एपीएफलाई लोकप्रिय खेलको स्वर्ण- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफलाई लोकप्रिय खेलको स्वर्ण

कान्तिपुर संवाददाता

विराटनगर — नेपाल आर्मी सातौं राष्ट्रिय खेलकुदमा १ सयभन्दा बढी स्वर्णसाथ टिम च्याम्पियन भएको छ ।

एथलेटिक्स, तेक्वान्दो, आईटीएफ तेक्वान्दोलगायत खेलमा वर्चस्व जमाएको आर्मीले कुल १ सय १३ स्वर्ण, ६४ रजत र ४८ कांस्यपदक जित्यो । तर प्रतियोगिताको अन्तिम दिन एपीएफ क्लबले फुटबल र क्रिकेट जस्ता लोकप्रिय खेलको स्वर्ण जितेर आर्मीलाई जिल्यायो ।
पुरुष फुटबलको फाइनलमा आर्मीलाई २–० ले हराएको एपीएफ टिमले पुरुष क्रिकेट फाइनलमा आर्मीमाथि ४९ रनको जित निकालेको थियो । अन्तिम दिन ह्यान्डबलमा आर्मी र एपीएफले १–१ स्वर्ण जिते । पुरुष फाइनलमा आर्मीले एपीएफलाई २८–२७ ले र महिला फाइनलमा एपीएफले आर्मीलाई १८–१३ गोलले पराजित गरे ।
एपीएफ ५० स्वर्ण, ४८ रजत र ५८ कांस्यपदक जितेर दोस्रो स्थानमा रह्यो । नेपाल प्रहरी ४० स्वर्ण, ३८ रजत र ४१ कांस्यपदकसाथ तेस्रो स्थानमा रह्यो । यसअघिका प्रतियोगितामा शीर्षमा रहने मध्यमाञ्चल ३३ स्वर्णसाथ चौथो स्थानमा खुम्चिएको छ । कुल २ सय ९४ स्वर्णमा २ सय ६८ गणना हुने थियो । त्यसमा २ सय ६३ स्वर्णको नतिजा आएको हो ।
धरानमा भएको फुलकन्ट्याक्टमा विवाद भएकाले ६० केजी तौल समूहमा खेल नै नभएपछि पदक नै दिइएन । त्यस्तै आईटीएफ तेक्वान्दोका केही स्वर्णपदकको विवरण राष्ट्रिय खेलकुद परिषद्मा नबुझाएका कारण पदक संख्या अपूरो हुन पुगेको बताइएको छ ।
२०६८ सालमा आयोजना जिम्मेवारी पाएको पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद मिति तोकेर पनि चार पटक सरेको थियो । त्यही क्रममा पौडी, एथलेटिक्सको म्याराथनलगायत केही खेल गत वर्ष नै सम्पन्न भएका थिए । पुस ७ देखि पूर्वाञ्चलमा भएको प्रतियोगितामा झन्डै ४ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए, त्यसमा पहिलो पटक स्वर्ण जित्नेलाई व्यक्तिगतमा १५ हजार र टिम इभेन्टमा ७ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रकाशित : पुस १६, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

अझै चुक्दै छ कांग्रेस

लोकेश ढकाल

आज राष्ट्रिय एकता र मेलमिलाप दिवस । बीपी कोइरालाले ४० वर्षअघि आजैका दिन, आफ्नो सम्मुख उपस्थित सबै खाले राजनीतिक एवं व्यक्तिगत (सम्भावित मृत्युदण्ड वा फाँसी) जोखिमलाई पर्वाह नगरी देशको अस्तित्व संकटमा परेको महसुस गरी ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राख्दै राजनीतिक सहयात्री गणेशमान सिंहसाथ दर्जनौं कार्यकर्तासहित भारत स्वनिर्वासनलाई परित्याग गर्दै स्वदेश फर्कनुभएको थियो ।

यस दिनलाई राष्ट्रिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउने गरिन्छ । 

बीपीले राख्नुभएको राष्ट्रिय एकता र मेलमिलापको प्रस्तावलाई त्यसबेला राजादेखि सबै राजनीतिक शक्तिले स्वीकार गरेको भए मुलुक आज जस्तो गम्भीर सङ्कटको मोडमा हुने थिएन । त्यसबेला देशप्रेमको भावनाबाट ओतप्रोत भएर राखिएको त्यो प्रस्तावलाई नत तत्कालीन राजाले स्वीकार गरे, न नेपाली कांग्रेसले इमानदारीपूर्वक आत्मसात गर्‍यो । त्यो प्रस्तावलाई अस्वीकार गरेकै परिणाम हो, अन्तत: देशबाट राजसंस्थाको पतन भयो भने इतिहासको त्यो गौरवशाली प्रजातान्त्रिक दल नेपाली कांग्रेस राष्ट्रिय संकटको यो घडीमा देशलाई बचाउन नेतृत्वदायी भूमिका खेल्न नसक्ने भएको छ । संसद्मा सबैभन्दा ठूलो दल भएर पनि राष्ट्रिय राजनीतिको केन्द्रबाट टाढा भइरहेको छ, राजनीति र प्रजातन्त्रलाई स्थायित्व दिन चुकिरहेको छ ।
बीपीले आफ्नो जीवनमा आफ्नै साथीहरूले आफूलाई साथ नदिएको गुनासो बरोबर गर्नुभएको थियो । बीपीलाई जीवन छँदै साथ नदिएको पार्टीले जीवनपछि उहाँको विचारलाई किन पछ्याउँथ्यो ? सहजै अनुमान गर्न सकिन्छ । बीपीको निधन लगत्तै कांग्रेसले बीपीको भावना विपरीत कम्युनिष्टहरूसँग सहकार्य वा गठबन्धन गर्न पुग्यो । परिणाम आज देशमा प्रजातान्त्रिक शक्ति कमजोर र वामपन्थी शक्ति बलिया भएका छन् ।

आजको देशको संकटपूर्ण राजनीतिक परिस्थिति र दिशाहीन कांग्रेसको निरीह अवस्थामा बीपीलाई श्रद्धापूर्वक स्मरण गर्दै राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा भन्नैपर्छ, पछिल्लो कालखण्डमा कांग्रेसका नेताहरूको सत्तामोहले उग्र–कम्युनिष्टहरूसँगको अस्वाभाविक एवं सिद्धान्तहीन निकटताले पार्टीको सैद्धान्तिक एवं वैचारिक मौलिकता धुमिल भएको छ । लामो प्रजातान्त्रिक आन्दोलनबाट स्थापित एवं आर्जित कांग्रेसको आफ्नै खालको गौरवशाली चरित्र वा कांग्रेसपनको साख समाप्त हुँदैछ । विचार र सिद्धान्तले बीपी र वर्तमान कांग्रेसको दूरी बढ्दैछ । पार्टी कम्युनिष्टहरूको एजेन्डाको भारी बोकेर गन्तव्यहीन यात्रामा भांैतारिएको छ । 

बीपीपछि आधुनिक नेपाली राजनीतिमै राष्ट्रियताको संवेदनशीलता र यसको चुरोलाई राम्रोसँग बुझेका प्रजातन्त्रवादी एवं राष्ट्रवादी नेता कृष्णप्रसाद भट्टराई हुन् भन्दा कसैले विमति राख्नु पर्दैन । भट्टराईले आफ्नो जीवन छँदै आफै समेतले स्थापना गरेको र राजनीतिक जीवन बिताएको पार्टीबाट पीडा र अपमान सहँदै दु:खसाथ अलग हुनुको कारण कांग्रेसको वैचारिक विचलन नै थियो । राष्ट्रिय एकता र मेलमिलाप नीतिको भावना विपरीत महासमिति बैठकले नाटकीय ढङ्गले निर्णय गरेपछि बैठकको समुद्घाटन सत्रमा उपस्थित किसुनजीले सोही महासमिति बैठकलाई एउटा पत्र पठाएर पार्टीबाट अलग भएको घोषणा गर्नु राजनीतिक इतिहासकै एउटा दु:खद घटना थियो ।

राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्र प्राप्त गर्ने र प्रजातन्त्रलाई आधार बनाएर राष्ट्रियतालाई बलियो बनाउने कांग्रेसको अभय इतिहास आज कुण्ठामा परिवर्तन भएको छ । कुनै बेला आर्थिक, सामाजिक र कूटनीतिक लगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायक अग्रगामी विचार संवाहन गर्ने त्यो गौरवशाली कांग्रेस आज कस्तो पक्ष र प्रवृत्तिको पृष्ठपोषक हुनपुगेको छ ? बुझ्नुपर्ने बेला आएको छ । कांग्रेसका वर्तमान युवा पुस्ताले आफ्ना नेतृत्वसामु यसको जवाफ माग्नुपर्छ । कांग्रेसको स्थापनाकालीन सिद्धान्तलाई कसले अपहरण गरेको छ ? कांग्रेस जस्तो प्रजतन्त्रवादी दलको आजको दुरावस्थाको प्रमुख कारण पार्टीको राष्ट्रवादसँगको नाता टुट्नु हो ।

आतिवादी कम्युनिष्टभन्दा बढी क्रान्तिकारी बन्ने बहानामा देश, राष्ट्रियता र राष्ट्रिय एकताको सूत्र बनेर रहेको नेपालको परम्परागत मौलिक धर्म–संस्कृति एवं प्रजातान्त्रिक मूल्य—मान्यता विपरीत केही नेता विशेषको हठ र सत्ता स्वार्थमा कांग्रेसलाई नै गलत बाटोमा हिँडाएको परिणाम आज कांग्रेस, कांग्रेसजस्तो छैन । पार्टी संगठन छ, कार्यकर्ताको भिड पनि छ, त्यो भिडमा वास्तविक कांग्रेस भने कताकता हराइरहेको छ । 

राष्ट्रियता कांग्रेसको स्थापनाकालीन सिद्धान्त हो, राष्ट्रियताकै लागि प्रजातन्त्रको लडाइँ लडिएको हो । कम्युनिष्टहरूको जस्तो राजनीतिकवादको आवरणमा राष्ट्रियता र राष्ट्रियभावलाई बिर्सेर प्रजातन्त्रको लागिमात्र कांग्रेसले क्रान्ति गर्न सम्भव छैन । प्रजातन्त्रको पहिलो र एउटामात्र सैद्धान्तिक धार छ, त्यो धार भनेको राष्ट्रिय एकता र मेलमिलापको आधारमा राष्ट्र बलियो बनाउने नै हो । यो नीति नै राष्ट्रिय एकता र मेलमिलापको नीति हो । त्यो नै बीपी, गणेशमान र कृष्णप्रसादको पनि नीति थियो । बीपीले त्यसै भन्नुभएको होइन– ‘हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । ...हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो । त्यसले गर्दा हाम्रो देशमा विदेशी तत्त्वहरू कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुनथालेका छन् । सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ । त्यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । ....हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारसँग मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हो । ...प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ भन्ने हामीलाई लाग्छ । ...यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित हुनुपर्छ ।’ 

बीपीको अनुयायी र उत्तराधिकारीहरूले आफूखुसी गरेका कारण मुलुकप्रति विगतमा कांग्रेस र यसका नेताहरूबाट भएको भुल र खेलवाडको मूल्याङ्कन इतिहासको कालखण्डमा हुने नै छ । तर वर्तमानको खाँचो भनेको कांग्रेसले इतिहासमा गरेको भुललाई सच्याएर मुलुक र आम जनताले पुन: विश्वास र भरोसा गर्नसक्ने पार्टी बनाउने, जुन पार्टीको नेतृत्वमा मुलुक सुरक्षित रहनसक्छ र प्रजातन्त्र जनताको संस्कार र पद्धति भएर रहन सक्छ । यसलाई पक्रनका लागि हामीसँग समय अझै छ, तर यसका लागि कांग्रेसको झण्डामा बीपीका विचार फर्फराउनुपर्छ, भट्टराईको निष्ठा एवं समर्पण र गणेशमानको त्याग र हठीपन हुनैपर्छ । 

आज बीपीको विचार र दर्शन, गणेशमानको निष्ठा र किसुनजीको लिगेसीको डोरीलाई समातेर कांग्रेसको नेतृत्व सम्हाल्न पुगेको वर्तमान नेतृत्वले राष्ट्रिय एकता र मेलमिलाप नीति, बीपी र किसुनजीको विचार एवं भावना तथा गणेशमानको निष्ठाभाव बमोजिम पार्टीलाई सही मार्गबाट हिँडाउने प्रयास गर्नुको बदला केवल सत्ता स्वार्थमा अल्झेर राष्ट्रियता, प्रजातान्त्रिक मूल्य—मान्यताको सिद्धान्त विपरीत अतिवादी कम्युनिष्टलाई काँधमा बोकेर हिँड्नु देश, राष्ट्रियता र कांग्रेसको हितमा छैन । 

राष्ट्रिय एकता र मेलमिलाप नीतिको अझै सान्दर्भिकता छ भन्ने पार्टीलाई लाग्छ भने (निश्चय नै सान्दर्भिकता अझ छ) त्यसलाई पुनर्परिभाषित गर्नु जरुरी छ । राजनीतिक चुनौतीका परिवेशमा प्रजातन्त्रको स्थायित्व र राष्ट्रियताको जगेर्ना गर्न प्रजातान्त्रिक एवं राष्ट्रवादी शक्तिहरूबीच बृहत एकता र मेलमिलापका लागि यो नीतिलाई संशोधन गरी समृद्ध बनाउन जरुरी छ । आखिर माध्यम जे भए पनि बीपीको मेलमिलाप नीतिको चुरो कुरो भनेकै राष्ट्र जोगाउनु थियो ।

प्रकाशित : पुस १६, २०७३ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×