कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किन अस्वीकार गरे सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मन्त्री पद ?

अर्जुन शाह

धनगढी — सरकारमा सामेल नहुने भन्दै अड्को थापिरहेको एमाले सरकारमा सहभागी हुन सहमत भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

किन अस्वीकार गरे सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मन्त्री पद ?

मुख्यमन्त्री नियुक्त भएको ५२ दिनपछि सोडारीले पाँच बिनाविभागीयसहित सात जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । भागबन्डा मिलाउन तीन मन्त्रालय फुटाउने तयारीसहित बिनाविभागीय मन्त्री थपिएको हो ।

सोमबार एमाले र माओवादीबाट तीन/तीन र एकीकृत समाजवादीबाट एक जना गरी सात मन्त्री नियुक्त गरेका हुन् । सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादीका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । त्यसबाहेक बिनाविभागीय मन्त्रीमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एसकी माया पन्तलाई नियुक्त गरिएको हो । यसअघिका नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसहित सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

नवनियुक्त मन्त्रीलाई सोमबार नै प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ६ मन्त्रालय रहेको सुदूरपश्चिममा बिनाविभागीयसहित ९ जना मन्त्री नियुक्त भएका छन् । पाँच जना बिनाविभागीय मन्त्री नियुक्त गरिए पनि आन्तरिक मामिला मन्त्रालय मात्रै खाली छ । अन्य पाँचै मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका छन् । प्रदेशमा भागबन्डा मिलाउन सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विभाजनको तयारी रहेको बताइन्छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त स्वतन्त्र सांसद तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री सोडारीद्वारा सोमबार मन्त्री नियुक्त जोशीले पद अस्वीकार गर्दै शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन् । मन्त्रालय फुटाएर मन्त्री हुन जोशीले अस्वीकार गरेका हुन् । जोशीले भने, ‘मन्त्रालय फुटाउने गरी मन्त्री हुन मन छैन ।’ जबकि सोडारीले सोमबार दिउँसो पाँच जना बिनाविभागीयसहित आठ मन्त्री नियुक्त गरेर शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइसकेका थिए । जोशीलाई विभागसहित मन्त्री तोकिएको थियो । उनले मन्त्री हुन अस्वीकार गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री सोडारी आफैंले राखेका छन् । ६ मन्त्रालय रहेको सुदूरपश्चिममा १० जना मन्त्री बनाउँदा चार वटा मन्त्रालय विभाजनको तयारीमा सरकारको थियो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पनि फुटाउने तयारी रहेकाले आफू मन्त्री हुन अस्वीकार गरेको सांसद जोशीले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×