एपीएफलाई लालबन्दी गोल्डकप

अमन कोइराला

सर्लाही — एपीएफ क्लबले लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको छ । विजेताले प्रदेश २ कै सर्वाधिक धनराशि सात लाख रुपैयाँ पुरस्कार जितेको छ ।

उपविजेता पुलिसले ३ लाख ५० हजारमा चित्त बुझाएको थियो । फाइनल खेल हेर्न दर्शकको बाक्लो उपस्थिति थियो ।

सुरुमै अग्रता लिएको एपीएफले सहजै खेल जितेको हो । खेलको २९ औं मिनेटमा एपीएफका युवराज खड्काको पासलाई प्रवीण स्याङतानले गोल गरेर टोलीलाई अग्रता दिलाए ।

पुलिसका खेलाडीले खेल बराबरीमा पुर्‍याउन गरेको प्रयासमा एपीएफको रक्षापंक्ति बाधक बनिरह्यो । पुलिसका खेलाडीले राम्रो अवसर सदुपयोग गर्न नसकेपछि एपीएफको अग्रतामै मध्यान्तर अगाडि नै रहयो ।दोस्रो हाफको सुरुआत पुलिसका लागि सुखद रह्यो । मध्यान्तरपछि छैटौं मिनेटमा पुलिसले पेनाल्टी हान्ने अवसर पायो । पुलिसका कप्तान भोला सिलवालको पेनाल्टी प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले रोके । पुलिसका खेलाडीले राम्रा अवसर गुमाएपछि खेलमा शिथिलता आयो ।

दोस्रो हाफको ३० औं मिनेटमा पुलिसका अजित भण्डारीको प्रहार बचाउने क्रममा एपीएफका डिफेन्डर रमेश दंगालले आत्मघाती गोल गर्न पुगे । आत्मघाती गोलले खेल बराबरीमा पुगेलगत्तै पुलिस खेलाडी बढी मिहिनेतमा जुटे । पुलिसको तर्फबाट अजित भण्डारी र रवि पासवानले राम्रो अवसर बनाउँदै प्रहार गरे पनि सबै असफल भए । ३३ औं मिनेटमा एपीएफका प्रवीण स्याङतानको पासमा रुपबहादुर लामाले सहजै गोल गरेका थिए ।

सर्वाेत्कृष्ट खेलाडी घोषित एपीएफका प्रवीण स्याङतानले ५० हजार रुपैयाँ पुरस्कार पाए । उदीयमान खेलाडी सर्लाही ११ का सनी चौधरी भए । उनले मोटरसाइकल पुरस्कार हात पारे । एपीएफका गोलकिपर राजु नगरकोटीले उत्कृष्ट गोलरक्षकको पुरस्कार पाए ।

प्रकाशित : असार ३, २०७५ ०९:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

थ्रीस्टारमाथि एपीएफको जित

लालबन्दी गोल्डकप
अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–३ ले हराउँदै एपीएफ क्लब उपाधि नजिक पुगेको छ । पहिलो हाफको नवौं मिनेटमा एपीएफका श्याम नेपालीले हानेको फ्रि–किकमा रुपबहादुर लामाले हेडबाट गोल गरेका थिए ।

पहिलो गोलसँगै तीव्र गतिमा खेल्दै एपीएफले सिर्जना गरेको थियो । १४ औं मिनेटमा पेनाल्टी बक्स नजिक गोलकिपरको हातबाट फुस्केको बललाई कभर गर्दै रुपबहादुरको पासमा नवीन लामाले गोल गरेर अग्रता दोब्बर बनाए ।

दुई गोल खाएपछि दबाबमा थ्रीस्टारले आक्रामक खेल सुरु गरेको थियो । २३ औं मिनेटमा थ्रीस्टारका रन्जन विष्टको पासमा अजायी मार्टिनले पेनाल्टी बक्स नजिकैबाट हानेको प्रहार गोलमा परिणत भयो । मार्टिनले गरेको सुन्दर गोलसँगै थ्रीस्टारको मनोबल बढेको थियो ।

मध्यान्तरअघिको तीन मिनेट इन्ज्युरी टाइममा मार्टिनले रन्जनको पासमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबर भएपछि दोस्रो हाफमा दुवै आक्रामक रणनीति लिएर मैदान उत्रिएका थिए । पहिलो मिनेटमै एपीएफका प्रवीण स्याङ्तानको पासमा युवराज खड्काले गोल गरेरलाई फेरि अग्रता दिलाए । ३१ औं मिनेटमा रामकुमार कुमालको पासमा प्रवीणले व्यक्तिगत दोस्रो गोल थप्दै जित सुनिश्चित पारेका थिए । त्यसको ६ मिनेटपछि थ्रीस्टारका बुद्ध चेम्जोङले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भयो । थ्रीस्टारले बाँकी ७ मिनेटमा प्राप्त अवसर गुमाएपछि खेल एपीएफको पक्षमा ४–३ ले टुंगियो ।

एपीएफका नवीन लामा म्यान अफ द म्याच घोषित भए । एपीएफले शनिबार फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

प्रकाशित : असार १, २०७५ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×