कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन वर्षमा ४ सय मिटर धावनमार्ग

ओखलढुंगा — खिजीचण्डेश्वरी–८ मा थालिएको विमानस्थल निर्माणको काम सुस्त भएको छ । जम्मा ९ सय मिटर धावनमार्ग खन्नुपर्नेमा तीन वर्षमा ४ सय मिटर मात्र खनिएको छ । पहिलो चरणमा ४ सय मिटर खनिसकेपछि हाल दोस्रो चरणको ठेक्का लागेको छ ।

पहिलो चरणको काम भने स्थानीय उपभोक्ता समिति र च्याङविला कन्स्ट्रक्सनले गरेको हो । करिब २ करोड १० लाख बराबरको काम सम्पन्न भएको च्याङविलाको प्रतिनिधि पुष्प पोख्रेलले बताए । धावनमार्गको चौडाइ ४० मिटर रहेको छ । नागरिक उड्डयन प्राधिकरणले थप काम गर्ने जिम्मा पूर्णिमा कन्स्ट्रक्सनलाई दिएको जनाइएको छ ।
सुरुमा अनियमितता, जग्गा विवादलगायतले ढिला भए पनि हाल विवाद नरहेको स्थानीयले बताए । ‘जुन गतिमा काम हुनुपर्ने हो । त्यो गतिमा चाहिँ काम भएका छैन ।’ स्थानीय देवीध्वज सुनुवारले भने, ‘यही गतिको कामले चाहिँ दस वर्षमा पनि काम सकिएलाजस्तो छैन ।’ खिजीचण्डेश्वरी विमानस्थल निर्माण सम्पन्न भएमा जिल्लाको पश्चिमी गाविससँगै रामेछापका केही गाविसलाई समेत सहज हुनेछ ।
सडक सुविधा गाउँमै पुगेपछि पनि स्थानीयले विमानस्थल निर्माणका लागि दबाब दिन कम गरेको सरोकारवालाले बताए । क्षेत्रीय हिसाबले विमानस्थल आवश्यक भए पनि भौगोलिक हिसाबले विमानस्थल सञ्चालन गर्न केही समस्या हुने अनुमान गरिएको छ । फागुन, चैत, वैशाखमा अत्यधिक हावा चल्ने, जेठ, असार, साउनमा पानी पर्ने र बाँकी महिनामा हुस्सु लाग्ने भएकाले पनि भौगोलिक रूपमा विमानस्थल सञ्चालन गर्न गाह्रो हुने अनुमान गरिएको हो । ‘राज्यले विमान सेवालाई सस्तो र सहज बनाउन सकेमात्र विमानस्थलको महत्त्व बढ्ला,’ एक स्थानीयले भने ।

प्रकाशित : माघ २६, २०७२ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?