नेपालगन्जमा दीप प्रज्वलन- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

नेपालगन्जमा दीप प्रज्वलन

जनक नेपाल

नेपालगन्ज — दुई वर्षपछि आठौं राष्ट्रिय खेलकुद–२०७५ मध्यपश्चिममा गर्ने राष्ट्रिय खेलकुद परिषद्को घोषणाको नेपालगन्जमा स्वागत गरिएको छ ।

सातौं राष्ट्रिय खेलकुदको शुक्रबार धरानमा सम्पन्न समापनमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राखेप सदस्य सचिव केशवकुमार विष्टले संयुक्त मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झन्डा हस्तान्तरण गरेसँगै यहाँ खुसियाली छाएको हो । आठौं खेलकुदो स्वागत गर्दै विभिन्न खेल संघ र खेलाडीले नेपालगन्जमा शुक्रबार साँझ दीप प्रज्वलन गरे ।
क्षेत्रीय खेलकुद विकास समितिको पहलको प्रशंसा गर्दै उनीहरूले उक्त प्रतियोगितालाई भव्य रूपमा सफल पार्ने प्रतिबद्धता पनि जनाए ।
नेपालगन्जमा यसअघि २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद भएको थियो । तत्कालीन राखेप सदस्य रतन टण्डनले सम्पूर्ण खेलाडी तथा अफिसियलको आवास र भोजनको व्यवस्था आफैंले गर्ने गरी व्यवस्थापनको जिम्मा लिएका थिए । झन्डै १३ वर्ष रोकिएको राष्ट्रिय खेलकुदलाई नेपालगन्जले ब्युँझाएको थियो । ‘मध्यपश्चिमले आँट गरेको छ । सबैको सहयोग र साझेदारीमा भव्य ढंगले सफल पार्ने जिम्मेवारी पाएका छांै,’ क्षेत्रीय अध्यक्ष ओलीले भने । पछिल्लो समय नेपालगन्जमा राष्ट्रियस्तरका ठूला खेल स्पर्धा भइरहेका छन् । प्रधानमन्त्री कप भलिबल, नेपालगन्ज म्याराथन र नेपालगन्ज गोल्डकप स्थापित हुने चरणमा छन् । २०३८ सालमा बृहत् राष्ट्रिय खेलकुद सुरु भएको हो । काठमाडौंबाट सुरु प्रतियोगिता २०४० सालमा दोस्रो पश्चिमाञ्चलको पोखरा तथा २०४२ सालमा तेस्रो वीरगन्जमा भएको थियो । २०६५ चैतमा पाँचौं संस्करण काठमाडौं र छैटौं संस्करण ०६८ सालमा सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा भएको थियो ।

प्रकाशित : पुस १६, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

कदीसँगका यादहरू

सत्यमोहन जोशी

बिहीबारको बिहानले निकै नराम्रो खबर लिएर आयो । घरकै आँगनमा बसेर पत्रिका पढिरहेको थिएँ, एकजना चिनारु पत्रकार आए ।

उनैले दिएका थिए– नेपाली भाषा साहित्यका धरोहर कमलमणि दीक्षित बितेको खबर । सुनेर निकै दु:ख लाग्यो । पशुपतिस्थित विद्युतीय सवदाह गृहमा अन्तिम संस्कार गरिने पनि त्यतिबेलै थाहा पाएँ । तर त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको प्रमुख अतिथि बन्नुपर्ने भएकाले म जान सकिन, मनमनै भने दिनभर कमलमणिकै स्मरण गरिरहेँ । 

कलेजको दिन सम्झिन्छु । पाटनबाट के भन्नु, सिंगो ललितपुरबाटै त्रिचन्द्र क्याम्पस पढ्न जानेको संख्या एकाधमात्रै थियो । तिनताक गाडी थिएन, हामी पाटनबाट हिँडेरै कलेज जान्थ्यौं । बाटोमा चिटिक्क परेर हिँड्ने दुईजनासँग बरोबर भेट हुन्थ्यो, तर औपचारिक परिचय नभएकाले हामी बोल्दैन थियौं । पछि थाहा भयो, ती दुई जनामध्ये एकजना कमलमणि दीक्षित र अर्कोचाहिँ विष्णुप्रसाद धिताल रहेछन् । म त्रिचन्द्र कलेज पढ्थेँ, उनीहरू चाहिँ दरबार हाइस्कुल ।
 
कमलमणिजीको जन्म त काठमाडौं गैरीधारामा भएको हो, तर त्यतिबेला रानी जगदम्बासँगै कुपण्डोलमाथिको थुम्कोमा सरिसकेका थिए । चन्द्रशमशेरको मृत्युपछि उनकी कान्छी बडामहारानी पट्टिका छोरा मदनशमशेर र बुहारी जगदम्बासँगै दीक्षित परिवार पनि यतै सर्नुपरेको थियो । पहिलेदेखि नै मदनशमशेरको परिवारसँग दीक्षितहरू जोडिएका थिए । मदनशमशेरले दरबार त पछि बनाएका हुन्, त्यो बेला कुपण्डोलमाथिको थुम्कोमा झिँगटीको छानो भएको चिटिक्कको पक्की घर थियो । 

त्यतिबेला साहित्यिक संस्थाको रूपमा नेपाली शिक्षा परिषद र नेपाली सांस्कृतिक परिषदको सक्रियता लोभलाग्दो थियो । सांस्कृतिक परिषद विस्तारै निस्क्रिय बन्यो । शिक्षा परिषदको अध्यक्ष थिए, गोपाल पाँडे । यसले हरेक कुशेऔंसीको दिन (मोतीराम भट्टको जन्मदिन) विभिन्न दिवंगत स्रष्टाहरूको तस्बिर राखेर श्रद्धाञ्जली कार्यक्रम गथ्र्यो । यही कार्यक्रममा कमलमणिजीसँग मेरो पहिलोपटक औपचारिक चिनजान भएको थियो । त्यतिबेला सहरमा कार्यक्रम गर्ने एउटै हल थियो, दरबार हाइस्कुलकै मजलिस हल । ऊर्दु भाषाबाट नामकरण गरिएको यो हलमा थुप्रैपटक कमलमणिजीसँग भेट भएको याद आउँछ । मोतीरामको जन्मदिन कुशेऔंसीसित कमलमणिजीको पनि खास र भावनात्मक सम्बन्ध थियो । उनी पनि कुशेऔंसीकै दिन जन्मेका थिए ।

२०११ सालमा नेपाली शिक्षा परिषदले कवि शिरोमणि लेखनाथ पौड्यालको रथयात्रा गर्ने भयो । सबैलाई जिम्मेवारी बाँडियो । मेरो भागमा रथ बनाउने काम आइपर्‍यो । कमलमणिजीले पनि केही जिम्मेवारी लिए । उनको क्रियाशीलता यति लोभलाग्दो थियो कि सबैजना प्रशंसा गर्थे । यो रथयात्राका क्रममा उनीसँग निकै नजिकको सहकार्य भयो । त्यतिबेलै थाहा भयो कि कमलमणिजीले त स्कुलका लागि पाइने खाजा र अन्य फजुल खर्च जोगाएर किताब किन्ने गर्दारहेछन् । त्यतिबेलै उनले घरमा सानो लाइब्रेरी बनाइसकेका रहेछन् । 

पछि उनैले मदन पुरस्कार गुठी बनाए । गुठी अन्तर्गतको पुस्तकालय कमलमणिजीको त्यही सानो लाइब्रेरीको विस्तारित र संस्थागत रूपमा थियो । गुठी दर्ता गर्नचाहिँ वकिल भिनाजु शम्भुप्रसाद ज्ञवालीले कानुनी रूपमा सघाएका थिए । २०१३ सालमा यो गुठीले पुरस्कारका लागि कृति आह्वान गर्‍यो । त्यतिबेला साहित्य, विज्ञान, समाजशास्त्र र दर्शन गरी ४ वटा विधामा मदन पुरस्कार दिइन्थ्यो । मैले पनि ‘हाम्रो लोकसंस्कृति’ पुस्तक बुझाएँ । २००२ सालतिरै मैले खोजी र संकलन गरेको लोकगीतहरू ‘ग्रामीण गीत’ भन्दै ‘शारदा’ पत्रिकाले छाप्न थालिसकेको थियो । कमलमणिजीले शारदामा छापिएको त्यस्ता गीतहरूको खुब प्रशंसा गर्नुहुन्थ्यो । मेरो अहोभाग्य नै भनुँ– पहिलो मदन पुरस्कार मेरै कृति ‘हाम्रो लोकसंस्कृति’ले पायो । त्यतिबेला म संख्या विभागको जागिरे थिएँ । 

पहिलो मदन पुरस्कार थाप्दाको दृश्य अझै पनि मथिंगलमा सुरक्षित छ । मदनशमशेरको बैठकबाटै पुरस्कार वितरण गरिन्थ्यो । सबैजना जुत्ता खोलेर भित्र पस्नुपथ्र्यो । ढोका बाहिर जुत्ताको डंगुर हुन्थ्यो । रानी जगदम्बाचाहिँ हामी छिर्ने ढोकाबाट हैन, भित्री ढोकाबाट सिधै कार्यक्रम स्थल आउँथिन् र पुरस्कार दिएर भित्रैबाट जान्थिन् । कार्यक्रमको सञ्चालन कमलमणि आफैले गर्थे । पहिलो पुरस्कार २०१४ सालमा दिइएको थियो । म पनि दौरासुरुवाल लाएर गएँ । 

कमलमणिजीले मेरो नाम लिनासाथ पं. सोमनाथ सिग्देल र कवि शिरोमणि लेखनाथ पौड्यालले एक–एकतिरबाट मलाई हात समातेर स्टेज चढाए । रानीले ४ हजार रुपियाँ र सम्मानपत्र अर्पण गरिन् । यसपछि दोस्रोपटक २०१८ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा’ किताबका लागि र २०२८ सालमा ‘कर्णालीको लोकसंस्कृति’ कृतिका लागि मैले मदन पुरस्कार पाएँ । तेस्रो पटक पाउँदा रानी जगदम्बाको दरबार भत्किसकेको थियो । 

नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्टको नामले ठूलो अर्थ राख्छ । भानुभक्तले त कृति लेखनको मात्रै काम गरे । मोतीरामले भानुभक्तलाई प्रकाशमा ल्याए । तर कमलमणिले लेखन र प्रकाशमा ल्याउने मात्रै हैन, समग्र नेपाली भाषा, साहित्य र संस्कृतिको खोजी र जर्गेनाको निकै महत्त्वपूर्ण काम गरे । उनी नभएको भए नेपाली भाषा साहित्यको अथाह ज्ञानलाई भण्डारण गर्ने मदन पुरस्कार पुस्तकालयको परिकल्पना, संस्थापन र सञ्चालन नै हुँदैन थियो । पुराना भनिएका, मिल्काइएकादेखि हराएकासम्मका स–साना ऐतिहासिक दस्तावेजहरूलाई उनैले जतनसाथ जगेर्ना गर्ने काम गरे । मदन पुरस्कार पुस्तकालयमा आज जे–जति पुस्तक र दस्तावेजहरू छन्, ती सबै युनेस्को विश्व सम्पदाभन्दा पनि कम छैनन् । ती नेपाली सन्दर्भका विश्व सम्पदा नै हुन् । यो हिसाबले कमलमणिजीको योगदान जुगौंजुग जीवित रहनेछ । 

उनी दानी स्वभावका थिए । श्रीमहलको कम्पाउन्ड सहितको ठूलो जग्गा कृषि कलेजका लागि उनैले दिएका थिए । अरू थुप्रै जग्गा पनि विभिन्न संस्था र व्यक्तिलाई दिने काम भयो, त्यतिबेला । उनी नलागेका भए, सायद रानी जगदम्बा राजी हुने थिइनन् । कमलमणिकै पहलमा थुप्रै साहित्यकारले पनि त्यतिबेला जग्गा पाए, अहिले नाम नभनौं । म त यहीँको बासिन्दा, कमलमणिजीसँगको सम्बन्धलाई व्यक्तिगत फाइदाका हिसाबले प्रयोग गरिन ।

उनी मेरो घरमा बरोबर आइराख्थे । नेपाली भाषा, साहित्य र संस्कृतिका कुरा गथ्र्यौं हामी । म पुरातत्त्व विभागको निर्देशक थिएँ, २०१७ सालमा जागिर खोसियो । फुर्सदमा भएँ । त्यसलाई सदुपयोग गर्दै मैले घर (पाटन, बखुम्बहाल) मै एक्वारियममा माछा पालन थालें– व्यावसायिकभन्दा पनि सौखले, यहीँको लोकल माछा संकलन गरेर । हिले, कत्ले, वाम लगायतको माछा पालेको थिएँ । एकदिन माछालाई चारो खुवाइरहेको बेला कमलमणिजी आए । उनी छक्क परे । जाने बेला भने, ‘अब माछा सम्बन्धी किताब लेख्नुस् ।’ त्यसको केही समयमै मैले चीन जानुपर्ने भयो । माछाको किस्सा त्यसै सकियो । उनले भनेजस्तो किताब पनि लेखिएन । 

केही वर्षअघि जगदम्बा पुरस्कारको निर्णय लिने टिममा म पनि परेँ । हामीले वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठको नाममा सहमति जुटायौं । चिया खान लाग्दै थियौं, कमलमणिजी हातमा एउटा चिठ्ठी लिएर आए र अनुहारमा खुसी नचाउँदै भने, ‘लौ हेर्नुस्, हामीले नमागे पनि सरकारबाट मदन पुरस्कार गुठीले अनुदान पायो । नेपाली भाषा–साहित्यको यो ठूलो सम्मान हो ।’ संस्कृति मन्त्रालयबाट ४० हो या ५० लाख रुपियाँ अनुदानको निर्णय भएको रहेछ । कमलमणिजी यति खुसी थिए कि उनका हातहरूबाट लगभग नाचे जस्तैको हाउभाउ प्रकट भइरहेको थियो । कहिल्यै उनी त्यति धेरै खुसी भएको मैले देखेको थिइन । 

उनको अर्को एउटा बानी पनि रोचक थियो । कुनै पनि मिटिङ या भेटघाटमा उनी समयमै आउँथे । तर अन्तिमसम्म बस्दैन थिए । आफ्नो कुरा राखेपछि हतार–हतार निस्किहाल्थे । यस्तो हतारोभित्र के तत्त्व लुकेको थियो कुन्नी ? थाहा हुने कुरै भएन । तर अहिले लाग्छ– यस्तै हतारोसाथ काम नगरेको भए सायद मदन पुरस्कार पुस्तकालयले आजको उपलब्धि हासिल गर्न सक्दैन थियो कि ? एउटा निजी परिकल्पना र पहलमा नेपाली भाषा–साहित्य र संस्कृतिको ऐतिहासिक अड्डा निर्माण हुनु भनेको चानचुने कुरा हैन । अझ अहिले त यसलाई प्रविधिमैत्री बनाएर यसलाई ‘डिजिटालाइज्ड’ गरिएको छ । सयौं वर्ष पुराना सामग्रीहरू कम्प्युटरमा ‘क्लिक’ गरेको भरमा हेर्न सक्छौं । हाम्रो जीवन र सभ्यतासित जोडिएको यो विश्व सम्पदाको कुनै पनि मूल्यसित तुलना गर्नै सकिँदैन । यो अमूल्य छ । यसको गरिमा निकै उच्च छ । 

एउटा व्यक्तिको परिकल्पनामा ३८ हजारभन्दा बढी किताबहरू संकलन हुनु भनेको सामान्य हैन । फेरि उनी आफैले पनि दर्जनौं पुस्तक लेखेर गए । कहिले ‘कालो अक्षर’ भन्दै लेखे, कहिले ‘बुइँगलको एउटा बाकस’ भन्दै खोजमूलक र ऐतिहासिक सामग्री तयार पारे । २०१६ सालदेखि प्रकाशित हुँदै आएको साहित्यिक त्रैमासिक पत्रिका ‘नेपाली’को स्थापना कालदेखि उनी सम्पादक थिए । कमलमणि नामबाट ‘मणि’ हटाएर कमल दीक्षित मात्रै पनि लेखे । छोटकरी रूप ‘कदी’ पनि चलाए । 

संयोगले उनको अन्तिम फोन पनि मदन पुरस्कारसितै जोडिएको थियो । केही महिना अघिको एकसाँझ उनले फोनमा भने, ‘यस पटक मदन पुरस्कार पाउने व्यक्तित्वलाई तपार्इँले स्टेजमा चढाइदिनुपर्‍यो ।’ स्थापनाकालदेखि पुरस्कृत स्रष्टालाई दौरासुरुवाल लाउने दुईजना वरिष्ठ व्यक्तित्वले दर्शक दीर्घाबाट पाखुरा समाएर स्टेज चढाउने मदन पुरस्कारको चलन छ । त्यही चलनअनुसार यसपटक कथासंग्रह ‘ऐना’का लेखक रामलाल जोशीलाई म र अर्का एकजनाले स्टेज चढाउनुपर्ने उनको प्रस्ताव थियो । मैले स्वीकारेंँ । उनी एकदमै खुसी भएका थिए । 
दु:खको कुरा– उनी खुसी भएको अब कहिल्यै देख्न नपाइने भइयो ।
(कुराकानीमा आधारित ।)

प्रकाशित : पुस १६, २०७३ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×