कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

विद्यार्थीलाई जलवायु परिर्वतन सम्बन्धी सचेतना 

बझाङ — चार-पाँच जना विद्यार्थी साथीको जमघट छ । बिदाको दिन एउटाको घरमा रहेको कुखुरा लगेर जंगलमा पोलेर खाने सल्लाह हुन्छ । उनीहरु कुखुरा लगेर जंगल जान्छन् । पोलेर रमाइलो मान्दै खान्छन् । बालेको आगो ननिभाएरै फर्किन लागेका उनीहरुलाई बीचमा अर्को व्यक्ति प्रकट हुन्छ ।

विद्यार्थीलाई जलवायु परिर्वतन सम्बन्धी सचेतना 

आफ्नो परिचय जंगल भनेर दिने उसले विद्यार्थीहरुलाई यसरी आगो ननिभाएर हिँड्दा जंगलमा डढेलो लाग्ने कुरा सम्झाउँछ ।

डढेलोले जैविक विविधतादेखि भूक्षय र जलवायु परिर्वतनसम्म कसरी भूमिका खेल्छ ? त्यसले मानव जीवनमा कस्ता समस्या पार्छ भन्ने कुरा सम्झाए पछि विद्यार्थीहरु झस्किन्छन् र आगो निभाएर घर फर्किन्छन् । यसैबीच कोही विद्यार्थी पानीमा फोहोर फालिरहेको हुन्छ । म पानी हुँ भन्दै एक जना केटी आएर उनलाई सम्झाउँछिन् ।

पानी फोहोर हुँदा जलीय जैविक विविधता कसरी नासिदैछ र यसले मान्छेलाई कस्तो असर पर्छ भनेर सम्झाए । पछि ती व्यक्ति आफू पनि फोहोर नफाल्ने र अरुलाई फोहोर नगर्न सम्झाउने बाचा गर्छन् । यी दृष्य वास्तविक भने होइनन् । केदारस्यूँ गाउँपालिकाको कैलाश माध्यमिक विद्यालयमा बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेको नाटकको अंश मात्रै हुन् ।

यद्यपि यो नाटक हेरिसके पछि यहाँका विद्यार्थीले बिग्रदै गएको वातावरणमा मान्छेको भूमिका र जलवायु परिर्वतनका असरबारे आफुहरुले छर्लंङ्गै बुझेको बताउँदै वातावरण मैत्री व्यवहार गर्ने बताएका छन् ।

‘हामीले गरेको व्यवहारले गर्दा वातावरणमा समस्या हुन्छ भन्ने त थाहा थियो तर त्यसले हामीलाई कसरी असर पार्छ भन्ने बुझेकी थिइन्,’ कक्षा नौ मा अध्यनरत निर्मला खातीले भनिन्, ‘नाटक हेरिसके पछि सचेत भएर व्यवहार गर्नुपर्ने रहेछ भन्ने बुझें ।’ उनले जंगलमा खेल्नेक्रमा जाँदा जथाभावी रुख काट्ने, फोहोर जथाभावी फाल्ने कामलाई आफुले सामान्य रुपमा लिँदै आएकोमा आइन्दा त्यसो नगर्ने बताइन् ।

विज्ञान क्याम्पससँग मिलेर बझाङमा कार्यरत गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेसनल, दलित सहयोग समाज र एनवाइसीए बैतडीले केदारस्यूँ गाउँपालिकाका विद्यालयमा जलवायु परिर्वतनका कारण, त्यसले मानव समुदायलाई पार्ने असर तथा जलवायु अनुकुलन र न्यूनीकरण सम्बन्धी सचेतना अभियान पछि विद्यार्थीहरु वातावरणलाई असर पर्ने व्यवहारहरु नगर्ने बताएका छन् ।


‘मैले पनि पहिला कति पटक रहरले जंगलमा आगो लगाएको छु । म जस्तै अरुले पनि बिना कारण आगो लगाएको देखेको छु,’ कक्षा १० का विद्यार्थी करन विकले भने, ‘त्यसरी डढेलो लगाउदाा पर्ने असर थाहा पाए पछि मैले ख्यालख्यालमा ठूलो अपराध गरे जस्तो लागेको छ ।’ उनले अवका दिनमा वातावरण संरक्षणका लागि आफ्नो परिवार र समुदायलाई सम्झाउने काम गर्ने बताए ।

केदारस्यूँ गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयका एक हजार २०० बढी विद्यार्थीलाई सहभागी गराएर तीन दिनसम्म चलेको यो अभियानले विद्यार्थी मात्रै नभएर शिक्षक र अभिभावकलाई पनि वातावरणमैत्री व्यवहार गर्न सिकाएको सहभागीहरुले बताएका छन् ।

‘भित्ते चित्र, देउडा गीत, नाटकलगायतका विभिन्न विधि प्रयोग गरेर चलाएको अभियानले धेरैलाई सचेत बनाएको छ,’ कैलाश माध्यमिक विद्यालयका प्रधानअध्यापक नवराज थापाले भने, ‘विद्यार्थीले सिकेको कुरा अभिभावकसम्म पुग्न सक्यो भने यसले यहााको वातावरण संरक्षणमा राम्रो भूमिका खेल्न सक्छ ।’

केदारस्यूँ गाउँपालिका जलवायु जन्य जोखिममा रहेको क्षेत्र पनि हो । २०७७ मा केदारस्यूँको मल्लेसीमा पहिरो जाँदा एकै परिवारका चार जना सहित ६ जनाको ज्यान गएको थियो । २०७८ को बाढी र पहिरोले पनि यहाँ ठूलो भौतिक क्षति भएको थियो ।

‘जलवायु जन्य प्रकोपको जोखिम क्षेत्र भएकोले यो पालिकामा अभियान चलाएका हौं,’ दलित सहयोग समाजका कार्यक्रम संयोजक कुवेन्द्र रोकायाले भने, ‘विद्यार्थीहरु मार्फत समुदायमा सचेतना फैलाउन सके केही परिर्वतन हुन सक्छ कि भन्ने हो ।’ उनले उसै पनि जोखिममा रहेको पालिकाका स्थानीयहरुले वन विनास, वन फाडानी गर्ने, जलस्रोतहरुमा फोहोर मिसाउने, जथाभावी डढेलो लगाउने जस्ता गतिविधि गर्दा जोखिम झन बढ्ने गरेको बताए ।

प्रकाशित : जेष्ठ १२, २०८१ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?