कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खोल्सीको पानी खान बाध्य छन् कालीमाटीका बासिन्दा

सल्यान — जिल्लाको विकट कालीमाटी गाउँपालिका-६ को भैसिदमार, भलादमार र साजखर्कका स्थानीयबासी खोला तथा खोल्सीमा जमेको पानी खान बाध्य छन् । यो गाउँमा अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने हिसावले कुनै खानेपानी योजना सञ्चालन भएका छैनन् । परम्परागत पानीका मुहानहरु सुकेपछि स्थानीयबासीहरु भने खोला र खोल्सीमा बगेको पानी पिउन बाध्य बनेका हुन् ।

खोल्सीको पानी खान बाध्य छन् कालीमाटीका बासिन्दा

मुहान सुकेपछि बाह्रै महिना खोला र खोल्सामा जमेको/बगेको पानी खानुपर्ने बाध्यता रहेको स्थानीय मनबहादुर रोकाले बताए । 'पानीका लागि धेरै टाढा त जानुपर्दैन । तर मुहान छैनन्,' उनले भने, 'खोला र खोल्सीमा जमेका पानी पिउन बाध्य छौँ ।'

उनले यस्तो पानी खाँदा बेला-बेलामा बिरामी पर्ने र विभिन्न रोगको संक्रमण हुने अवस्था रहेको बताए । यहाँका तीन वटा गाउँमा २९ परिवार बस्छन् । सबैले खोला र खोल्साको पानी प्रयोग गर्दै आएका छन् ।

सल्यान र सुर्खेतको सीमा क्षेत्रको डाँडाको बस्तीमा पानीको समस्या भएपछि विहे गरी २०२९ सालमा जग्गा किनेर भैसिदमार झरेका बर्ष ७५ का रोकाले खोला तथा खोल्सीको पानी खान थालेको धेरै वर्ष बितिसकेको बताए ।

'खोलाको पानी हिउँदमा त ठीकै हुन्छ । तर वर्खामा पिउनयोग्य हुँदैन,' उनले भने, 'फोहोर पानी खाएर संक्रमण फैलिने गरेको छ । तर पनि ज्यान बचाउनका लागि भएपनि पानी त पिउनैपर्‍यो ।'

सरकारले पछिल्लो समयमा 'एक घर एक धारा'को अवधारणा ल्याएपनि अहिलेसम्म आफूले थाहा पाएदेखि कुनै योजना संचालन हुन नसकेको र मुलको पानी लिन घन्टौँ हिडनु पर्ने बाध्यताले घर नजिकैको ठाडो खोलाको पानी खानु परेको वर्ष ५५ की बिरमी रोकाले बताइन् । वर्षात् भएको बेला खोला र खोल्सीको पानीमा लेदो माटो आउने भएकाले आकासे पानी संकलन गरेर समेत प्रयोग गर्दै आएको उनले जानकारी गराइन् । ‘पानीकै समस्याका कारण लेकबाट वेँशीमा झर्‍यो। बस्ती नजिकै भएका मुहान सुकेपछि गाह्रो भएको छ । बस्ती नजिकै त खोला छ, तर शुद्ध नभई प्रदुषित पानी प्रयोग गर्नु परेको छ,’ उनले भनिन् ।

भैसिदमारदेखि वडा कार्यालय भएको बस्ती आधा घन्टाको दुरीमा रहेको छ । उक्त बस्तीमा घरघरमा धारा भएपनि आफ्नो बस्तीमा भने अहिलेसम्म योजना संचालन हुन नसकेको स्थानीय ४३ वर्षीय भक्तबहादुर थापाले बताए । देशमा संघीयता पस्चात् विकट बस्ती भैसिदमारमा सडक पुगेपनि खानेपानी पुर्‍याउन सम्बन्धित निकाय खासै अग्रसर नदेखिएको उनले बताए ।

वडाध्यक्ष टेकराज पुलामीले बस्तीका बासिन्दाले खोला र खोल्सीको पानी पिउँदै आएको पुष्टि गरे । उनले आफूले पहल गर्दा पनि ती बस्तीमा सरकारी योजनाअनुसार घरघरमा पानीका धारा पुर्‍याउन नसकेको बताए । 'यही वर्ष हेल्भिटास नामक संस्थासँग यी ठाउँमा खानेपानी पुर्‍याउन सम्झौता भएको छ,' उनले भने, 'त्यो योजना बन्यो भने आगामी वर्षबाट शुद्ध पिउने पानी गाउँमा बिस्तार हुनेछ ।'

प्रकाशित : चैत्र २, २०८० १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?