कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किसानलाई उखु काट्ने चटारो

एकातिर उखु काटेर चिनी मिलसम्म पुर्‍याउनुपर्ने र अर्कोतिर खेत तयार गरेर उखु रोप्नुपर्ने काममा किसानलाई भ्याइनभ्याइ
भवानी भट्ट

कञ्चनपुर — बेलौरी नगरपालिका–७ टेडियाका सन्तु चौधरीलाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर उखु काटेर चिनी मिलसम्म पुर्‍याउनुपर्ने र अर्कोतिर खेत तयार गरेर उखु रोप्नुपर्ने चटारोले उनलाई छोपेको छ । उनको पूरै परिवार एक महिनादेखि यही काममा जुटेको छ ।

किसानलाई उखु काट्ने चटारो

जिल्लाका बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाडी र लालझाडी गाउँपालिकामा उखु खेती गरिन्छ । यहाँ दुई वटा चिनी मिल स्थापना भएपछि उखु खेतीमा किसानको आकर्षण बढदो छ । उखु खेतीबाटै यहाँका किसानको जीवनस्तर पनि उकासिएको छ ।

धान, गहुँभन्दा बढी फाइदा हुने बिक्रीमा पनि समस्या नहुने किसान बताउँछन् । ‘पूरै परिवार यसमै लागेका छौं, कोही उखु रोप्ने काममा छौं, कोही काटने,’ चौधरीले भने, ‘फागुन/चैतसम्मै यो धुमधाम चल्छ ।’ उनले आफ्नो र अधियाँ गरेर अढाइ बिघामा उखु खेती गरेका छन् ।

मंसिरदेखि चैत पहिलो सातासम्म उखु काटने, छिल्ने र चिनी मिलसम्म पुर्‍याउने काम चल्छ । फागुन चैतमै उखु रोप्ने काम पनि हुन्छ । त्यही भएर किसानलाई अहिले बढी चटारो हुन्छ । उखु काटेपछि मिलमा पुर्‍याउने र तौलने काम गर्न पनि पालो कुर्नुपर्छ । बेलौरी नगरपालिका १० भुडाका टोपबहादुर चन्दले पनि १५ कट्ठामा उखु खेती गरेका छन् । १० कट्ठामा गत वर्ष लगाएको काटेर गोडमेल गर्ने तयारीमा छन् भने ५ कट्ठामा उखु काटेर फेरि लगाएका छन् ।

एक पटक उखु लगाएपछि दुई-तीन पटक उत्पादन लिन मिल्छ । उखु काटेपछि गोडमेल गरेर सिँचाइ र मल हाल्नुपर्छ । ‘चिनी मिल खुलेदेखि नै उखुखेती गर्न लागेका हौं,’ चन्दले भने, ‘धान, गहुँभन्दा त यसमै फाइदा छ ।’

उनीसँग करिब एक बिघा जमिन छ । त्यसमध्ये ५ कट्ठामा धान गहुँ लगाउँछन् भने बाँकीमा उखु खेती । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाका ०६७ मा पुनर्वास नगरपालिकामा ०६९ मा चिनी मिल सञ्चालनमा आएका हुन् । त्यसपछि यस क्षेत्रमा किसान उखुखेतीमा आकर्षित भएका हुन् । उखुखेतीबाटै किसानको जीवनस्तर माथि उठेको छ । ‘फाइदा राम्रो छ, त्यही भएर थोरै जमिन हुनेहरुले पनि उखु लगाएका छौं,’ किसान वृन्दा गिरीले भनिन्, ‘कहिले उखु लगाउँछौं, कहिले धान गहुँ ।’

गिरीको एक बिघा जमिन छ । उनले आधारमा उखु र आधामा धान गहुँ लगाउँछिन् । धान, गहुँ घरमा खान ठिक्क हुन्छ । उखुबाट डेढ/दुई लाखसम्म आम्दानी हुन्छ । त्यसबाट वर्षभरिको खर्च चलाउन सकिन्छ । बेलौरीमा रहेको महाकाली सुगर मिलको क्षमता दैनिक २८ हजार क्विन्टलसम्म उखु पेल्ने हो । तर आवश्यकताअनुसार उखु नपाउँदा दैनिक २०/२२ घण्टा मात्रै चलिरहेको छ । मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने चिनी मिलले फागुन अन्तिम वा चैत पहिलो सातासम्म चल्छ । ‘उखु नपाएर कुनै दिन १२ घण्टा मात्रै मिल चल्छ,’ महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने ।

पुनर्वास नगरपालिकामा रहेको भागेश्वर सुगर मिलको पनि दैनिक २५ हजारसम्म उखु पेल्न सक्ने क्षमता हो । उक्त मिलले पनि क्षमताअनुसार उखु पाउन सकेको छैन । ‘अहिले त उपलब्ध भइरहेको छ, तर छिट्टै सकिन्छ,’ मिलका प्रतिनिधि डम्बर खड्काले भने । दुवै मिलको तथ्यांकअनुसार करिब ७ हजार किसान उखु खेतीमा लागेका छन् । उनीहरुले एक १० हजार हेक्टरमा उखु खेती गरिरहेका छन् । उक्त क्षेत्रमा सञ्चालनमा हरको खाडसारी उद्योगहरुमा पनि ठूलो मात्रामा उखु खपत हुने गरेको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×