अम्बरको उपचार राज्यले गरोस्- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अम्बरको उपचार राज्यले गरोस्

कान्तिपुर संवाददाता

काठमाडौं — गणतन्त्र नेपालको राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी’ का संगीतकार अम्बर गुरुङ गम्भीर स्वास्थ्य उपचार क्रममा भारतको मेदान्त अस्पतालमा भर्ना भएको महिना दिन बितिसक्दा पनि राज्य तहबाट चासो नराखिएको खबर बाहिर आएको छ । राज्य तहका जिम्मेवार पदाधिकारीले गुरुङको उपचारमा आवश्यक सहयोग गर्ने भनेर मुखमीठो बोली बाहिर सुनाए पनि स्थिति भने निकै भिन्न छ ।

खाद्यनलीमा पलाएको ट्युमर तथा पार्किङ्सन रोगका कारण निकै महँगो तथा संवेदनशील उपचार पद्धतिमा जोडिएका राष्ट्रका निधि गुरुङले सिर्जेको राष्ट्रगान धुनप्रति सिंगो देश र देशवासी नतमस्तक भइरहेका बेला एउटा सर्जक भने गुमनाम स्थितिमा अस्पतालको बेडमा उपचाररत रहेको खबर जति ह्दयस्पर्शी छ, सिंगो राज्यपद्धतिका निम्ति यो खबर उत्तिकै शर्मनाक पनि छ । यतिसम्म कि दिल्लीमा रहेको नेपाली दूतावासका अधिकारीसमेत नजिकै हरियाणा राज्यको अस्पतालमा उपचाररत राष्ट्रका निधि अम्बरको स्वास्थ्य स्थिति बुझ्नका लागि समेत जान भ्याएका छैनन् । किनभने स्पष्ट छ— अम्बर एक संगीतज्ञ हुन्, कुनै राजनीतिक प्रभाव र पहुँच राख्ने व्यक्ति होइनन् । 

नेपालको आधुनिक संगीतका अगुवा पथप्रदर्शक अम्बर गुरुङलाई लिएर गरिने कटु आलोचनाका पछाडि एउटै तर्क रहने गरेको छ– उनी राजा महेन्द्रले दार्जिलिङ (भारत) बाट नेपाल ल्याइएका कलाकार हुन् । विडम्बना यो छ कि गुरुङको सिर्जनशक्ति र कलाकर्म हेरेर राजाले घर फर्कन 
आह्वान मात्रै गरेका हुन्, तर राजभक्ति वा शक्तिलिप्साको कुनै अन्यथा मोह नराखी अम्बरले सधैं संगीत–सिर्जनामै आफूलाई डुबाइरहे । अम्बरले राज्यसँग न घर मागे, न सम्पत्ति मागे । अम्बर अझैसम्म पनि काठमाडौंमा डेराकै बासमा छन् । विशेषत: गणतन्त्र नेपालको स्थापनापछि राज्य तहबाट गठन गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संस्थापक कुलपति बनाएर राज्यले अम्बरको सांगीतिक योगदानको कदर पनि गरेको थियो । तर, राज्यले पहिचान गर्ने स्रष्टा र सर्जक अथवा राज्य संरचनामा अहम् भूमिका निभाउने पात्र/प्रतिनिधिको हेरदेख गर्ने र आइपर्दा उपचार खर्च बेहोर्नेसम्मको परिपाटी भने अझै संस्थागत हुन सकेको छैन । त्यसमाथि राजनीतिक शक्ति र सत्तामा कोही छ भने प्रभाव र पहुँचका भरमा चाहेजति उपचार खर्च लिने गरेको दृष्टान्त सामुमै छ । तर, अम्बरजस्ता सर्जकका लागि राज्यपद्धतिमा पनि नियमसंगत रूपमा बोलिदिने कोही छैन, बोलिए पनि उपचार खर्चका नाममा केही राहत रकम दिने अवस्था यथावत छँदै छ । नेपाली आधुनिक संगीतका प्रखर शिल्पी गुरुङ नेपाली सेनाका मानार्थ महारथीसमेत हुन्, उनले सिर्जेको अर्को लोकप्रिय धुन ‘रातो र चन्द्र सूर्य’ नेपाली सेनाको ‘लोगो’ गानसमेत रहिआएको छ । दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्मले गुरुङको परिवारलाई फोन गरेर उपचार खर्च एवं अन्य समन्वयकारी सहयोगमा सक्दो साथ दिने बताएका थिए । गत साताको दिल्ली भ्रमण क्रममा अम्बरको स्वास्थ्य स्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भइसकेको छ । तर, कुनै पद्धति वा प्रक्रियाले काम हुन संस्कारभन्दा नेपाली शासकीय स्वरूपमा अझै पनि प्रभाव र पहुँचले मात्रै केही काम हुन सक्ने स्थिति यथावत छँदै छ । अहिलेसम्म आफ्नै पारिवारिक स्रोतबाट जेनतेन सम्भव भइरहेको अम्बरको उपचार गर्ने निर्णय गराउनमा सिंगो राज्यपद्धतिले पनि त्यस्तै प्रभाव र पहुँच चाहिरहेको स्पष्ट भएको छ, अन्यथा राष्ट्रका निधि भनेर पहिचान तथा सम्मान दिइएको एउटा सर्जकका निम्ति आवश्यक पर्ने उपचार खर्च दिलाउनमा यत्तिको ढिलाइ गरिरहनुको कुनै तात्पर्य छैन । 
संगीतज्ञ अम्बर गुरुङका देश–विदेशमा गरेर सहस्र फ्यान–फलोवर र शिष्य छन् । अम्बरले चाहना गरे यी शुभेच्छुकले पनि उनको उपचारमा सहयोग संकलन गर्न सक्नेछन् । तर, अम्बरको स्वाभिमानले यसो गर्न दिएको छैन । सिंगो राज्यले सम्मान गरेको व्यक्तिका निम्ति खर्च संकलन गरेर उपचार खर्च बेहोर्ने अवस्था र परिपाटी राज्य आफैंका लागि समेत लाजमर्दो हुन सक्छ । यसकारण पनि अम्बर गुरुङको सांगीतिक युगलाई बुझ्न सक्ने अग्रज स्रष्टाहरूले उनको जीवनरक्षामा सिंगो राज्यसँग सहयोग/समन्वय तथा पहुँचको हात बढाउनु जरुरी छ । यो स्थिति आउनुअघि राज्य स्वयंले सिंगो राष्ट्रका निधि अम्बरको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय बाहिर ल्याउन सकोस् । 

प्रकाशित : फाल्गुन १७, २०७२ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

नेतृत्व कस्तो हुनुपर्छ ?

‘गुटबन्दी अन्त्य गर्ने’
‘पार्टी सबल बनाउने’
जगदीश्वर पाण्डे

काठमाडौं — महाधिवेशनको संघारमा आइसक्दासमेत पार्टीको भावी नीति र कार्यक्रमबारे ठोस निष्कर्ष किन आउन नसकेको ? नीति तथा कार्यक्रमका लागि समिति बनेको छ । त्यो समितिले मस्यौदा तयार पारेको छ, छलफल भइरहेको छ । समितिले त्यहीअनुसार परिमार्जन गरेर अघि बढाउँछ । समयको चापले हामी दबाबमा छौं ।

‘गुटबन्दी अन्त्य गर्ने’

महाधिवेशनको संघारमा आइसक्दासमेत पार्टीको भावी नीति र कार्यक्रमबारे ठोस निष्कर्ष किन आउन नसकेको ?
नीति तथा कार्यक्रमका लागि समिति बनेको छ । त्यो समितिले मस्यौदा तयार पारेको छ, छलफल भइरहेको छ । समितिले त्यहीअनुसार परिमार्जन गरेर अघि बढाउँछ । समयको चापले हामी दबाबमा छौं ।
पार्टीभन्दा व्यक्ति केन्द्रित भयो भन्ने आरोप छ नि ?
निर्वाचनका बेलामा पार्टीभन्दा व्यक्ति केन्द्रित स्वाभाविकै हो । महाधिवेशन र नीति तथा कार्यक्रमबारे छलफल एकै पटक हुने भएकाले चुनावतिर बढी ध्यान गएको छ । त्यही भएर व्यक्ति केन्द्रित देखिएको हो ।
यस पटक कस्तो नेता छान्नु हुन्छ ?
उम्मेदवारी मनोनयन दाखिला नगरुन्जेलसम्म यही नेता यो पदमा उठ्छन् भन्ने छैन । साथीहरूले आफूलाई सभापतिका रूपमा अघि सारेका छन् । मैले पनि सभापतिका लागि आफ्नो तयारी र दाबी गरेको छु । अन्तिम अवस्थासम्म सहमति खोजेर सहमतिको सभापति होला, नभए प्रतिस्पर्धा होला ।
अबको पार्टी नेतृत्वमा कस्तो व्यक्ति आवश्यक छ ?
अबको नेतृत्वका अघि केही गम्भीर चुनौती छन् । सभापति सुशील कोइरालाको निधनपछि पहिलो चुनौती भनेको नेतृत्वमा रहेको रिक्तता पूरा गरेर पार्टीलाई गुटबन्दीबाट मुक्त गराउने, पार्टी एकढिक्का बनाउने र अझै माथि लिएर जाने हो । कार्यकर्ता र देशवासीमा आत्मविश्वास जगाउनुपर्ने चुनौती छ । अर्कोतर्फ नयाँ संविधान कार्यान्वयन गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुपर्छ । अबको युग भनेको आर्थिक विकासको युग हो । आर्थिक बुझेको र ‘इकोनोमिक लिडरसिप’ दिन सक्ने नेता चाहिन्छ ।
यस्तो क्षमता भएको व्यक्ति को/को छन् त ?
मैले अघि नै तीन चुनौतीको कुरा गरें, पार्टीलाई गुटबन्दीबाट अन्त्य गर्ने, संविधान कार्यान्वयन गर्ने र अबको आर्थिक रिभोलुसनमा लान सक्ने व्यक्ति आवश्यक छ । मेरो प्रशासनिक, राजनीतिक, आर्थिकलगायत क्षेत्रमा लामो अनुभव छ । १४ वर्षको उमेरबाट जेल बसेर राजनीतिक यात्रा सुरु गरें । साथीहरूको चाहना पनि मैले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने छ । मैले अहिलेसम्म पदलाई कहिल्यै महत्त्व दिइनँ । म पदभन्दा काममा बढी ध्यान दिने व्यक्ति हुँ । १२ औं महाधिवेशनमा महामन्त्री पदमा मैले लुछाचुँडी गरिनँ । यस पटक साथीहरूले मलाई नेतृत्व लिनुपर्छ भनेर दबाब दिइरहेका छन् ।
नेतृत्व प्रतिस्पर्धा कसरी हेर्नुभएको छ र तपाईंको रणनीति के हो ?
चुनौती भनेको पार्टी एकता र गुटबन्दीको हो । प्रतिस्पर्धा रामचन्द्रजी र शेरबहादुरजी बीचमा हुन् । उनीहरू पहिलो पिढीका हुन् । उनीहरू अलग भएमा त्यसपछि सभापति निम्ति म गम्भीर दाबेदार हुँ । दुवैले छाडे भने त्यसपछि को कता को कता जान्छन्, यहाँ गुटबन्दी अन्त्य हुन्छ । यदि दुवै जनाले छाडेको खण्डमा गुटबन्दी अन्त्य र ‘जेनेरेसन सिफ्ट’ हुन्छ ।
पार्टीमा पदाधिकारी संख्या बढाउनुपर्ने कारण छ ?
मुलुक संघीयतामा जाँदै छ । संघीयतामा गएसँगै संघीय प्रदेशको संगठन विस्तार गर्नुपर्छ । जिम्मेवारी झन्–झन् पेचिलो हँुदैछ । यसले गर्दा नेतृत्व फराकिलो पार्नुपर्छ । जिम्मेवारी बाँडफाँड गर्दै पार्टीलाई सहज र सही दिशामा चलाउन उच्चस्तरमा पदहरू थपिनु उचित हुन्छ ।


‘पार्टी सबल बनाउने’

महाधिवेशनको संघारमा आइसक्दासमेत किन पार्टीको भावी नीति र कार्यक्रम तयार हुन नसकेको ?
मूल रूपले नीति तथा कार्यक्रम ढिलो भइसकेको छैन । प्रचलन नै हो, कार्यवाहक सभापतिको संयोजकत्वमा रहेको समितिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसको अनुमोदन केन्द्रीय कार्यसमितिबाट गर्छौं । यो ढिला हँुदैन । हाम्रो परम्पराअनुसार अन्य वामपन्थी दलका अनुसार हरेक जिल्लामै पहिले नै पठाउँछौं । त्यहीअनुसार काम भइरहेको छ ।
कांग्रेसमा नीतिभन्दा नेता हावी भए आरोप
छ नि ?
हामी पार्टीको नीति तथा कार्यक्रमबाट निर्देशित छौं । महाधिवेशनको संघारमा व्यक्ति हावीको कुरा आउनु स्वाभाविक हो । जुनसुकै लोकतान्त्रिक पार्टी नीतिअनुसारै चल्छ ।
यस पटक कस्तो नेता छान्नु हुन्छ ?
यस पटक पार्टीलाई सबल, गतिशील र सुदृढ बनाउने नेतृत्व चयन गर्दैछौं । संविधान कार्यान्वयन गर्ने र मुलुकलाई दिगो शान्तिको दिशामा जाने नेतृत्व हामीलाई आवश्यक छ । जिम्मेवारीपूर्ण काम गरेर संविधान कार्यान्वयनका पक्षमा मधेसका जायज मागलाई सम्बोधन गरेर असन्तुष्टलाई सन्तुष्ट बनाउन सक्नुपर्छ ।
पार्टीमा कस्तो नेता चाहिन्छ ?
पार्टीमा वरिष्ठ नेता शेरबहादुर देउवा जस्तो नेतृत्व गर्न सक्ने नेतृत्वको आवश्यकता छ । उनी मुलुकलाई बुझेको, निर्णय गर्न सक्ने, अहिले भएकामध्ये राम्रा नेता हो । अहिले पार्टी र मुलुक दुवैलाई मिलाएर लान सक्नुपर्छ, त्यो क्षमता उनमा छ । ५ वर्षमा उनले नेपाली कांग्रेस पार्टी र नेपाली जनताले चाहेजस्तो नेतृत्व गर्न सक्नुपर्छ । उनले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लान सक्छन् । सकेसम्म पाटीलाई एकताबद्ध गएर लाने प्रयास भइरहेको छ । यदि त्यो हुँदैन भने स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । निर्वाचनमा जानुपर्छ । यसले लोकतान्त्रिक पद्धतिलाई थप मजबुद बनाउँछ । संस्थापन पक्षमा नेतृत्वले कमान्ड नगरेर छिन्नभिन्न भएको देखिन्छ ।
आफ्नो उम्मेदवारीबारे के छ ?
अघिल्लो महाधिवेशनमा म खुलाबाट केन्द्रीय सदस्य भएको हुँ । साथीहरूसँग सम्पर्क गरिरहेको छु । र, सबै साथीहरूले आफूलाई तयार गर्नु होस् भनेर सुझाव दिइरहेका छन् । उनीहरूकै सल्लाह र सुझावअनुसार यस पटक उम्मेदवारी दिन्छु ।
देउवा पक्षमा सभापतिको त टुंगो भयो, तर अहिलेसम्म महामन्त्री को उठ्ने भन्ने निर्णय भएको छैन नि ?
हामी छलफलमै छौं । छिटै टुंगो लाग्छ ।
पार्टीमा पदाधिकारी संख्या बढाउनुपर्ने कारण छ ?
यो अहिले असान्दर्भिक देखिन्न । पार्टीको विधान संशोधन नगरी हामीले गाउँ/नगर, जिल्ला र क्षेत्रको निर्वाचन गरेका छौं । यो पुरानो विधान लागू भएको ५ वर्ष भयो । यसलाई कार्यान्वयन गर्नुपर्छ । हामीले पार्टीलाई गतिशील बनाउनुपर्छ । केही व्यक्तिको मुख हेरेर विधान संशोधन गरेर पदाधिकारीका लागि पद थप्दा त्यसले पार्टीलाई अनिर्णयको बन्दी बनाउँछ ।

प्रकाशित : फाल्गुन १७, २०७२ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×