मनाइयो ल्होसार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लमजुङ — वैदेशिक रोजगारीका लागि कुवेत पुगेका छयोमान गुरुङ ल्होसार मनाउन गाउँ फर्किए । बाहुनडाँडाको पुस्तुन घर भएका उनले यसपटक बेंसीसहरमा ल्होसार मनाए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मनाइयो ल्होसार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2016/miscellaneous/Lhosar-31122016090507-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
‘पहिले उतै ल्होसार मनाइन्थ्यो । यसपटक दसैंतिहारमा नआएर ल्होसारमा घर आएँ,’ उनले भने, ‘पहिलेभन्दा अहिलेको भव्य हुन्छ भनेर आएँ, त्यस्तै भयो ।’ घरपरिवारसँग ल्होसार मनाउँदा निकै रमाइलो लागेको उनले बताए ।
बाग्लुङपानीको नजरे गाउँका आशबहादुर गुरुङ पनि मलेसियाबाट ल्होसार मनाउन गाउँ फर्किए । ‘गाउँघरको जस्तो ल्होसार विदेशमा नहुँदो रहेछ । उता (मलेसिया) हुँदा गाउँघरको याद आउने । त्यसैले घर फर्किएँ,’ उनले भने ।
विदेशमा बसेका मात्रै नभएर रोजगारी, पढाइलगायत अन्य कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरू पनि ल्होसार मनाउन गाउँ फर्किएका छन् । गुरुङ चलचित्रका नायक विष्णु गुरुङले ल्होसारको दिन बेंसीसहरस्थित तमु संग्रहालयमा आयोजित कार्यक्रममा बिताएको बताए । तमु प्ये ल्हु संघका जिल्ला अध्यक्ष मिलबहादुर गुरुङका अनुसार पछिल्लो समय ल्होसार हर्षोल्लाससहित मनाउने चलन बढेको बताए । ल्होसारको दिन पुस १५ अगावै गाउँ तथा सहरबजारमा चहलपहल बढेको थियो ।
बेंसीसहरका गुरुङ समुदायले बिहीबार राति १२ बजेसम्म जाग्राम बसी च्हयल्हो अर्थात चरा वर्गको स्वागत गरेका छन् । गुरुङ पुरोहित घ्याब्रेपच्युले मन्त्रपाठ गरी प्रल्हो अर्थात बाँदरवर्गको बिदाइ गरेका थिए । तमु प्ये ल्हु युवा संघका अध्यक्ष शेष गुरुङले बिहीबार साँझ भीमसेनस्थान चोकमा मैनबत्ती बालेर ल्होसारको स्वागत गरिएको बताए । गुरुङ समुदायको १२ वर्गचक्रमध्ये हरेक वर्षको पुस १५ गतेबाट अर्को वर्ग प्रारम्भ हुन्छ । गुरुङ समुदायले यही दिन नै नयाँ वर्षका रूपमा लिन्छन् । ‘वर्ग फेरिएपछि हरेक मान्छे १ वर्षले जेठो हुन्छ,’ गुरुङ पैंडी (पण्डित) इन्द्रबहादुर गुरुङले भने, ‘हामी कति वर्षको भयौं भनेर यही वर्ग गनेर पत्ता लगाउँछौं ।’
तमु हयुला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर एकाइ अध्यक्ष रणबहादुर गुरुङले पछिल्लो समय गुरुङ समुदायमा जातीय जागरण आएको र आफ्नो चाडपर्व मनाउन एकजुट भएको बताए । भुजुङ, पसगाउँ, घनपोखरा, घलेगाउँ, गिलुङ, घाम्राङ, सुन्दरबजार, भोटेओडार, भोर्लेटार, इलमपोखरी, दूधपोखरी, पाचोक, कोल्की, गाउँसहर चिसापानीलगायत ग्रामीण तथा सहरबजारमा विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाइएको छ ।
पोखरा संवाददाताका अनुसार उपमहानगरमा गुरुङ समुदायको सामुदायिक संस्था तनु धींको अगुवाइमा ल्होसारका अवसरमा साताव्यापी कार्यक्रम जारी छ । शुक्रबार विभिन्न सामाजिक संघसंस्थाले सांस्कृतिक भेलासहित ल्होसार मनाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)