पूरा भयो । त्यसमा सन्तुष्ट छु ।’ डिफेन्सका छिरिङ गुरुङ र करिम ओमोलाजा निलम्बनमा थिए । रञ्जित धिमाल र सुजल अझै चोटमुक्त नरहेको उनले बताए । फरवार्ड रेजिन सुब्बा उपचारका लागि दोहा पुगिसकेका छन् ।

छैटौं चरणमा इन्ज्युरी टाइममा सुनीलले फ्रि–किकमा लोभलाग्दो गोल गरेपछि मछिन्द्रले मनाङलाई १–० ले हराएको थियो । तैपनि पोखरामा शनिबार मनाङले ब्रिगेड ब्वाइजलाई १–० ले हराएर १६ अंक बनाएपछि एएफसी कपमा स्थान पक्का गर्न मछिन्द्रलाई पुलिसविरुद्ध जित निकाल्नुको विकल्प थिएन । यसमा पाँच जित र दुई बराबरीको अपराजित यात्रा गर्दै मछिन्द्र सफल रह्यो । मनाङको खातामा १६ अंक छ । अपराजित रहेका संकटा (१३ अंक) र आर्मी (११) शीर्ष चारमा छन् । यसपालि उनको टिमले गत सिजनभन्दा ३ अंक बढी जोडेको हो । गएको सिजन सातौं चरणसम्म मछिन्द्रले १४ र आर्मीले १६ अंक बनाएका थिए ।

मछिन्द्रले पुलिसलाई दुई वर्षअघि पनि १–० ले हराएको थियो । यसपालिको भेटबारे प्रशिक्षक कटुवालले भने, ‘पुलिस राम्रो टिम हो । उसले सुरुमा ५ डिफेन्डर खेलायो । त्यसैले हामीलाई गाह्रो थियो । तर, सुरुमै गोल निस्कियो । हामीले पहिलो खेलमा एनआरटीसँग गोल खाएपछि गोल बेहोरेका छैनौं । त्यस्तै गोल नखाने र काउन्टरमा आक्रमण गर्ने भनेर दोस्रो हाफमा खेलेका थियौं । सफल भयौं ।’ एएफसी कपका लागि टिममा विदेशी खेलाडी थप्ने उल्लेख गर्दै उनले धेरै सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

लगातार ६ क्लिनसिट

उपाधि जोगाउने अभियानको पहिलो खेलमा मछिन्द्रले सुनीलको दुई गोलमा एनआरटीमाथि २–१ को जित हात पारेको थियो । एनआरटीका एरिक विष्टले ५४ औं मिनेटमा गोल गरेयता मछिन्द्रले गोल बेहोरेको छैन । यसक्रममा उसका गोलकिपर विशाल श्रेष्ठले लगातार ६ खेलमा ‘क्लिनसिट’ राखेका छन् ।

‘टिमवर्कले भएको हो,’ गोलकिपर विशालले क्लिनसिटको यात्राबारे भने, ‘डिफेन्समात्रै होइन, स्ट्राइकिङ लाइनदेखि नै सबैले मिलेर गरेको हो । जित्नका लागि गोल हान्ने मात्रै होइन कि पहिला रोक्नुपर्छ (विपक्षीलई) भन्ने हाम्रो ट्रेनिङदेखिकै कोचको रणनीतिलाई उपयोग गर्दै आएका छौं । यो (क्लिनसिट) हामी सबैको मिहिनेतले भएको हो ।’ गत सिजनको उपाधि यात्रामा उनले १३ मध्ये ७ खेलमा क्लिनसिट राखेका थिए, जसमा निरन्तर भने दुई खेलसम्ममात्रै थियो । त्यस आधारमा यो सिजनलाई उनको करिअरकै उत्कृष्ट मान्नुपर्छ ।

उनले गत भदौमा दशरथ रंगशालामा भारतविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सब्स्टिच्युटका रूपमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय टिममा छनोट भएको एक दशकपछि पाएको त्यो अवसरलाई उनले सम्झिए, ‘अन्तर्राष्ट्रिय खेल खेल्ने मेरो सपना पूरा भएको थियो । त्यसले मलाई थप ऊर्जा दिएको छ ।’

प्रकाशित : पुस १९, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?