झापालाई सफलता

अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा रमपम झापा ११ ले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

लालबन्दी गोल्डकपमा शनिबार झापा र जावलाखेल क्लब भिड्दै । तस्बिर : अमन

सुरुआती अग्रता भने जावलाखेलले लिएको थियो । खेलको दोस्रो मिनेटमै जावलाखेलका तीर्थ बस्नेतले गोल गरेर टोलीलाई अग्रता दिलाए । जावलाखेलले पेलेर खेल्दै विपक्षीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । तर ३४ औं मिनेटमा मध्यभागबाट लगेको बलमा झापाका पुष्प मादेनले गोल गरेर खेल बराबरीमा ल्याए । मध्यान्तरसम्म दुवै टोलीको थप गोल गर्ने प्रयास सफल भएन ।

मध्यान्तरपछि जावलाखेलका खेलाडी आक्रामक खेल्ने रणनीतिमा रहे । रक्षापंक्तिलाई कमजोर बनाएर भए पनि जावलाखेल जितका लागि आक्रामक खेल्न पुगेको थियो । झापाका खेलाडीले पनि जितका लागि निरन्तर दबाब कायम राखे । दोस्रो हाफको ३६ औं मिनेटमा पेनाल्टी बक्सनजिकै जावलाखेलका खेलाडीले गरेको फाउलमा प्राप्त फ्रिकिक झापाका लागि सुनौलो अवसर बन्यो । झापाका हेमन्त थापा मगरले फ्रिकिक प्रहारमा पूजन उपरकोटीले गोल गर्दै टिमको जित सुनिश्चित बनाए । थोरै समय बाँकी भएकाले जावलाखेलको गोल प्रयास सफल हुन सकेन ।

जावलाखेलले आयोजक सर्लाहीलाई हराएको थियो । जावलाखेलले आयोजकलाई हराएका कारण घरेलु दर्शक झापाको पक्षमा थिए । झापाका कप्तान देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए । गर्मीका कारण खेलाडीलाई कुलिङ ब्रेक दिइएको थियो । शनिबारको तापक्रम ३४ डिग्रीभन्दा माथि थियो । आइतबार हेटौंडा र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एपीएफ विजयी

अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबलको शुक्रबार विभागीय टोली एपीएफ क्लबले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । सिक्किमबाट नागेन तामाङले मात्र गोल गरे । सञ्जय क्षेत्रीको प्रहार पोलमा लाग्यो भने पासाङ लामाको प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले बचाएको थिए ।


खेलको सातौं मिनेटमा एपीएफका श्याम नेपालीले पेनाल्टी बक्स नजिक पाएको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै १३ औं मिनेटमा सिक्किमले गोल फर्कायो । कर्नर बलमा पासाङ लामाले गोल गर्दै खेल बराबरी गरे ।


एपीएफका प्रवीण स्याङतानले १५ औं मिनेटमा अर्को गोल गरेर टोलीलाई अग्रता दिलाए ।
पेनाल्टी बक्स नजिक सिक्किमका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नो खुट्टामा आइपुगेको
बललाई स्याङतानले सजिलै गोलमा परिणत गरे ।


खेल बराबरीमा ल्याउन सिक्किमका खेलाडीले निकै मिहिनेत गरे । २७ औं मिनेटमा मध्यभागबाट अघि बढाएको बलमा सिक्किमका नागेन तामाङले गोल गरेर बराबरीमा ल्याए । मध्यान्तरअघि दुवै टिमले थप गोल गर्न सकेन । दोस्रो हाफको १५ मिनेटपछि भने सिक्किमले लगातार पेलेर एपीएफलाई रक्षात्मक अवस्थामा खुम्च्याएको थियो । सिक्किमले दोस्रो हाफमा पाँचपल्ट गोल गर्ने राम्रो प्रयास गरेपनि असफल भयो ।


एपीएफका गोलकिपर राजु नगरकोटी म्यान अफ द म्याच घोषित भए । शनिबार रमपम झापा ११ र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT