कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहादुरगज र चम्पाकली फाइनलमा

सौराहा — गत वर्षको च्याम्पियन बहादुरगज र त्यसअघिका २ स्पर्धामा च्याम्पियन चम्पाकली हात्ती १० औं अन्तर्राष्ट्रिय हात्ती दौडको फाइनल चरणमा आइतबार प्रवेश गरेका छन् । समूह 'सी' र 'डी' को सेमिफाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै बहादुरगज पहिलो भयो ।

उसले निर्धारित ३ सय मिटर दूरी १ दशमलव २८ मिनेटमा पार गरेको थियो । बहादुरका सामु अन्य हात्तीलाई दौडिन मुस्किल पर्‍यो ।
चितवन निकुञ्जको प्रतिनिधित्व गरेको बहादुरगजले दौड पूरा गर्दा अन्य हात्ती ५० मिटर पछाडि थिए । २ पटकको च्याम्पियन चम्पाकली हात्तीले दोस्रो स्थान प्राप्त गरेर फाइनल प्रवेश गर्‍यो । फेवा टुर्स एण्ड ट्राभल्सको प्रतिनिधित्व गरेको चम्पाकलीलाई दर्शकको समर्थन थियो । कुलफिड एडभेन्चरको बम्बुजकलीले तेस्रो स्थान प्राप्त गर्‍यो । सेमिफाइनलमा उपस्थित दर्शक र आयोजकको मन जित्न सफल बहादुरगज यसपटक पनि च्याम्पियन हुने अडकल सुरु भएको छ । 'ठूलो जिउको हात्ती दौडेको हो भनेर पत्याउन मुस्किल पर्‍यो,' स्थानीय व्यवसायी योगेश अधिकारीले भने,'यसपटक पनि बहादुरगज च्याम्पियन बन्छ ।'
यसअघि शनिबार 'ए' र 'बी' समूहको सेमिफाइनलबाट हाईवे स्टारको एकताकली पहिलो, रानी अस्ट्रेलियनको कोसीकली दोस्रो र माउण्ट एभरेस्ट ब्रुअरी तेस्रो भएर फाइनल प्रवेश गरिसकेका छन् । शनिबार र आइतबारका विजयी हात्तीबीच सोमबार फाइनल प्रतिस्पर्धा हुने नतिजा प्रकाशन समिति संयोजक ऋषि तिवारीले बताए । फाइनलमा ६ वटा हात्तीबीच प्रतिस्पर्धा हुनेछ । गत वर्षसम्म ३ दिन हुने दौड यसपालि पर्यटकको बसाइ लम्याउन ५ दिन पुर्‍याइएको हो ।
हात्ती महोत्सवअन्तर्गत आइबार टाँगा दौडको फाइनल प्रतिस्पर्धामा कालिका एफएमको प्रतिनिधित्व गरेको राम दुलारी घोडा पहिलो भएको छ । चितवन खबर डटकमको प्रतिनिधित्व गरेको हरेन्द्र चौधरीको रिक्सा घोडा दोस्रो र रेडियो माडीको धनु घोडाले तेस्रो स्थान प्राप्त गरे । त्यस्तै गाडा फाइनलअन्तर्गत पूजा सिलाइ मेसिनको सुकई महतो पहिलो, हट चिकेनको सुमन महतोको गाडा दोस्रो र नारायणी यातायातको भगवती महतोको गाडा तेस्रो भए ।
यसैगरी आइतबार छावाबीचको फुटबल प्रतिस्पर्धामा सिजी फुड्सको वाईवाई चाउचाउले टुरिजम् डेभलभमेन्ट बैंकलाई २-१ पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो । अपराह्न भएको खेलमा सिजी फुड्सका लागि दनदनीकलीले दुई गोल गरेको थियो । टुरिजम्का लागि प्रतियोगिताको हिरो कुशप्रसादले सान्त्वना गोल फर्काएको थियो । छावा फुटबलअन्तर्गत सोमबार किस्ट बैंक र लायन्स क्लब इन्टरनेसनलबीच भिडन्त हुँदैछ ।






प्रकाशित : पुस १५, २०७० १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?