कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुष विदेशतिर, महिला खेततिर

नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी
जितेन्द्र साह

विराटनगर — हाटखोलामा जारी नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनीमा सहभागी किसानमा ८० प्रतिशत महिला छन् । मुलुकभरका २ सय ५० किसानले राखेको ९० स्टलमध्ये अधिकांशको नेतृत्व महिलाले गरिरहेका छन् ।

१ हजार २ सय ५० थरीका कृषिजन्य उत्पादन बिक्रीका लागि राखिएको प्रदर्शनीमा सहभागी धेरैजसो शिक्षित गृहिणीबाट किसान बनेकाहरू पाइएका छन् । ‘पुरुष विदेसिँदा, जागिर र व्यवसायमा लाग्दा कृषिमा महिला बढेका हुन्,’ तारा रिजालले कान्तिपुरसँग भनिन् । मोरङको कोसी हरैंचा–८ की कृषक उनले पनि प्रदर्शनीमा एउटा सिंगो स्टल सम्हालिरहेकी छन् । श्रीमान् यातायात व्यवसायमा व्यस्त रहने हुनाले आफूले घर र खेत दुवैतिरको अभिभारा निभाएको उनले बताइन् । 

विषादीको असर र प्रांगारिक मलको सकारात्मक प्रभावबारे यहाँ आउनेलाई जानकारी दिइरहेको रिजालले बताइन् । ‘विषादीको एकदमै कम प्रयोगमा जोड दिन्छौं,’ उनले भनिन्, ‘कम्पोस्ट र घरायसी विषादीबाट उत्पादन गर्छौं ।’ किनेर ल्याएको गड्यौलालाई घर र बारीभित्रै उत्पादित कुहिएको झारपात, गोबर र फलफूलको बोक्रामा छाडिन्छ । उनीहरूकै दिसा प्रांगारिक मलको रूपमा प्रयोग हुने गरेको रिजालले बताइन् । 
यो मेलामा सुगमदेखि दुर्गमसम्मका किसान सहभागी छन् । जुम्ला चन्दननाथ–१५, गैरागाउँबाट सात दिनको यात्रापछि शंकुबहादुर खत्री र उनकी पत्नी बिजुली यहाँ आइपुगेका हुन् । उनीहरूले ल्याएको संसारको उच्चतम स्थलमा फल्ने जुम्लाको काली–मासी धान मुख्य आकर्षण बनेको छ । सामान बेच्न र बजार बढाउन यहाँ आएको बिजुलीले बताइन् । ‘म त सहयोग गर्ने मात्र हो, सम्पूर्ण किसानी काम श्रीमती र परिवारजनले हेर्छन्,’ शंकुबहादुरले भने । 
जुम्लाको ३२ हजार वर्गमिटरको निजी फार्ममा स्याउ, जडीबुटी, सिमी, आलु, ओखर र ५० लाख रुपैयाँ प्रतिकिलो बिक्री हुने काश्मीरी केशर उत्पादन गरिरहेको बिजुलीले बताइन् । उनीहरूले करिब २० मुरी आफ्नै जग्गामा धान उत्पादन गर्छन् । दुई छोरा, दुई बुहारी र एक छोरीले कृषिकर्ममा सहयोग गरिरहेको खत्री दम्पतीले बताए । 
शिक्षा, जागरुकता र श्रम गर्ने स्वभावका कारणले पनि खेतीपातीमा महिलाको पकड बढ्दै गएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका अधिकृत ह्दयराम पोखरेलले बताए । ‘महिला किसान समूह प्रशस्तै आएका छन्, तर पुरुष किसानको अधिकांश स्टलमा समेत सहयोगी भूमिकामा महिला देखिन्छ,’ उनले भने ।
किसानलाई प्रांगारिक खेतीतिर लाग्न प्रोत्साहित गर्नु यस मेलाको मुख्य उद्देश्य भएको उनले बताए । स्वास्थ्यकर हुने हुनाले किसानलाई यस्तो मल उत्पादन गर्न सरकारले सहुलियत प्रदान गरिएको पोखरेलले जानकारी दिए । किसानले निवेदन दिएर जिल्ला कृषि कार्यालयमार्फत प्रतिकिलोग्राम १० रुपैयाँ अनुदानमा गड्यौला पाउँछन् । एक किलो गड्यौलाको बजारमा १६/१७ रुपैयाँ पर्छ । किसानलाई ६ प्रतिशत ब्याजमा ऋण, कृषियन्त्र एवं औजारमा २५ देखि ५० प्रतिशत छुट, सुन्तला र जुनारलगायतको बोटमा ५० प्रतिशत छुट दिइएको उनले औंल्याए । प्रदर्शनी हेर्न आउनेमा कृषिका विद्यार्थी र त्यसमा पनि छात्रा बढी छन् । सुनसरी–८, चिमरीकी रुक्माकुमारी पण्डितले ‘व्यावहारिक कक्षा’ मा आएको जस्तो अनुभव भएको बताइन् । पहिलोपटक यस्तो मेलामा आएको बताउने उनी मोरङको सिसमनी जहदास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा कृषि विषय पढ्छिन् । राम्रो किसान बन्ने लक्ष्य राखेको हुनाले यस्तो प्रदर्शनीबाट ज्ञान बढ्ने पण्डितले बताइन् । ‘पहिलोपटक किवी फल र भुइँ ऐंसेलु हेरेँ,’ उनले भनिन्, ‘पुस्तकमा पढेको कुरा यहाँ प्रत्यक्ष हेर्न पाएँ ।’
आइतबारदेखि सुरु भएको यस प्रदर्शनीलाई बुधबारसम्म १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका अनुसार यहाँ दैनिक साढे तीनदेखि ५ लाख रुपैयाँसम्मको कृषिजन्य उत्पादनको बिक्री भइरहेको छ । मुलुकभरिका किसानका लागि आफ्नो उत्पादनको हकमा यहाँ बजार विस्तार गर्ने यो प्रदर्शनी एउटा राम्रो अवसर भएको सहभागीहरूले बताए । मधेस आन्दोलन मत्थर भएदेखि विराटनगरको बजारमा भीड बढ्नुका साथै जनहितका यस्ता आयोजना र प्रदर्शनीले गति लिन थालेको छ । यो प्रदर्शनी तीमध्ये एक हो । यस मेलाको उदघाटन नहुँदै आइतबार बिहानदेखि आगन्तुक आउन सुरु हुनुले जनतामा छाएको उत्साहलाई देखाएको स्थानीयले बताए । 

प्रकाशित : माघ २६, २०७२ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?