अञ्जनको गोलमा मनाङ शीर्षमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
'ए' डिभिजन लिग

अञ्जनको गोलमा मनाङ शीर्षमा

मनाङको एएफसी कप खेल्ने सम्भावना जीवितै, आइतबार हुने मछिन्द्र र पुलिसबीचको खेलले निर्धारण गर्ने
दीपक परियार

पोखरा — घरेलु मैदानमा अञ्जन विष्टले ब्रिगेड ब्वाइजविरुद्ध गरेको निर्णायक गोल मदतमा मनाङ मर्स्याङ्दी क्लबलाई पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा पुर्‍याएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा शनिबार अञ्जनले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक भयो । ब्रिगेडसँग १–० को जितसँगै मछिन्द्रलाई पछि पार्दै मनाङ लिगको शीर्षस्थानमा उक्लिएको हो । मनाङले १६ अंक भएको छ भने मछिन्द्रसँग १४ अंक छ । यो जितले मनाङको एएफसी कप छनोट खेल्ने सम्भावना जीवितै छ ।

सातौं चरणअन्तर्गत मछिन्द्रले आइतबार पुलिससँग खेल्नेछ । यो खेलले नै मनाङ एएफसी कप छनोट खेल्ने टोली तय गर्नेछ । एन्फाले लिगको सातौं चरण सकिँदासम्म एएफसी लाइसेन्सप्राप्त क्लबमध्ये शीर्षस्थानमा हुने टिम एएफसी कपका लागि छनोट हुने निर्णय गरेको थियो । मछिन्द्रले जित पाए १७ अंक हुन्छ । यसो हुँदा मात्र मछिन्द्र छनोट हुन्छ । नत्र मनाङले बाजी मार्नेछ ।

शनिबारको खेल मनाङका लागि निकै संघर्षपूर्ण बन्यो । कम्तीमा बराबरीमा रोक्ने रणनीतिका साथ खेलेको ब्रिगेड ब्वाइजले सुरुदेखि नै आक्रामक खेल्यो । पटक–पटक गोलका अवसर सिर्जना गरे पनि उत्कृष्ट ‘फिनिसिङ’ हुन सकेन । खेलको १६ औं मिनेटमै ब्रिगेडले अग्रता लिने सुनौलो अवसर गुमायो । मनाङका आदित्य चौधरीले शिशिर लेखीलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टी अवसर ब्रिगेडले उपयोग गर्न सकेन । शिशिरको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरियो । अग्रता लिएर मनाङमाथि दबाब सिर्जना गर्नबाट ब्रिगेड चुक्यो ।

खेलको २९ औं मिनेटमा मनाङका पुजन उपरकोटीको पास अञ्जनले प्रहार गर्दा ब्रिगेडका गोलकिपर गुरप्रित सिंहले पन्च गर्दै बचाए । ३३ औं मिनेटमा मनाङले अर्को अवसर गुमायो । ब्रिगेडका विशाल बस्नेत र इबोडेलाई बिट गर्दै मनाङका ओलावाले आफिजले गरेको प्रहार गोलकिपरले बचाए । ३९ औं मिनेटमा निशान लिम्बुको कडा प्रहार पोस्ट नजिकबाट बाहिरियो । ब्रिगेडका गोलकिपर गुरप्रितले उत्कृष्ट प्रदर्शन गरे । भारतबाट सुपर लिग र आई लिग खेलिसकेका उनले नेपालको लिगमा शनिबारै डेब्यु गरेका हुन् ।

पहिलो हाफको अतिरिक्त समय मनाङका कप्तान अञ्जनले खेर फालेनन् । दयानन्द सिंहको क्रस बल ब्रिगेडका गोलकिपर गुरप्रित पन्च गरेर क्लियर गर्न असफल भए । त्यही रिबाउन्ड बलमा अञ्जन पेनाल्टी एरियाबाट हेडबाट गोल गर्न सफल भए । घरेलु मैदानमा उनको यो तेस्रो व्यक्तिगत गोल हो । दोस्रो हाफमा समेत आक्रामक देखिएको ब्रिगेडले गोल गर्न नसक्दा लिगमा रेलिगेसनमा पर्ने सम्भावना बढी छ । मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच र प्रवेश कुँवर उदीयमान खेलाडी घोषित भए ।

ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठ आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहे । पेनाल्टी सदुपयोग गर्न नसक्नु खेलको ‘टर्निङ प्वाइन्ट’ भएको उनले स्वीकारे । पहिलो हाफमा ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न चुक्नु र दोस्रो हाफमा दुई बल बारमा लागेर फर्किनु टोलीका लागि दुर्भाग्य भएको उनले बताए । ‘फुटबलमा भाग्य पनि चाहिन्छ,’ उनले भने, ‘राम्रो खेल्दाखेल्दै हार्नुपर्‍यो ।’ लिगमा मछिन्द्र, थ्रीस्टारलगायत बलिया टिमसँग खेल्न बाँकी नै रहेकाले रेलिगेसनबाट बच्न गाह्रो देख्छन् उनी ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो योजनाभन्दा विपरीत रणनीतिमा ब्रिगेडले खेलेपछि जित कठिन भएको बताए । ‘ब्रिगेडले सुरुआतमा रक्षात्मक खेलेर पछि आक्रामक खेल्छ भन्ने थियो,’ उनले भने, ‘त्यस विपरीत हामीले रक्षात्मक खेल्नुपर्‍यो ।’

ब्रिगेडको पेनाल्टीमा गोल नहुनु, बारमा लागेर बल फर्किनु नै मनाङको भाग्य भएको उनी बताउँछन् । नयाँ वर्ष मनाउने क्रममा खेलाडीलाई आराम नपुग्दा प्रदर्शन कमजोर देखिएको उनले सुनाए । भने, ‘राम्रो/नराम्रो खेले पनि खेल जितेर ३ अंक जोड्न सक्यौं, त्यसमै खुसी छौं ।’

प्रकाशित : पुस १७, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमा पूर्वाधारभन्दा रेमिट्यान्सले जीवन फेरिएको छ

तुलानाराण साह

काठमाडौँ — लकडाउनका बेला एक अमेरिकी अर्थशास्त्रीले उत्तर भारतको विकास किन भएन भनेर किताब प्रकाशन गर्नुभएको छ । त्यो किताबको सुरुको च्याप्टरमा तथ्यांक विश्लेषकहरूका बारेमा रमाइलो र सटीक विषयवस्तु राखिएको छ । तथ्यांक विश्लेषण भनेको कहिलेकाहीं हिरासतमा प्रहरीले केरकार गर्नेजस्तो पनि हुँदोरहेछ ।

प्रहरीले जसरी, जस्तो खालको बयान लिन चाहन्छन्, त्यसरी नै हिरासतमा रहेका मान्छेले बयान दिन सक्छ । ठीक त्यसरी नै तथ्यांकशास्त्री वा विश्लेषकहरूले कसरी तोडमोड गर्ने वा जस्तो निष्कर्ष सुन्न चाहेको हुन्छ त्यस्तो निष्कर्ष एउटै तथ्यांकबाट निकाल्न सक्नुहुन्छ । तथ्यांकमा टर्चर गर्ने कि विश्लेषण गर्ने यी दुई छुट्टाछुट्टै कुरा हो । यसको बारेमा बहस भइरहेको छ र भइरहनेछ ।

म यो किन भन्दै छु भने रेमिट्यान्सले घटाएको गरिबी अथवा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गरेको योगदानका विषयमा तमाम तथ्यांक पनि छन् । म यस्तो जिल्लामा केन्द्रित भएर काम गर्दै छु, जुन कुनै बेला नेपालमा काठमाडौं उपत्यकापछि सबैभन्दा पढेलेखेको/साक्षरता दर भएको मानिन्थ्यो । जुन जिल्ला सन् २०१३/१४ यता निरन्तर रूपमा बढी गरिबी भएकामा पर्छ । पाँचौं नम्बरमा गरिबीको जनसंख्या भएको सप्तरी जिल्लालाई आफ्नो अध्ययन स्थल बनाएको छु ।

यी सबै तथ्यांकको बीचमा मैले आफ्नो गाउँमा रेमिट्यान्सले गर्दा के फरक ल्याएको छ भनेर बुझ्ने कोसिस गरें । मैले सबैभन्दा पहिला के पाएँ भने मेरो गाउँमा दलित समुदायका साथीहरूलाई सम्बोधन गर्ने शब्दहरूमा परिवर्तन भएको पाएँ, उच्चारणमा परिवर्तन भएको पाएँ । सोच्दै जाँदा हिजो मैथिलीमा जसलाई ‘रे’ भनिन्थ्यो अथवा नेपालीमा ‘तँ’ भनिन्थ्यो । ती समुदाय, समूहका मानिसलाई तपाईं भनिन थालेको पाएको छु । किन भनेर खोज्दै जाँदा मैले दुईवटा कुरा देखें । एउटा कुरा पछिल्लो समयमा सन् २००६/०७ यता तराईको गाउँमा रेमिट्यान्स प्रवेश गरेपछि त्यो रेमिट्यान्सले उसलाई धनी मानिससँग आर्थिक रूपमा कम आश्रित हुन सिकायो/बनायो । अलिकति दूरी बनाउन सिकायो । त्यो भन्दा अलिकति पछाडि फर्केर हेर्दा माओवादी युद्धले तिनलाई बोल्ने क्षमता दिएको रहेछ ।

मधेसी समाजमा लैंगिक र जातीय सम्बन्धमा परिवर्तन भएको छ । पिछडिएको समाजमा सबैभन्दा राम्रो संरक्षक र संरक्षितबीचको पुरानो सम्बन्धमा व्यापक परिवर्तन भएको छ । यी सबैले गर्दा बोली, व्यवहार र शब्दहरूमा परिवर्तन आएको छ । हिजो पञ्चायतीमा नबोलाउने मानिसलाई आज बोलाउन थालिएको छ । यसले गर्दा मलाई लाग्छ रेमिट्यान्स र माओवादी जनयुद्धले सामाजिक सम्बन्धमा आमूल परिवर्तन भएको छ ।

कुनै जमानामा ‘विकासका लागि रेमिट्यान्स’ भन्ने नारा थियो, अहिले ‘विकासका लागि पूर्वाधार’ भन्ने छ । म सप्तरीसँगको उदाहरण दिन चाहन्छु । जब दक्षिण एसियामा ठूला–ठूला पुलको प्रयोग हुँदै थियो त्यतिबेला नै त्यहाँ कोसी ब्यारेज बनेको छ । जहाँ सबैभन्दा पुरानो सिँचाइ संरचना ‘चन्द्र नहर डिभिजन’ बनेको छ । यो जिल्लामा नेपालको राजमार्गले लामो दूरी पार गरेको छ । त्यसैले तीन ठूला पूर्वाधार सडक, सिँचाइ र पुलको विकास सप्तरीमा आजभन्दा ५० वर्ष अगाडि नै भएको देखिन्छ । त्यति हुँदाहुँदै पनि सप्तरीमा सबैभन्दा गरिबी किन रह्यो त ? यो आजको प्रश्न हो । काठमाडौंमा धेरै ठूला विवाद सुन्ने गरेको छु, विकास कि प्रगति ? मलाई लाग्छ यो पूर्वाधारले विकासको कुरा गर्छ । तर मेरो गाउँमा ४५ प्रतिशत दलित जनसंख्यालाई हेर्दा र २५ प्रतिशत दलित जनसंख्या रहेको सप्तरी जिल्लालाई नै हेर्दा रेमिट्यान्सले प्रगति दिँदो रहेछ ।

तराईतिर पेट भाते, नोकरजस्ता शब्द चर्चित छ । केही तलब दिनु नपर्ने, खान मात्रै दिएर दिनभर काम गर्नेलाई पेट भाते वा नोकर भनेर भनिन्छ । म सानो हुँदा अर्थात् आजभन्दा करिब ४० वर्ष अगाडि मेरा साथीहरू ‘नोकर’का रुपमा जमिन भएको मानिसको घरघरमा गएर लाइन लागेका हुन्थे । तर आज तिनका बच्चाहरु टाई, जुत्ता लगाएर गाउँकै निजी विद्यालयमा पढ्न गइरहेका छन् । यसको पछाडिको कारण हेर्दा त रेमिट्यान्स नै देखिन्छ ।

ग्रामीण र गरिब समाजमा रेमिट्यान्सले पूर्वाधार विकासमा कति सघाउँछ भनेर गहिरो रुपमा सोचिएको छैन । तर पूर्वाधारले मेरो सप्तरी जिल्लाका जनताको जीवनस्तर विकास गरेको छैन भन्ने कुरा म प्रत्यक्ष देखेको छु । मेरो गाउँ र मेरो जिल्लाबासीलाई रेमिट्यान्सले नै बदलेको देखेको छु ।

राज्यले भन्छ– स्वरोजगारका लागि नीति बनाइएको छ । बजारलाई जहिले पनि नाफा चाहिन्छ र उसले उपयुक्त नीतिको माग गर्छ । समाजको प्रतिनिधित्व गर्दै मैले भन्छु कि राज्यले यति धेरै नीति बनाइरहँदा, बजारले नाफा लिइरहँदा जो रेमिट्यान्स कमाउनको लागि विदेश जान्छन्, उनीहरुको पीडा घटेको छ कि छैन ?

मैले भर्खरै सनैया पढ्दा विदेश गएका मजदुरको पीडा घटेको देखिँदैन । यो भयावह स्थिति हो । मैले गाउँमा अध्ययन गर्दा के देख्दैछु भने रेमिट्यान्स प्राप्त गर्ने परिवार दुई खालका समस्यासँग जुधिरहेका छन् । एउटा पुरुष मान्छे विदेश गएका छन् र महिलामाथि असुरक्षाको भावना बढेको छ । आर्थिक हिसाबले अन्य खालका घटना पनि घटेका छन्, शारीरिक सुरक्षाको समस्या बढेको छ । अर्काे समस्या भनेको विदेश जानेका बालबच्चा राम्ररी पढ्न चाहन्छन्, विद्यालयमा पढाइ राम्रो छैन यसमा राज्यले सोच्नुपर्छ ।

(विश्लेषक साहले कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १७, २०७८ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×