कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अनुदानको चामलका गोदाम रित्तै

डीबी बुढा

जुम्ला — जुम्लामा अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन् । चालु आर्थिक वर्षको कोटा अनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तो भएका हुन् ।

अनुदानको चामलका गोदाम रित्तै

वार्षिक ६ हजार क्विन्टल चामल आउने गरेर कोटा तोकिएकोमा सबै चामल आइसकेको छ । तर अब मौज्दातमा भने ५ सय २ क्विन्टल चामलमात्रै छ । अहिलेको माग अनुसार यो चामल एक हप्ता पनि नपुग्ने कम्पनीका लिमिटेडका सहायक लक्ष्मण शर्माले जानकारी दिए ।

प्रतिकेजी २ हजार ३ सय रुपैयाँ पर्ने स्टिम जिरा चामल मात्रै गोदाममा भएपनि पर्याप्त छैन । प्रतिकेजी ९२ रुपैयाँमा यो चामल किनबेच भइरहेको छ । दैनिक ५० देखि ६० जना अनुदानको चामल लिन आउने गरेका छन् । चामलको अवस्था हेरेर एक जनालाई आवश्यकताका आधारमा २५ केजी मात्रै दिने गरिएको उनको भनाइ छ ।

अरुवा मोटा चामलको सबैभन्दा धेरै माग छ । तर त्यही चामल गोदाममा छैन । ग्राहकहरुको मागका आधारमा थप ४ हजार कोटा चामल माग गरिएको छ । थपिएको चामल ल्याउने तयारी भइरहेको सहायक शर्माले बताए । खड्का एण्ड सन कन्ट्रक्सन प्रालिले चामल ओसार्ने जिम्मेवारी पाएको छ ।

थपिएको चामल आउने वित्तिकै चालु आर्थिक वर्षको असार सम्म अनुदानको चामल सेवाग्राहीले सहजै रुपमा पाउनेछन् । स्टिम जिरा, सोना मन्सुली,अरुवा मोटा र अरुवा मध्यम चामल कम्पनीले बेचिरहेको छ । तर अहिले यी जातका कुनै पनि चामल गोदाममा छैन ।

जुम्लामा राजापुर,नेपालगञ्ज र सुर्खेत देखि चामल आउने गरेको छ । धेरै गुणस्तरको र बजारमुल्य भन्दा कम मुल्यमा पाइने भएकोले सेवाग्राहीहरुको घुइचो पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको कार्यालयमै लाग्ने गरेको छ ।

जुम्ला सदरमुकाम खलंगामा रहेको कम्पनीको कार्यालयसंगै जुम्लाकोट र धापा डिपो पनि खाली छन्। यि डिपोहरुमा लामो समय देखि चामल बेच्ने काम भइरहेको छैन् । चालु आर्थिक वर्षमै २ सय ७६ क्विन्टल ५० केजी चामल जुम्लाकोट डिपोले बेचेको थियो । ३ सय ४० क्विन्टल चामल धापा डिपोले बेचेको हो । पातरसांघु र बाजागाड बिक्रि केन्द्रबाट ७ सय क्विन्टल चामल बिक्रि भएकोमा अहिले खाली नै छन् । लुम बिक्री केन्द्रबाट चामल नै किनबेच भइरहेको छैन ।

सबैभन्दा बढि पातारासी र सबैभन्दा कम चामल सिंजा,हिमा,कनकासुन्दरी र तिला गाउॅपालिकामा जाने गरेको खाद्य व्यवस्था कार्यालय जुम्लाले जनाएको छ । 'चामलको माग अधिक छ । गोदाममा चामल छैन्,' सहायक शर्माले भने, ‘ढिलो गरी चामल आयो भने त संकट नै आइपर्ने देखिन्छ ।’ विपद् र कुनै घटना घटिहालेको खण्डमा उपलब्ध गर्नुपर्ने चामल पनि नरहन सक्ने स्थिति रहेको उनले बताए ।

सुलभ मुल्यको कम्पनीको चामल खाइरहेको जुम्लाबासी एकाएक चामल अभाव संगै बजारको महंगो चामल उपभोग गर्न बाध्य छन् । थपकोटाको चामल तत्काल ढुवानी गरेर ल्याउन जुम्लाबासीले माग गरेका छन् । अहिले सदरमुकाम खलंगामा सस्तो कम गुणस्तरको चामल न्युनतम २ हजार देखि २ हजार ५ सय सम्म किनबेच भइरहेको छ ।

कर्णाली राजमार्ग सञ्चालन भएपछि सहजै रुपमा चामल उपलब्ध हुने भएपनि आवश्यकता भन्दा कम कोटा निर्धारण गर्दा वर्षेनि जुम्लाबासीले अनुदानको चामलको अभाव झेलिरहनु परेको छ ।

प्रकाशित : चैत्र २५, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?