भ्रमणका लागि भ्रमण- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

भ्रमणका लागि भ्रमण

देवेन्द्र भट्टराई

नेपाली राजनीतिक र सामाजिक वृत्तमा यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणको चर्चा सबैभन्दा बढी सुनिन्छ । यतिसम्म कि प्रलयकारी भूकम्पपछि नाकाबन्दीको आततायी चरणबाट गुज्रिएको नेपाली समाज अब प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणलगत्तै सबै झैझमेलाबाट मुक्त भैहाल्छ भन्ने नचाहिंँदो भ्रम राजनीतिक वृत्तबाटै बाँड्न थालिएको छ ।

‘नाकाबन्दी नखुली र द्विदेशीय स्थिति सहज नभैकन भारत जान्न’ भन्ने अडान लिएर बसेका प्रधानमन्त्री ओली चिरपरिचित वीरगन्ज–रक्सौल नाकाबाट ५/७ वटा ट्रक वारपार हुनासाथै निकै आशावादी बनेको संकेत बाहिर आइसकेको छ । यतिखेर दिल्ली भ्रमणको तिथि निर्धारण गर्न र औपचारिकता पुरा गर्न द्विदेशीय कूटनीतिक संयन्त्रभन्दा ओलीको ‘हतारो’ लोभलाग्दो देखिएको छ । अहिलेसम्मको तालिकामा प्रजातन्त्र दिवसको फागुन ७ (फेब्रुवरी १९) शुभसाइत पनि दिल्ली दौडाहाको बीचमा परेकाले प्रधानमन्त्री ओलीका निम्ति नाकाबन्दीको अडानपछि यो भ्रमण साइतसमेत अर्को अप्ठ्यारोमा पार्ने मुद्दा बन्ने देखिन्छ । 
प्रधानमन्त्री ओली स्वयम् र उनको निर्दिष्ट सहयोगी घेराले ‘भारत नभए चीन’ भन्दै चाकाचुली रणनीतिमा बुनिरहेको सम्बन्धको आयामले पनि दिल्लीमा अनौठो प्रतिक्रिया उब्जाइरहेको छ । दक्षिणका नाका थुनिएपछि मात्रै उत्तरका नाका खोल्न हतारिँदै दौडिएको हालसालैका दृश्यहरू अझै पनि ‘प्राक्टिकल’ देखिनसकेका छैनन् । इन्धन आपूर्ति लगायत व्यापार सम्झौताको उपाय खोज्न काठमाडौंबाट बेइजिङ पठाइएका परराष्ट्र मन्त्री कमल थापाको ‘हातलागी’ पनि थाहा पाइसकेको दिल्लीले यसको ‘प्रतिक्रिया’ पनि चर्को संकेतसहित दिइसकेको छ । पृष्ठभूमिमा हेर्ने हो भने थापाको विगतको दिल्ली भ्रमण पनि कूटनीतिक समझदारी र सहमति पहिल्याउने मामलामा असफल सावित भैसकेको छ । 
त्यसो त थापाका लगातारका दिल्ली भ्रमणका ‘प्रतिबद्धता र उपलब्धि’बीच कुनै तारतम्य नदेखेपछि यसपटक भारतीय विदेश मन्त्री सुषमा स्वराजका तर्फबाट नेपालका अर्थमन्त्री विष्णु पौडेललाई दिल्ली भ्रमणको निम्तो दिइएको छ । कूटनीतिक संकेत बुझ्ने हो भने पदीय समकक्षता र प्रोटोकलका हिसाबमा पनि प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको पूर्वतयारीमा परराष्ट्र मन्त्री थापा दिल्ली आउनुपर्ने हो, तर त्यसो भैरहेको छैन । यसको स्पष्ट अर्थ, हाम्रो कूटनीतिक संयन्त्रलाई जानाजानी पन्छाइएको र अस्वीकार गरिएको संकेतसमेत हो । यस पटक एमाले पार्टीकै नेता एवं ओलीका विश्वास पात्रका आधारमा पौडेल दिल्लीमा सूत्रधार बनेर आउन लागेका हुन्, यसमा कूटनीतिकभन्दा राजनीतिक संयन्त्रले काम गरेको देखिन्छ । 
चार महिनादेखि जारी मधेस आन्दोलन र मामलालाई सम्बोधन गर्न संविधानका दुई धारा संशोधन गरिएको परिणाम पनि अझै भनेजस्तो सुखद देखिनसकेको छैन । सीमांकन सहितको मुख्य एजेन्डामा सम्बोधन नभएको भन्दै ‘सन्तुष्ट हुन नसकिने’ प्रतिक्रिया दिएको मधेसी मोर्चा अबको संघर्षबारे आफैंभित्र अन्तरद्वन्द्व बेहोरिरहेको अवस्थामा छ । यसको नतिजा हो— मोर्चाका कुनै नेता विहार र उत्तर प्रदेशतिर मधेस आन्दोलनको समर्थन जुटाउन कुदिरहेका छन् भने कोही काठमाडौंमै वार्ताका सर्त र माहोल रोजिरहेका छन् । यसबेला परराष्ट्र मन्त्री भैसकेका मधेसी मोर्चाका जिम्मेवार नेताहरू विहारमा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवका सामु नतमस्तक भएर संवाद गरिरहेको तस्वीरले सामाजिक सञ्जाल भरिएको छ । यो मण्डलीमा परराष्ट्र मन्त्री भैसकेका जिम्मेवार नेता उपेन्द्र यादवसमेत मन्द मुस्कानसहित नेता लालुको प्रवचन सुनिरहेका देखिन्छन् । यो तस्वीरलाई ट्याग गर्दै ओली सरकारका परराष्ट्र मन्त्री कमल थापाले ट्विट गर्दै भनेका छन्, ‘यो तस्वीर देख्दा कुनै पनि स्वाभिमानी नेपाली खुसी हुनसक्दैन ।’
परराष्ट्र मन्त्री थापाले यति सम्बोधन गरिसकेपछि भन्नैपर्ने हुन्छ— यो तस्वीरले अबको मधेसी मोर्चाको रणनीति, मधेस आन्दोलन अथवा प्रधानमन्त्री ओलीको आसन्न भ्रमणसम्मको ‘कनेक्सन’लाई तान्ने निश्चित छ । ‘रेसिप्रोकल’ बनेर हेर्ने हो भने नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि सन् २०१० को अप्रिल पहिलो साता त्यसबेला पनि विहारमा मुख्यमन्त्री रहेका नितिश कुमारले काठमाडौं भ्रमण गर्न चाहेको सन्दर्भ सम्झनुपर्ने हुन्छ । तत्कालीन परराष्ट्र मन्त्री सुजाता कोइरालाको निम्तोमा नेता गिरिजाप्रसादको अन्तिम संस्कार समारोहमा अतिथि बनेर जानलागेका मुख्यमन्त्री नितिशले स्वभावत: केन्द्र सरकार (दिल्ली) को अनुमति लिनैपर्ने हुन्थ्यो । तर तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले काठमाडौं जाने अनुमति नदिएपछि मुख्यमन्त्री नितिश थन्किएर बसेका थिए ।
अब विहार परिदृश्यमा जोडिँदै पूर्वपरराष्ट्र मन्त्री यादवसहितका वरिष्ठ नेताहरू मुलुकको आन्तरिक/राजनीतिक मामलामा बहस गर्न हाकाहाकी अन्यत्र पुगेको स्थितिमा ओली सरकारले ‘सामान्य चासो’ राख्ने कि नराख्ने ? परराष्ट्र मन्त्री थापाले ट्विट गर्दै स्वाभिमानको तर्क पेस गरेर ‘आफू भने सही छु’ भन्ने देखाइरहने कि साँच्चै कूटनीतिक परिपाटी र नियमसम्मत पद्धतिको कुरा गर्ने ? अचम्म के छ भने न प्रधानमन्त्री ओली अथवा न परराष्ट मन्त्री थापाले मधेसी मोर्चा नेताहरूको अनौठो हर्कतबारे कहीं कतै सरोकार नराख्ने निश्चित छ । किनभने यसो भएमा आसन्न भनिएको दिल्ली भ्रमण फेरि रोकिन सक्ने स्थिति आइपर्न सक्छ । 
अहिले प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणलाई लिएर साउथ–ब्लकमा र नेपाल मामलामा सरोकार राख्ने कूटनीतिक वृत्तमा एउटै जिज्ञासा छ, ‘ओली राजनीतिक भ्रमण चाहन्छन् अथवा द्विदेशीय सम्बन्धको सहजीकरण भ्रमण ?’
अडानकै कुरा गरिरहने हो भने कुनै प्रश्नको जवाफ आउनै नसक्ने घडीमा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण हुनलागेको छ । किनभने न ओली अडानझैं नाकाबन्दी खुलेको स्थितिमा भ्रमण हुनलागेको छ, न यसअघि सम्बोधन गर्ने भनेर प्रतिबद्धता जनाइएका मधेसी मुद्दाहरू सम्बोधन भैसकेकै अवस्था छ । न नेपाललाई भारतले सहयोग गर्नसक्ने ठूला (राष्ट्रिय प्राथमिकता) परियोजनाको छनोट हुनैसकेको छ, न गतवर्ष भारतले दिएको १ करोड डलर सहुलियत ऋण उपयोगको खाका बन्नसकेको छ । 
नेपाल–भारत सम्बन्धमा पुनव्र्याख्या र परिमार्जन खोज्न गठित विज्ञ समूहको उपयुक्त छनोट ओली सरकारको एउटा आसलाग्दो प्रयत्न थियो । तर भारतसँगको अहिलेका एजेन्डा, द्विपक्षीय सरोकार र हाम्रो प्राथमिकता निर्धारण गर्ने मामलामा स्वयम् प्रधानमन्त्रीले अझैसम्म यो विज्ञ समूहलाई समय दिन भ्याएका छैनन् । यो विज्ञ समूहको औपचारिक बैठकसमेत बस्नसकेको छैन भने प्रधानमन्त्रीका आसेपासेहरू ‘ओली भारत नगए चीन जाने’ भन्दै मुसो–बिरालो बोलीमै रमाइरहेका छन् । 
यसकारण पनि ओलीले आन्तरिक राजनीतिक मामला घरभित्रै सुल्टाएर दिल्ली दौडाहामा निस्कनु अर्थपूर्ण हुनेछ । अन्यथा दिल्ली भ्रमण विशुद्ध ‘राजनीतिक’मात्रै बन्नेछ । त्यसपछि पनि नाकाबन्दी कि यताबाट, कि उतैबाट लागिरहने स्थिति कायमै रहनेछ । यो भमणका लागि हुने भ्रमणको कुनै तुक रहने छैन । 

 

 

प्रकाशित : माघ २०, २०७२ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

घट्दो तेलको मूल्य र हाम्रा अवसर

डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं — भर्खरै बैंक अफ जापान, जापानको केन्द्रीय बैंकले ऋणात्मक व्याजदर नीति अवलम्बन गर्ने घोषणा गरेको छ । उक्त नीति आउँदो फेब्रुअरी १६ देखि लागु हुँदैछ ।

हुन त यसभन्दा अघि युरोपियन केन्द्रीय बैंक (ईसीबी), डेनमार्क, स्वीडेन र स्वीट्जरल्यान्डले पनि यस प्रकारको मौद्रिक नीति लागु गरिसकेका छन् । २०१४ जुनमा नै युरोपियन केन्द्रीय बैंकले ऋणात्मक व्याजदर नीति अवलम्बन गरेको थियो ।

ऋणात्मक व्याजदर नीतिको अर्थ हुन्छ– वाणिज्य बैंकहरूले केन्द्रीय बैंकमा बचत गर्दा केन्द्रीय बैंकलाई व्याज दिनुपर्छ । राख्नुपर्ने अनिवार्य मौज्दातभन्दा बढी राखेमा वाणिज्य बैंकहरूले केन्द्रीय बैंकलाई व्याज तिर्नुपर्छ । वाणिज्य बैंकहरूले केन्द्रीय बैंकमा बचत नगरी कर्जा प्रवाह बढाउन दबाब दिन यस्तो प्रकारको नीति अवलम्बन गरिन्छ ।

अर्थतन्त्रमा प्रभावकारी मागको अभाव र विश्वव्यापी रूपमा तेलको मूल्यमा आएको कमीका कारण मूल्यवृद्धि नकारात्मक नहोस् भन्नका लागि केन्द्रीय बैंकहरूले गैरपरम्परागत मौद्रिक उपायको रूपमा ऋणात्मक व्याजदरको नीति अवलम्बन गर्न सुरु गरेका छन् ।

अहिले विश्वमा मागमा शिथिलता तर उच्च आपूर्तिका कारण कच्चा तेलको मूल्य घट्दै गएको छ । २००८ जून महिनातिर १४५ अमेरिकी डलर प्रति—व्यारेलसम्म पुगेको तेलको मूल्य अहिले घटेर ३० अमेरिकी डलर प्रति—व्यारेलको आसपासमा रहेको छ ।

मूल्य बढ्दा यस क्षेत्रमा ठूलो लगानी भई हाल उत्पादनमा आइरहेकोले आपूर्ति उच्च छ भने चीन लगायतका उदीयमान देशहरूको आर्थिक वृद्धिमा शिथिलता आएकोले माग बढ्नसकेको छैन । यसले गर्दा मुद्रास्फीति नकारात्मक हुने स्थितिले गर्दा विकसित देशका केन्द्रीय बैंकले नरम मौद्रिक नीति अवलम्बन गरेका छन् ।

यस्तो नरम मौद्रिक नीतिले ती देश लगायत अन्य देशमा समेत आर्थिक गतिविधि बढ्ने र श्रमको माग बढ्ने सम्भावना हुन्छ । यसले नेपालजस्तो श्रम निर्यात गर्ने देशलाई श्रमको माग बढी विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढ्ने देखिन्छ ।

नेपालमा हालका वर्षहरूमा उच्च विप्रेषण आप्रवाहले गर्दा निक्षेप संकलन बढिरहेको छ । फलस्वरूप व्याजदर ओरालो लागिरहेको छ । यसरी कम व्याजदरमा लगानी योग्य साधनको उपलब्धता र पेट्रोलियम पदार्थको मूल्य घटिरहँदा नेपालजस्तो देशका लागि विकास निर्माणका कार्य दु्रततर गतिमा अगाडि बढाउने सुनौलो अवसरको रूपमा रहेको छ ।

नेपाल राष्ट्र बैंकसँग २०७२ मंसिर सम्ममा झन्डै आठ अर्ब अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ, जसलाई आर्थिक विकासको लागि आवश्यक पँुजीगत वस्तुहरू आयातमा प्रयोग गर्न सकिन्छ । तर सदैव राजनीतिक कचिंगलमा रहिरहने प्रवृत्तिले गर्दा विकास निर्माणका कामले गति लिनसकेको छैन ।

अहिले त झन् नेपालले अनावश्यक रूपमा नाकाबन्दीको सामना गर्नु परिरहेको छ । यसले गर्दा आर्थिक वृद्धिदर मात्र न्युन हुने होइन, आर्थिक–सामाजिक अस्तव्यस्तता पनि सिर्जना भएको छ ।

अन्य देशमा मूल्य घट्ने प्रवृत्ति रहे पनि नेपालमा आपूर्तिको व्यवधानले गर्दा दुई अंकमा मूल्यवृद्धि पुगेको छ । २०७२ कात्तिक र मंसिरको औसत मूल्य वृद्धिदर १०.४ प्रतिशत र ११.६ प्रतिशत रहेको छ ।

तेलको मूल्य सधैं घट्दैन । केही समयसम्म न्युनतम दरमा पुगेपछि यसको मूल्य बढ्न थाल्नेछ । अहिले मूल्यमा ठूलो ह्रास आएकोले साना तेल उत्पादन गर्ने कम्पनीहरू घाटामा गइरहेका छन् । मूल्य झर्ने क्रम निरन्तर रहेमा उनीहरू टाट पल्टने निश्चित छ । ठूला कम्पनीहरूले पनि घट्दो मूल्यको कारण तेल उत्पादनमा लगानी घटाउँदै गएका छन् ।

यसले गर्दा केही समयपश्चात आपूर्ति घट्ने निश्चित छ । फलस्वरूप तेलको मूल्य बढ्ने देखिन्छ । तसर्थ नेपालले अहिले उपलब्ध सुनौला अवसर गुमाइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेका बेला भौतिक पूर्वाधार निर्माण खर्च र औद्योगिक उत्पादन खर्च कम हुन्छ ।

यही बेलामा तीव्र रूपमा जलविद्युत आयोजनाहरू र सडक निर्माणका काम हुनसक्ने हो भने ऊर्जा संकट हट्ने, अर्थतन्त्रको उत्पादन क्षमता बढ्ने र देशको परनिर्भरता कम हुने थियो ।

अर्कोतर्फ जापान, युरोप लगायतका देशहरूले ऋणात्मक व्याजदर नीतिले गर्दा लगानीको लागि स्रोत र साधन उपलब्ध हुने देखिन्छ । विकासको चरम सीमामा पुगेका त्यस्ता देशहरूमा
थप गर्नुपर्ने विकासका काम कम भइरहेको अवस्थामा त्यस्तो साधन नेपालजस्तो विकासशील देशहरूमा प्रवाह हुनसक्छ ।

नेपालमा लगानीको राम्रो वातावरण हुने हो भने लगानी योग्य ठाउँ नपाएर निष्क्रिय रहेको विकसित देशको पुँजी वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन सक्थ्यो । यसले नेपाली अर्थतन्त्रमा पुँजीसँगै प्रविधि भित्र्याउँदै बजार विस्तारमा पनि सहयोग पुर्‍याउँथ्यो ।

तर दुर्भाग्य– लामो प्रतीक्षापछि नेपालले गणतान्त्रिक र संघात्मक संविधान पाए पनि संघीयतासँग सम्बन्धित सीमांकनको मुद्दामा देश अल्झिएको छ । २०४७ सालपछि भएका राजनीतिक परिवर्तनका आन्दोलनमा समेत नभएको नाकाबन्दीको अवस्था नेपालले अहिले भोगिरहेको छ ।

सीमामा नाकाबन्दी सुरु भएको पाँच महिना पुगिसक्यो, अझै टुंगो लाग्ने देखिँदैन । यसले के देखाउँछ भने नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि नेपालीहरू सदैव गरिब देशको नागरिक भएर बाँच्नुपर्ने स्थिति रहेको छ । नेपालीले विकास भोग्न नपाउने हुन् कि जस्तो देखिएको छ ।

१५ घन्टाको लोडसेडिङ, पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको अभावमा नेपालीहरू बाँच्नुपर्ने अवस्था छ । के नेपालीले सम्पन्न जीवन जिउन पाउनु हुँदैन ? के आधारभूत आवश्यकताका वस्तुहरूको अभावै झेलेर नेपालीहरूले दिन बिताउनुपर्छ ?

गत बैसाख १२ गतेको विनाशकारी भूकम्पको चपेटामा देश परेको अवस्थामा नाकाबन्दीले थप मार सिर्जना गरेको छ । युद्धस्तरमा गर्नुपर्ने पुनर्निर्माणका कामसमेत यसल गर्दा प्रभावित भएका छन् । भूकम्प पीडितहरू खुला आकाशमुनि दयनीय एवं कठिन जीवन बिताइरहेका छन् । यस्तो अवस्थामा पनि संघीय सीमांकनको मुद्दामा देश जलिरहेको छ ।

साम्प्रदायिक भावना फैलाउने कोसिस भइरहेको छ । बालबालिकाहरू शिक्षाबाट बञ्चित छन् । आवश्यक औषधीमूलो नपाउने स्थिति सिर्जना भएको छ । आगामी दिनमा राजनीति गर्नु नै छैन भनेझैं गरेर केही दलहरूले संघीय सीमांकनमा अडान लिएको पाइन्छ । यसले गर्दा कतै नेपालमा संघीयताको औचित्य नै छैन कि भन्ने प्रश्नचिन्ह उठाएको छ ।

आर्थिक समृद्धि हासिल गर्दै जाने हो भने अहिले उठेका कतिपय राजनीतिक मुद्दाहरूको औचित्य आफैं सकिँदै जाने देखिन्छ अर्थात राजनीतिक मुद्दाहरूको किनारा लाग्न सक्छ ।

तर राजनीतिक समस्या हल गर्ने र आर्थिक विकासका काममा लाग्ने सुनिश्चित वातावरण कहिल्यै बन्न सकिरहेको छैन । यसले गर्दा काम गरेर हातमुख जोर्ने ठूलो तप्काका नेपालीहरू सदैव त्यही अवस्थामा बाँचिरहनुपर्ने स्थिति छ, जुन नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।

आर्थिक समृद्धिका लागि अहिले बाह्य अवस्था अनुकूल रहेका छन् । तर आन्तरिक राजनीतिक द्वन्द्वले गर्दा नेपालले अमानवीय नाकाबन्दी समेत व्यहोर्नुपरेको छ । यसले कछुवाको गतिमा भइरहेको विकास निर्माणलाई पनि ठप्प पारेको छ । दैनिक जीवनचर्या सञ्चालन गर्न कठिन भएको छ ।

यो सबै प्रतिकूल अवस्थालाई चिरेर हामी अगाडि बढ्नैपर्छ, यदि आर्थिक समृद्धितिर लाग्ने हो भने । किनभने अहिलेजस्तो अनुकूल बाह्य वातावरण सदैव प्राप्त हुँदैन ।

 

प्रकाशित : माघ २०, २०७२ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×