राष्ट्रिय सेनाको अवमूल्यन - प्रिन्ट संस्करण - कान्तिपुर समाचार

राष्ट्रिय सेनाको अवमूल्यन

कान्तिपुर संवाददाता

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलिउड कलाकार सोनाक्षी सिन्हालाई स्वागत गर्न नेपाली सेनाका जर्नेल नै उपस्थित भएको घटनाले राष्ट्रिय सेनाको अवमूल्यन गरेको छ । सोनाक्षीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न गौचरनस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशकसमेत रहेका सहायक रथी समीर शाहीलगायत अन्य सैनिक अधिकृतहरू आफैं पुग्नु अस्वाभाविक हो ।

बलिउडकै अर्की कलाकार मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा विशेष स्वागत गर्‍यो । ‘सैनिक श्रीमती संघ नेपाल’ ले आयोजना गरेको सांगीतिक जमघटमा भाग लिन काठमाडौं आएका यी दुई बलिउड सुन्दरीको स्वागत, सुरक्षा र व्यवस्थापनका नाममा केही अधिकारीहरूको रुचिमा जे–जसरी सैन्य तैनाथी गरियो, त्यो राष्ट्रिय सेनाको संस्थागत प्रतिष्ठा घटाउने, राष्ट्रिय सुरक्षाको जिम्मेवारी लिएका आम सिपाहीहरूको मनोबल गिराउने र सम्मानित संस्थाकै बदनामी गराउने कार्य भएको छ । 

केही सैन्य अधिकृतका श्रीमतीहरूको क्लबले व्यापारिक उद्देश्यले गरेको नाचगानमा राष्ट्रिय सेनाको संस्थागत संलग्नता गराइनु र व्यापक मात्रामा सैन्य कर्मचारी खटाइनु कुनै पनि दृष्टिबाट जायज छैन । उक्त कार्यक्रम भूकम्पपीडितहरूको सहयोगार्थ भनिए पनि पीडितहरूकहाँ कति रकम कहिले कसरी पुग्नेछ र विदेशी कलाकारको बैंक खातामा चाहिँ कति हिस्सा पुगिसक्यो, प्रस्ट पारिएको छैन । कार्यक्रमको उद्देश्यमा प्रश्न नरहे पनि यसको व्यवस्थापनमा सेनालाई संलग्न गराइनु विवादको स्रोत हो । उच्च सैन्य अधिकारीहरूले आफ्नो ‘प्रोटोकल’ र जिम्मेवारीलाई समेत ख्याल नगरी चालेको यो कदमले समग्र संस्थाकै अवमूल्यन गरेको छ । सैन्य मामिलाका जानकार तथा सेनाकै पूर्व उच्च अधिकारीहरूको भनाइमा त यस्ता घटनाबाट सैनिक ऐन–नियमको समेत उल्लंघन भएको छ । आन्तरिक र बाह्य सुरक्षामा ध्यान दिनुपर्ने नेपाली सेना यस्ता काममा अल्मलिनु या अनावश्यक विवादमा मुछिनुलाई कुनै पनि हिसाबले उचित मान्न सकिन्न । यी घटना र क्रियाकलापबाट सेनाको संवेदनशीलता, मर्यादा र गरिमालाई पटक्कै ख्याल नगरेको प्रस्टै भएको छ । 
सैनिक श्रीमती संघ कुनै सरकारी निकाय होइन, न त यो राष्ट्रिय सेनाको औपचारिक अंग हो । यो मूलत: उच्च सैनिक अधिकृतहरूका श्रीमतीहरूले आपसी भेटघाटसँगै सामाजिक र सेवामूलक कार्यहरू गर्ने उद्देश्यले खोलेको संस्था हो । उनीहरू आफैं सैन्य सेवामा संलग्न नरहे पनि उच्च अधिकारीहरूका पत्नी भएकाले समग्र सेनाभित्र यो संघको अनौपचारिक प्रभाव प्रतिबिम्बित हुने गरेको छ । यो पृष्ठभूमिमा संघको आयोजनामा निम्त्याइएका विदेशी अभिनेत्रीहरूको स्वागतमा सेनाका उच्च अधिकृत आफ्नै हिसाबले गएका हुन् वा उनलाई त्यहाँ जान आदेश नै गरिएको हो भन्ने पनि प्रस्ट छैन । आफ्नै हिसाबले गएका हुन् भने यस्तो व्यवहारलाई निरुत्साहित गर्नैपर्छ । सेनाको उच्च तहकै आदेशमा गएका हुन् भने त्यसमा सेनाको संस्थागत सहमति रहेको देखिन्छ, जुन अझ गम्भीर विषय हो । यस्ता कार्यक्रममा सेनाको कस्तो किसिमको संलग्नता हुनुपर्छ वा हुनु हुन्न भन्नेबारे जंगी अड्डा वा रक्षा मन्त्रालयले नीतिगत निर्णय गरेर मातहतका निकायहरूलाई निर्देशन दिन जरुरी छ, ताकि आगामी दिनमा हालको जस्तो विवाद नदोहोरियोस् । 
नेपाली सेना र सैनिक श्रीमती संघ दुवैले बुझ्नुपर्ने तथ्य के हो भने संघको आयोजनामा निम्त्याइएका पाहुनाको स्वागतका लागि संघका पदाधिकारी वा उनीहरूले खटाएका संघकै कर्मचारी जानुपर्ने हो, न कि सेनाका अधिकृतहरू । त्यति मात्र होइन, संघका कार्यक्रमहरू एक हदसम्म सेनासँगै जोडिने भएकाले यस्ता कार्यक्रमहरूका साथै ती कार्यक्रममा निम्त्याइने निम्तालुहरूका विषयमा पनि ध्यान दिन आवश्यक छ । त्यस्तै कार्यक्रमस्थलमा सुरक्षाका नाममा ठूलो संख्यामा सैनिक खटाउने प्रचलन त परिवर्तन गर्नैपर्छ । संघले आयोजना गरेको कार्यक्रममा यसरी ठूलो संख्यामा सैनिक खटाइएको यो पहिलोपटक होइन । २०७१ सालमा भारतीय गायक मोहित चौहानलाई ल्याएर कन्सर्ट गर्दा पनि यसरी नै ठूलो मात्रामा सैनिक प्रयोग गरिएको थियो । कार्यक्रमस्थलमा मात्र होइन, आगन्तुकको स्वागत र सुरक्षाका नाममा त्रिभुवन विमानस्थलमा अस्वाभाविक सेना खटाइनुले त सेनाको गरिमालाई नै घटाउँछ । विमानस्थलभित्र भित्री सुरक्षा र आगन्तुकलाई सुरक्षा जिम्मा गर्ने दायित्व नेपाल प्रहरीको हो । यसरी प्रहरीको क्षेत्राधिकारमाथि समेत सेना हावी हुनुले सुरक्षा संयन्त्रबीचको सम्बन्धलाई पनि राम्रो गर्दैन भन्ने 
हेक्का राख्नैपर्छ । 

प्रकाशित : जेष्ठ ३, २०७३ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य चौकीलाई ३७ लाखको जग्गा

कान्तिपुर संवाददाता

बैतडी — पाटन ७ भूमेश्वरमा एक महिलाले पतिको सम्झनामा स्वास्थ्य चौकी भवन निर्माणका लागि ३७ लाख बराबरको ६ रोपनी जग्गा दान गरेकी छन् ।

भूमेश्वर पुख्र्यौली घर भई धनगढी उपमहानगरपालिका बस्दै आएकी ६१ वर्षीया विद्यादेवी महराले स्वर्गीय पति सुरेन्द्रको सम्झनामा ३६ लाख ६६ हजार मूल्यको जग्गा दिएकी हुन् । सामाजिक काममा अग्रसर महराको ५३ वर्षको उमेरमा मृत्यु भएको थियो । पतिको सामाजिक कामप्रतिका अधुरा इच्छा पुरा गर्ने र स्वास्थ्य संस्था टाढा भएका कारण गाउँका महिलाले उपचार नपाएर पाउने पीडामा सहयोग पुर्‍याउने उद्देश्यले जग्गादान गरेको महराले बताइन् । उक्त ठाउँमा स्वास्थ्य चौकी भवन बनेपछि स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाउने छन् । स्वास्थ्य चौकी भवन बनाउन जग्गा तयारी गर्ने काम सुरु भएको छ । आउँदो वर्षमा भवन निर्माण हुने स्वास्थ्य कार्यालयले जनायो । बिहीबार प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जग्गादाताको सम्मान र निर्माणस्थल कटानीको उद्घाटन गरेका छन् । जग्गा कटाउन स्थानीय वीरबहादुर चन्दले आर्थिक सहयोग गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७३ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×