रणनीति आक्रामक, लक्ष्य उपाधि

साफ महिला यू–१८ च्याम्पियनसिप
सुबास हुमागाईं

काठमाडौँ — पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ ।

सिनियर महिला राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपको तयारीका लागि तीन महिना अगाडिबाटै दीर्घकालिन तयारीमा राख्नु, उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउनु र तुलनात्मक रूपमा एन्फाको महिला समिति सक्रिय हुनुलाई महिला फुटबल सकारात्मक रूपमा अगाडि बढेको संकेतमा लिन सकिन्छ । गत सातामात्र नेपालले आफ्नै भूमिमा एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गरेको थियो । दोस्रो चरणमा छनोट हुन नसकेको नेपालले त्यसअघि भुटानमै भएको साफ यू–१५ च्याम्पियनसिपमा चौथो स्थानमा चित्त बुझाएको थियो ।


उमेर समूहको अन्तर्राष्ट्रिय सहभागितालाई निरन्तरता दिँदै बुधबार नेपाली यू–१८ राष्ट्रिय महिला टोली साफ यू–१८ महिला च्याम्पियनसिप खेल्न भुटान गएको छ । अर्को महिना थाइल्यान्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको तयारीका रूपमा रहेको यस प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउँदै छन् । श्रीलंकाले सहभागिता जनाउने भने पनि अन्तिम समयमा नाम फिर्ता लिएको थियो । शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालको समूहमा बंगलादेश र पाकिस्तान छन् ।


नेपाली टोलीको छनोट प्रक्रिया झन्डै ३ महिनाअघि सुरु भएको हो । एन्फाले राष्ट्रव्यापी खुला छनोटको आह्वान गर्दै पहिलो चरणको छनोट गर्‍यो । खुला छनोटबाट आएका खेलाडीसँगै महिला राष्ट्रिय लिगमा उमेर हदबन्दी ननाघेका खेलाडीसमेत समेटेर डेढ महिनाअघि दोस्रो चरणमा छनोट गरिएको थियो । त्यसपछि एक चरण खेलाडी छनोट गरेर अन्तिम २३ को नाम सार्वजनिक गरिएको हो ।


टोलीमा सिनियर राष्ट्रिय टोलीको अनुभव बोकिसकेका खेलाडी पनि रहेका छन् । कप्तान सरु लिम्बु, गोलरक्षक अन्जना राना मगर र मिडफिल्डर मन्जली कुमारी योञ्जन राष्ट्रिय टोलीका नियमित सदस्य नै हुन् । यसबाहेक विमला बिक राष्ट्रिय टोलीमा वैकल्पिकमा थिइन् भने अधिकांश खेलाडीले यसअघि उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । टोलीका केही खेलाडी करारमा रहेर विभागीय टोलीबाट खेल्छन् ।


कप्तानी सम्हालेकी सरुले उच्च स्तरमा प्रतिस्पर्धा गरेको अनुभवले यस प्रतियोगितालाई निकै सहयोग पुग्ने बताइन् । ‘हाम्रो टोलीमा अधिकांश खेलाडी अन्तर्राष्ट्रिय अनुभव बटुलेका छौं । नेपालको घरेलु फुटबलमा पनि नियमित खेलिरहेका खेलाडी छन् । यो अनुभवले हामीलाई पक्कै सहयोग पुग्नेछ,’ उनले भनिन् । उनका अनुसार लामो समय सँगै रहेर तयारी गरेका कारण पनि टोलीले राम्रो नतिजा हासिल गर्नेछ । ‘हामीले सँगै रहेर नियमित प्रशिक्षण गर्ने अवसर पायौं । एकआपसमा पनि राम्रो समन्वय रहेको आभाष छ । सुखद नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले थपिन् ।


प्रशिक्षक हरिओम श्रेष्ठ पनि राम्रो तयारीका कारण उपाधि जित्ने क्षमता रहेको बताउँछन् । ‘हामी झन्डै ३ महिनादेखि प्रतियोगिताको तयारीमा लागेका छौं । नियमित प्रशिक्षणसँगै टोलीमा निखार आएको छ । समूहमा बंगलादेश केही कठिन हुने देखिए पनि हामी जित हात पार्नेमा आशावादी छौं,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा सहभागिता जनाएपछि पक्कै जित्ने नै लक्ष्य हुन्छ । हाम्रो आक्रमण पक्ष बलियो रहेकाले आक्रामक रणनीति लिएर नै मैदान उत्रन्छौं ।’


नेपाली टोलीमा आक्रमण पक्ष निकै राम्रो रहेको छ । फरवार्ड रेखा पौडेल र एलिशा जिम्बा एपीएफमा आबद्ध छन् भने रश्मीकुमारी घिसिङ महिला लिगकै उत्कृष्ट फरवार्ड घोषित भएकी थिइन् । राष्ट्रिय टोलीका सदस्यद्वय मन्जली र सरु पनि आक्रामणको भूमिकामा रहने गर्छन् । डिफेन्समा पनि विमलासँगै विभागीय टोली आर्मीकी पूजा राना मगर र एपीएफकी निशा थोकर तथा रौतहटकी रोजिना श्रेष्ठ र समीक्षा घिमिरेले स्थिरता प्रदान गर्नेछन् । गोलरक्षकमा पनि अन्जनासँगै पुलिसकी उषा नाथ र रौतहटकी रविता राई छन् । तीनै खेलाडी घरेलु फुटबलमा सिनियर टोलीका लागि पहिलो रोजाइबाट खेल्ने गर्छन् ।


प्रतियोगिताको तयारीका क्रममा यू–१८ टोलीले प्रारम्भिक छनोटमा रहेको सिनियर टोलीसँग केही मैत्रीपूर्ण प्रतियोगिता खेलेको छ । यसक्रममा सिनियर टोलीविरुद्ध बलियो प्रतिस्पर्धा नै हुँदै आएको छ । नेपालको स्तरमा हेर्ने हो भने नेपाली टोली निकै बलियो देखिन्छ । तर, अन्तर्राष्ट्रिय स्तरमा भने नेपालको यू–१६ टोलीले गरेको फितलो प्रदर्शनले सोच्न बाध्य बनाएको छ ।


बंगलादेशले पछिल्लो समय महिला फुटबलमा गरेको लगानी टोलीको सुधारिएको प्रदर्शनले स्पष्ट पार्छ । सिनियर टोलीमा लगातार सुधार गरेको बंगलादेशले उमेर समूहमा यू–१६ तर्फ एएफसी च्याम्पियनसिपमा छनोट हुन सफल रह्यो । सोही टोलीका एक दर्जन बढी खेलाडी सामेल गर्दै यू–१८ मा पनि बंगलादेशले सोही किसिमको तयारी गरेको छ । उद्घाटन खेलमा नेपालले शुक्रबार पाकिस्तानविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।

प्रकाशित : आश्विन ११, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

ट्राफिकदेखि एसियाडको सिट्ठीसम्म

सुबास हुमागाईं

काठमाडौँ — उँचो कदका विशाल विकले दुई साताअघि इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालको राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरे । तीन वर्षअघिसम्म ट्राफिक ड्युटीमा बग्गीखाना दरबन्दीमा रहेका विशालको दिनचर्या ड्युटीमै बित्थ्यो ।

भलिबल खेल्ने लक्ष्यसहित उच्च शिक्षा हासिल गर्न जन्मथलो बझाङबाट काठमाडौं आएका विशाल अहिले नेपाल पुलिस क्लबका महत्त्वपूर्ण खेलाडीका रूपमा स्थापित भइसकेका छन् । २२ वर्षीय विशालको यहाँसम्मको यात्रामा जति उनले मिहिनेत गरेका छन्, भाग्यको साथ पनि बलियो नै रहेको छ ।

भनिन्छ खेलमा हार–जित निर्धारण गर्न भाग्यको पनि भूमिका हुन्छ । तर त्यो भाग्य आफ्नोतर्फ ल्याउन मिहिनेत नै गर्नुपर्छ । २०६९ सालमा प्लस टु पढ्न काठमाडौं छिर्दा उनमा भलिबल खेलप्रति लगाव थियो । राजधानीमा कतै भलिबल प्रतियोगिता भएको थाहा पाउनेबित्तिकै हेर्न पुग्थे । सुरुमा खेलाडीको नाम थाहा पनि थिएन तर हेर्दै जाँदा खेलाडी चिन्न थाले । विद्यालयस्तरमा स्थानीय प्रतियोगिता खेलेका उनले क्षेत्रीयस्तरमा भने खेल्न पाएनन् । घरबाट पढाइ बिथोलेर खेलमा लाग्न नदिँदा उनले क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर नै पाएनन् ।

विशाल राजधानी प्रवेश गर्दा एउटा कुरामा दृढ थिए, जसरी हुन्छ विभागीय टोलीबाट भलिबल खेल्नुपर्छ । राजधानी आउनुको मुख्य कारण उच्च शिक्षा हासिल गर्नुभए पनि उनी भलिबलमा होमिन चाहन्थे । घरबाट पनि विभागमा भर्ती हुने हो भने मात्र भलिबलमा लाग्न पाइने सर्त थियो । तर राष्ट्रियस्तरको प्रतियोगिता नै नखेलेका उनलाई विभागीय टोलीमा पुग्न सहज भने थिएन । उनी हरेक दिन नयाँबजारको भलिबल कोर्टमा साँझ भलिबल खेल्न पुग्थे । त्यहाँ खेलिरहँदा ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनवीर छन्त्यालको आँखा उनीमाथि पर्‍यो ।

युवा खेलाडी, गज्जबको उचाइ अनि खेल्ने शैली पनि उत्कृष्ट । भलिबलप्रेमी मनवीरलाई खेलाडी पहिचान गर्न धेरै समय लागेन । उनले राष्ट्रिय टोली तथा पुलिसका कप्तान इमबहादुर मगरलाई विशालबारे सुनाइहाले । इम पनि विशालको प्रदर्शनबाट प्रभावित भए । सामान्य रूपमा भलिबल खेलिरहेका विशालले पुलिस क्लबमा प्रशिक्षण गर्ने अवसर पाए । पुलिसमा प्रशिक्षण गर्न जाँदा उनलाई पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक सरोज श्रेष्ठले प्रशिक्षण दिए ।

तीन महिना पुलिसमा रहेर प्रशिक्षण गरेपछि उनी पुलिसमा भर्ती भए । २०७२ वैशाखमा नियुक्ति पाएका उनले माघसम्म अनिवार्य प्रहरी तालिम गरे । फागुनदेखि उनको दरबन्दी बग्गीखानामा पर्‍यो र नियमित ट्राफिक ड्युटीमा लाग्न थाले । उनी पुलिस त भए तर अब प्रतीक्षा थियो भलिबल टिममा पर्ने अवसरको । तर त्यो अवसर पाउन उनले धेरै समय कुर्नुपरेन ।

झापाको धाइजनमा २०७३ वैशाखमा हुने भलिबल प्रतियोगिताका लागि विशाललाई टोलीमा बोलाउने निधो भयो । पुलिसमा भर्ती हुनुअघि तीनमहिने प्रशिक्षणका बेलामा उनले प्रभावशाली प्रदर्शन गरेका कारण प्रशिक्षक श्रेष्ठले उनलाई टोलीमा समेट्नुपर्ने बताएका थिए । तत्कालीन डीआईजी सुदीपराज आचार्यले प्रशिक्षकको पहललाई अगाडि बढाउन निर्देशन दिएपछि विशाल टोलीमा आइपुगे ।

‘मैले उनलाई सुरुको प्रशिक्षणमा नै राम्रोसँग नियालेको थिएँ । पछि पुलिसमा भर्ती भएको थाहा पाउँदा निकै खुसी लाग्यो । प्रहरी प्रशिक्षण सकेपछि उसलाई टोलीमा ल्याउन पहल गरें । त्यसबेला ऊ अहिलेजस्तो तयार नभए पनि अलिकति प्रशिक्षण दिने हो भने राम्रो बन्न सक्छ भन्ने मलाई लागेको थियो,’ प्रशिक्षक श्रेष्ठले भने । ओपन स्पाइकरको भूमिका भलिबलमा सहज जिम्मेवारी होइन, तर विशालको जम्प र रिच राम्रो भएकाले नियमित प्रशिक्षणले खेलमा सुधार ल्याउन सकिने उनलाई विश्वास थियो ।

‘पुलिसमा आउनुअघि मलाई भलिबल खेल्न मन पथ्र्याे । विभागमा खेल्न इच्छा थियो तर मेरो स्तर पुग्दैन भन्ने पनि थाहा थियो । पुलिसमा प्रशिक्षण गर्ने मौका पाउँदा सरोज गुरुबाट धेरै कुरा सिकें र उहाँले पनि भविष्य छ भन्नुभयो । त्यसैले पुलिसमा भर्ती हुने निर्णय लिएँ,’ विशालले बताए ।

लगातार प्रशिक्षण गरेपछि विशालको खेलमा पनि निरन्तर सुधार आउन थाल्यो । उनी पुलिस टोलीमा नियमित सदस्यका रूपमा स्थापित भए । नेपाल भलिबल संघले २०७४ सालमा उदीयमान खेलाडीको पुरस्कार विशाललाई नै दियो । त्यस उपाधिले अझै राम्रो गर्न हौसला प्रदान गरेको विशाल बताउँछन् । ‘पुलिसमा नियमित खेल्न थालेको पहिलो वर्षमै संघको अवार्ड पाएँ । अझै राम्रो गर्न यसले हौसला मिल्यो,’ उनले भने ।

पुलिस टोलीमा सामेल भएयता झन्डै आधा दर्जन राष्ट्रिय प्रतियोगितामा विशालले नियमित खेलिसकेका छन् । पुलिसलाई उपाधि दिलाउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनको राम्रो प्रदर्शनकै कारण उनले एसियाडका लागि घोषित अन्तिम राष्ट्रिय टोलीमा स्थान बनाए । तर प्रशिक्षक श्रेष्ठ उनले यसअघि नै राष्ट्रिय टोलीमा स्थान बनाउनुपर्ने बताउँछन् । ‘विशालको जम्प र रिच अहिले राष्ट्रिय टोलीमा उत्कृष्टमध्ये एक हो । पुलिसमा त उनले आफूलाई साबित नै गरेका छन् । एसियाडअघि सेन्ट्रल जोन प्रतियोगितामा पनि पर्छन् भन्ने लागेको थियो तर परेनन् । अब उनले राम्रो प्रदर्शन गर्दै नियमित स्थान बनाउँछन्,’ श्रेष्ठले भने । एसियाड जानुअघि नेपाली टोली झन्डै तीन महिना बन्द प्रशिक्षणमा रह्यो ।

नेदरल्यान्ड्सका प्रशिक्षक लेस्ली बोर्नसँगै उनका केही सहकर्मीले महेन्द्रनगरमा टोलीलाई प्रशिक्षण दिए । यसले पनि आफ्नो खेल विकासमा निकै सहयोग पुर्‍याएको विशाल बताउँछन् । ‘राष्ट्रिय टोलीमा पहिलोपटक पर्नुको अनुभव शब्दमा बयान गर्न सक्दिनँ । मैले यहाँ आएर धेरै सिक्ने मौका पाएको छु । सबै सिनियर दाइहरूले साथ र सहयोग दिनुभएको छ । प्रशिक्षकले पनि कमजोर पक्ष सुधार्न र अझै मिहिनेत गर्न प्रेरित गर्नुहुन्छ । अब आफ्नो खेललाई सुधार गर्दै नियमित स्थान बनाउने प्रयास गर्नेछु,’ विशालले भने ।

छोटो समयमै लामो यात्रा तय गर्न सफल विशाल अहिल्यै रोकिने सोचमा छैनन् । पुलिसलाई घरेलु भलिबलमा अब्बल बनाउनु त छ नै, राष्ट्रिय टोलीमा पनि नियमित स्थान बनाउने उनको अबको लक्ष्य छ । यसका लागि उनी हरदिन मिहिनेत गर्न तत्पर छन् । ट्राफिकको ड्युटी गर्दा आफूले फुकेको सिट्ठीको आवाज अहिले उनले कोर्टमा रहेका अम्पायरले सिट्ठी बजाउँदा सुन्छन् । अब उनको रहर अर्को सिट्ठीको आवाज सुन्नेछ । सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि खेल्दा दर्शकले समर्थनमा बजाएको सिट्ठी सुन्ने उनको लक्ष्य छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्