कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नागरिकता खोज्दै दुई किशोर जाजरकोटदेखि बझाङ

वसन्तप्रताप सिंह

बझाङ — जाजरकोटबाट आएका हिमांशु भाई रमेश ६ दिनदेखि बझाङमा छन् । नागरिकताको खोजीमा हिँडेका उनीहरुलाई सघाउन जाजरकोटको भेरी नगरपालिकाका न्यायिक समिति सदस्य गौरीबहादुर कार्की र दुई अरु आफन्त पनि सँगै बझाङ पुगेका छन् ।

नागरिकता खोज्दै दुई किशोर जाजरकोटदेखि बझाङ

भेरी नगरपालिकास्थित मावली गाउँ गिमबाट हिँडेको चौथो गत सोमबार जिल्ला प्रशासन कार्यालयमा आएका १९ र १७ वर्षका यी दाजुभाईले शनिबार बुवाको पुर्ख्यौली घर रहेको थलारा गाउँपालिकामा नागरिकता बनाउनका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । यद्यपि उनीहरुको प्रयास सफल हुन नसके पछि कानुनी प्रक्रिया बुझ्न प्रमुख जिल्ला अधिकारी कहाँ आइपुगेका हुन् ।

प्रजिअ विश्वामित्र कुइकेल समक्ष उनीहरुले बझाङको थलारा गाउँपालिका–६ खोलीका भरत भट्टराई आफ्नो बाबु भएको लामो फेहरिस्त दिए । २०५८ सालतिर बझाङबाट भारतको सिमला पुगेका भरतको जाजरकोटकी मंगली कामीसँग विवाह भएको थियो । श्रीमान्को मृत्युपछि मंगली पनि एक आफन्तको साथ लागेर त्यहीँ पुगेकी हुन्छिन् । एउटा कृषि फर्ममा मजदुरको रुपमा काम गर्ने दुवै जना बीच प्रेम हुन्छ । उनीहरु त्यहीँ विवाह गर्छन् ।

हिमांशुकी दिदी हिमानी र भाई रमेशको दुई–दुई वर्षको फरकमा जन्म हुन्छ । ‘कान्छो भाई ६/७ महिनाको हुँदा मालिक (कृषि र्फम) ले यहाँ कामदारहरु कमी भयो । नेपालबाट लिएर आउ भनेर बुवालाई नेपाल पठाएका रहेछन्,’ आमाले सुनाएको भन्दै हिमांशुले भने, ‘कामदार खोजेर ल्याउँछु भनेर हिँडेका बुवा त्यसपछि कहिल्यै फर्किनु भएन ।’ उनले कामदार खोज्न गएका श्रीमान् फर्किने आशामा आमा दुई वर्षसम्म हिमाञ्चल प्रदेशको सिमला अर्न्तगत पर्ने देउरीघाट भन्ने ठाउँमा रहेको त्यही फर्ममा मजदुरी गरेर बसेको बताए । ‘दुई वर्षसम्म बुवा नफर्के पछि फर्मका मालिकले आमालाई दुख दिन थाले छ ।

आमा र हामीलाई पेटभरी खाना नदिने, राति भाग्छन् भनेर हामी बसेको कोठामा ताला लगाइदिने गर्दो रहेछ,’ हिमेशले भने, ‘साह्रै दुख पाए पछि एकदिन आमाले मालिकको आँखा छलेर हामीलाई लिएर त्यहाँबाट भाग्नु भएको रहेछ ।’ उनले त्यहाँबाट भागेर सिमलाकै भुजाली भन्ने ठाउँमा आएको आमाले कृषि मजदुरको रुपमा काम गरेर आफुहरुलाई हुर्काएको बताए । ६ वर्षअघि भुजालीमै मावलीतिरका मान्छेहरु सँग भेट भए पछि उनीहरुसँगै जाजरकोट फर्किएको बताउने हिमांशुसँग आफ्ना बावु भरत भट्टराई भएको बताउने प्रमाण उनको आमाले सम्झना स्वरुप संगालेको एउटा फोटो मात्रै छ । खुम्चिएर किचिमिची भएको तस्बिरमा हिमांशुकी आमा र बुवा भरत छन् । तस्बिरमा उनले सानी छोरीलाई समातेको देखिन्छ । ‘बझाङको थलारा खोलीमा हाम्रो घर छ । हाम्रा पुर्खा सलेनाबाट आएका हुन् । घरमा मेरो एउटा भाई र बहिनी छ’ भनेर भरतले मंगलीलाई दुईदशक अघि सुनाएको ठेगाना र त्यही पुरानो तस्बिर बोकेर उनीहरु नागरिकता पाउने आशामा बझाङ आएका हुन् ।

थलारा पुगेर उनीहरुको आशा निराशामा बदलिए पछि उनीहरु प्रजिअलाई गुहार्न पुगेका हुन् । गाउँपालिकाका जनप्रतिनिधीहरुको समन्वयमा शनिबार गाउँलेहरु बीचको छलफलमा त्यही दौतरीहरुले तस्बिरमा भएको व्यक्ति भरतनै भएको भनेर चिने । कतिले त छोराको अनुहार पनि काटीकुटी बाबुसँग मिल्ने पनि बताए । तर भरतका बुवा गणेश भट्टराई र श्रीमती नन्दाले भने त्यो तस्बिरमा भएको व्यक्ति आफुले नचिन्ने बताउँदै अपरिचितलाई नागरिकता दिन नमिल्ने बताए पछि उनीहरु नागरिकता दिलाई दिन प्रजिअलाई अनुरोध गर्न पुगेको भेरी नगरपालिकाको न्यायिक समितिका सदस्य गौरीबहादुर कार्कीले बताए ।

‘यिनीहरुको अवस्था देखेर दया लाग्यो । नागरिकता दिनका लागि सहजीकरण गर्न सकिन्छ की भनेर आएको हुँ,’ कार्कीले भने, ‘गाउँमा फोटो देखाउँदा भरतका दामलीहरुले चिने तर श्रीमती र बुवाले नै मैले त चिनिनन् । कसरी नागरिकता दिनु भने पछि समस्या भयो । त्यहाँको माहौल बुझ्दा सबैले भरतकै छोराछोरी हुन भन्नेमा सहमत भए पनि जातको कुराले समस्या पारे जस्तो लागेको छ ।’ उनले आमा कामी भएको थाहा पाए पछि गणेशले नागरिकता दिन अप्ठ्यारो मानेको देखिएको बताए ।

भरतकी श्रीमती नन्दा भट्टराईले भने तस्बिरमा भएको मानिस आफ्नो श्रीमान् नभएको बताइन् । ‘फोटो हेर्दा मेरो श्रीमान् हो भन्ने केही पनि आधार मैले देखिन । आफ्नो मान्छे नचिन्ने भन्ने हुँदैन,’ उनले भनिन्, ‘चिन्दै नचिनेको मान्छेका छोराछोरीलाई नागरिकता कसरी दिने ?’ उनले आफ्नो श्रीमान् भरत एक वर्षकी छोरी र आफुलाई छोडेर २०५८ असोजमा भारत गएको भने स्विकार गरिन् । ‘उनको सास वा लास ल्याएर आएको भए छुट्टै कुरा हुन्थ्यो । फोटो देखाएकै आधारमा कसरी नागरिता दिनु ?’ उनले भनिन् ।

यद्यपि थलाराकै एक स्थानीयले भने परिवारका सदस्यले भरतको पहिचान गरे पनि जातको कारणले नागरिकता दिन इन्कार गरेको बताए । ‘फोटो उसैको हो । हामी सबैले चिन्यौं । उनका बुवाले पनि चिने,’ उनले भने, ‘छोराको फोटो हेरेर भावुक भए । तर बाहुन भएर दलितबाट जन्मेका बच्चालाई कसरी स्विकार्नु भनेर फोटो चिन्दैन भनेका हुन् ।’ हिमांशुले दाबी गरे अनुसार भरतको घरमा एक भाई र एक बहिनी रहेको उनले बताए ।

थलारा–६ का वडाध्यक्ष अनिल बिस्टले पनि केहीले तस्बिर चिनेको बताए पनि परिवारले नै नचिनेको भनेका कारण आफुहरुलाई पनि सहजीकरण गर्न समस्या भएको बताए । ‘पालिका अध्यक्ष, उपाध्यक्ष र हामी बसेर यो विषयमा लामो छलफल गरेका हौं,’ बिस्टले भने ‘परिवारका सदस्यले नै चिन्दैनौ भनेर जिद्दी गर्न थाले पछि हामीले जबर्जस्ती गर्न मिलेन । त्यसो भए कानुनी प्रक्रियामा जाउ भनेर पठाएका हौं ।’ भरतको मंगलीसँग विवाह हुनु पूर्व थलारामा पनि विवाह भएको र एक छोरी समेत रहेको उनका बताए ।

हिमांशु र उनका भाई भने आफुहरुलाई नागरिकता बनाई दिए अंश समेत दाबी नगर्ने बताउँछन् । ट्रकमा खलासीको काम गरिरहेका हिमांसुले ड्राइभिङ गर्न पनि सिकेको तर नागरिकता नभएको कारण लाइसेन्स समेत निकाल्न नपाएको बताए । नागरिकता नभएका कारण हरेक ठाउँमा समस्या भोगिरहेका छौं । सिमकार्ड समेत निकाल्न पाएका छैनौं,’ उनले प्रजिअलाई भने, ‘नागरिकता भए पासपोर्ट बनाएर विदेश जाने सोच थियो । इन्डिया जान पनि नागरिकता देखाउनु पर्छ । भाई त्यही कारण रोकिएको छ । बरु अंश चाहिदैन भनेर कागज नै लेखिदिउँला । हामीलाई नागरिकता दिलाई दिनु पर्यो ।’

प्रजिअ कुइकेलले समस्याप्रति आफु गम्भीर रहेको भए पनि पालिकाले नागरिकताको सिफारिस नगरी र आफन्तले सनाखत नगरी नागरिकता दिन नमिल्ने बताए । ‘तपाईहरु अदालती प्रक्रियामा जानुभयो भने यसको निरुपण हुन सक्छ,’ उनले भने, ‘अदालतमा मुद्दा परे पछि डिएनए परीक्षणलगायतका विधीबाट नाता कायम हुन सक्छ । तर विना कुनै प्रमाण हामीले नागरिकता दिन मिल्दैन ।’ उनले कुनै पनि नागरिक नागरिकताविहीन नरहने र मुद्दा हालेमा अदालतले कुनै न कुनै निकास दिने सल्लाह दिए । प्रजिअको सल्लाहपछि नागरिकता दिनका लागि सकेसम्म भरतको परिवारलाई मनाउने र नदिएमा अन्तमा कानुनी उपायको खोजी गर्ने निर्ष्कषमा आफुहरु पुगेको हिमांशु दाजुभाइले बताएका छन् ।

नागरिकता दिलाई दिन जाजरकोटबाट बझाङ पुगेका हिमांशुका भाइ र आफन्तहरु प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेललाई समस्या सुनाउँदै ।

प्रकाशित : फाल्गुन १६, २०८० २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×