कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

केरा पकाउने चिस्यान केन्द्र बढे, उत्पादन घट्यो

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउँदले डेढ दशकअघि केरा खेती सुरु गरेका थिए । एक कहाँबाट सुरु भएको उनको केरा खेती बिस्तार हुँदै २५ विघासम्म पुग्यो । त्यतिबेला भारतबाट आयात हुने केरा समेत रोकियो । तर अहिले फेरि केरा खेती घट्दै गएपछि भारतबाट आयात हुन थालेको छ ।

केरा पकाउने चिस्यान केन्द्र बढे, उत्पादन घट्यो

५ वर्ष अघिसम्म मात्रै कञ्चनपुरका केरा उत्पादन हुने क्षेत्र ६ सय हेक्टर पुगेको थियो । अहिले घटेर अढाइ सय हाराहारीमा झरेको छ । जसका कारण यहाँ आवश्यक पर्ने केरा भारतबाट आयात हुने गरेको हो । ‘अहिले उस्तै पनि केरा अभाव हुने समय हो, फेरि अहिले त खेती नै घटेको छ,’ केरा उत्पादन कृषक समूहका अध्यक्ष समेत रहेका साउँदले भने, ‘असार साउन सम्मै हाम्रो उत्पादनले पुग्दैन ।’ उनका अनुसार साउनदेखि स्थानीय उत्पादन बजारमा आउने र त्यसपछि बिस्तारै भारतबाट हुने आयात घट्दै जाने छ ।

जिल्लामा केराको उत्पादन बृद्धि भएका बेला यहाँका कृषकहरुले भारतबाट आयत रोक्न आन्दोलन नै गरेका थिए । कृषकहरुले सडकमै केरा फालेका थिए । तर अहिले विभिन्न नाका भएर भारतबाटै केरा आयात भइरहेको छ ।


पछिल्लो समय जिल्लामै टिस्यु कल्चरबाट बिरुवा उत्पादन गर्नेदेखि पकाउनका लागि चिस्यान केन्द्र समेत स्थापना भएका छन् । तर उत्पादन घट्दै गएपछि चिस्यान केन्द्रमा आवश्यकता अनुसार केरा पाइदैन । जसका कारण क्षमता भन्दा आधा मात्रै केरा पकाइरहेका छन् । कञ्चनपुरमा अहिले आधा दर्जन हाराहारी केरा पकाउने चिस्यान केन्द्र सञ्चालनमा छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको अनुदानमा चिस्यान केन्द्र स्थापना भएका हुन् ।

‘दिनमा चार/पाँच सय दर्जन मात्रै पाक्ने गरेको छ,’ कृष्णपुर नगरपालिका–५ गुलरियाका केरा उत्पादक अर्जुन जेठाराले भने, ‘यो पनि भारतबाटै आयात गरिएको हो ।’ उनले करिब ४० विघामा केरा खेती गरेका छन् । तर अहिले उत्पादन भएको छैन ।

कञ्चनपुरमा भीमदत्त नगरपालिका, कृष्णपुर, बेलौरी, पुनर्वास र बेलडाँडीलगायतका क्षेत्रमा केरा खेती गरिन्छ । अहिले जिल्लाभरिमा केराका बिरुवा रोप्ने काम भइरहेको छ । यहाँ जि नाइन प्रजातीका टिस्यु कल्चरबाट उत्पादन गरिएको बिरुवा रोपिन्छ । यस प्रविधिबाट उत्पादन गरिएका बिरुवाले उत्पादन राम्रो दिने कृषकहरु बताउँछन् । विगतमा चितवनबाट नै केराका बिरुवा आउने गरेको तियो । त्यसअघि गानो रोप्ने गरिन्थ्यो । गानो रोपेको बिरुवाबाट उत्पादन भने कम हुन्थ्यो ।

प्रकाशित : जेष्ठ ९, २०८१ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?