कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाको संगठन बचाएँ : यादव

जगदीश्वर पाण्डे

काठमाडौं — पूर्वराष्ट्रपति डा. रामवरण यादवले ‘कटवाल प्रकरण’ मा आफूले तत्कालीन सरकारलाई साथ नदिएर नेपाली सेनाको संगठन ध्वस्त हुनबाट बचाएको बताएका छन् । उनले राजनीतिक दलहरूले सुरक्षाका अन्य दुई अंग नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठनलाई ध्वस्त पार्ने काम गरे पनि आफूले सेनाको संगठनलाई बचाउन त्यस बेला सरकारले गरेको निर्णयलाई साथ नदिएको स्पष्ट पारेका हुन् ।

सेनाको संगठन बचाएँ : यादव

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा लिखित आत्मकथा ‘जनताको छोरो’ पुस्तक आइतबार लोकार्पण गर्दै यादवले भने, ‘म राष्ट्राध्यक्ष नभएको भए, सेनाको संगठन ध्वस्त हुन्थ्यो ।’

 तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्कालीन पुष्पकमल दाहालको सरकारले २०६६ साल वैशाख २० मा प्रधानसेनापतिको पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । तर यादवले त्यस बेला सरकारको निर्णयलाई साथ दिएनन् र कटवालले नै निरन्तरता पाए । त्यसपछि तत्कालीन प्रधानमन्त्री दाहालले पदबाट राजीनामै दिए । 
यादवले त्यस बेला काम गर्न गाह्रो भएको व्यक्त धारणा गर्दै भने, ‘त्यस बेला १० वर्ष हतियार बोकेको माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याइएको थियो । त्यस बेला दुई सेना (नेपाली सेना र माओवादी सेना) अस्तित्वमा थिए । त्यसपछि विद्रोह गरेरै आएका पार्टीका नेता प्रधानमन्त्री (पुष्पकमल दाहाल) र रक्षा मन्त्री (रामबहादुर थापा) थिए, मैले त्यस बेलामा सही निर्णय गरें । अहिले पनि त्यस बेलाको निर्णय सही थियो भन्ने लाग्छ । माओवादीबाहेक सम्पूर्णले मेरो निर्णयलाई समर्थन गरेका पनि थिए ।’
यादवले आफूले राष्ट्राध्यक्ष भएर थिच्न र मिच्न खोजेको भन्ने आरोप लाग्ने गर ेपनि ७ वर्ष तीन महिनाको कार्यकाल पदमा रहँदा मुलुकका सबै दललाई संयोजन गर्ने र लोकतान्त्रिक पद्धतिबाट काम गरेको बताए । उनले त्यस बेला ८ जना जर्नेलहरूको म्याद थपका विषयमा पनि आफूले सही निर्णय लिएको बताए । उनले भने, ‘यदि त्यस बेला मैले गलत निर्णय गरेको भए, अदालतबाट निर्णय भएपछि मैले ट्याक्सी लिएर हिँड्ने अवस्था आउन सक्थ्यो ।’
यादवले आफूले नै बर्खास्त हुनबाट जोगाएको प्रधानसेनापति कटवालले म्याद सकिन लागेपछि पनि पदमा निरन्तरता दिन खोज्दा लोकतन्त्रविपरीत हुने बताएको जानकारी दिए । उनले भने, ‘मैले उहाँ (कटवाल) लाई हामी जनताको छोराछोरी हौं, यो भनेको संस्था हो, यसमा आउनेजाने भइरहन्छ । यो लोकतान्त्रिक पद्धतिअनुसार चल्नुपर्छ । यसलाई निरन्तरता दिने कुरा गर्नु ठीक हुन्न ।’ 
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस बेला कटवाललाई ‘यो वृद्ध आश्रम होइन’ भनेर बोलिदिएकोमा धन्यवाद दिए । उनले नेपालको सेनाले जहिले पनि लोकतान्त्रिक आन्दोलनमा साथ दिएको पनि बताए । यादवले राजनीतिक दलका नेताहरूको सत्ता केन्द्रित लक्ष्यले गर्दा मुलुकको हरेक क्षेत्र ध्वस्त हँुदै गइरहेको बताए । उनले आफूले आग्रह गर्दा पटक–पटकका राष्ट्रप्रमुखले चालेको कदमले समस्या उत्पन्न भएको बताए । उनले भने, ‘मैले माधव नेपालजीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिनु भनेको थिएँ, उनले दिए । बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिए । मैले वर्तमान प्रधानन्यायाधीशको अध्यक्षतामा नभई पूर्व वा अरू कसैको नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ भनेको थिएँ, दलहरूले मानेनन् ।’ शिक्षण संस्था, न्यायालयलगायत विभिन्न निकायहरू राजनीतिकका कारण ध्वस्त भए । 
‘पीडा लिएर संविधान जारी गरें’
यादवले आफूले मनमा पीडा लिएर संविधान जारी गरेको बताए । ‘मैले पुस्तकलाई ढोगेको छु । मेरो मनमा पीडा त्यस बेला थियो । तर मैले समर्थन गर्दै नेपाली जनताको नासो जनतासमक्ष राखें ।’ उनले त्यस बेला मधेसको समस्या नसकिँदै दलहरूले संविधान जारी गरेकोमा दु:ख व्यक्त गरे ।  यादवले त्यस बेला प्रधानमन्त्री सुशील कोइरालाले १० दिन रोकेर राष्ट्रिय आहवान गरी सल्लाह र सुझावअनुसार संविधान जारी गरिएको भए पछि यस्ता समस्या नआउन सक्ने बताए । उनले भने, ‘मैले यसरी, यति लामो नाकाबन्दी हुन्छ भन्ने सोचेकै थिइनँ ।’ उनले अहिलेको अवस्था राष्ट्रियता जोड्ने रहेको उल्लेख गर्दै भने, ‘तराई र पहाडबीच हुन गएको खाडललाई पुर्नुपर्छ ।’ 
उनले एमाले र कांग्रेसबीचको सात बुँदे समझदारीपछि संविधान निर्माण प्रक्रियामा समस्या सुरु भएको बताए । उनले भने, ‘त्यस बेलादेखि तीन दलले मेरो कुरा सुन्नै छाडे ।’ यादवले वर्तमान राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीलाई पनि आफूले जस्तै राजनीतिबाट माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखी संयोजनकारी भूमिका निर्वाह गर्न सल्लाह दिए । 
पूर्वप्रधानमन्त्री माधव नेपालले रुक्मांगद कटवालले प्रधानसेनापतिमा आफूलाई निरन्तरता दिन आग्रह अस्वीकार गरेको बताए । उनले पहिले आपंैmले कटवाललाई प्रधानसेनापति बनाउन सहयोग गरेको उल्लेख गर्दै भने, ‘तर म्याद सकिएपछि आफूले कटवाललाई निरन्तरता दिन नहुने अडान राखेको हुँ ।’ 
कार्यक्रममा पुस्तकका टिप्पणीकारका रूपमा रहेका प्राध्यापक लोकराज बरालले गुरुङ नेपाली समाजको एलिट परिवारबाट नभई एउटा सामान्य परिवारबाट आएको र आफू कसरी नेपाली सेनाको प्रधानसेनापति बन्न पुगेको कथा पुस्तकमा समेटेको बताए । एलिट सर्कलबाट बाहिर रहेका व्यक्ति प्रधानसेनापति भएर ‘जनताको छोरो’ पुस्तकको शीर्षक राखिएकोमा उनले सही संकेत गरेको बताए । 
आत्मकथाका लेखक गुरुङले २०२८ सालमा सेनामा जागिरे भएका थिए । उनी २०६६ भदौ २४ मा प्रधानसेनापति नियुक्त भएका थिए । उनी २०६९ भदौ २४ सम्म प्रधानसेनापति भए । उनले भने, ‘प्रधानसेनापति भएको अन्तिम दिनसम्मको घटनालाई यो पुस्तकमा समेटेको छु ।’ आफूले पुस्तकमा २०१७ सालमा महेन्द्रले प्रजातन्त्र अपहरण गरेको भनेर लेखे पनि २०२८ सालमा राजा महेन्द्रकै पालामा सेनामा लप्टनको रूपमा भर्ती भएको बताए । उनले आफू प्रधानसेनापति नभएको भए किताब नलेख्ने बताए । 

 

 

प्रकाशित : चैत्र २९, २०७२ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?