आठ वडाका एउटै सचिव

जयबहादुर रोकाया

हुम्ला — सदरमुकामस्थित आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक जना वडासचिवले काम गर्दै आएका छन् । आठ वडाको काम एक्लैले गर्दा वडासचिव धर्मराज रोकायालाई भ्याईनभ्याई छ ।

ZenTravel

रोकायाले गाउँपालिकाको केन्द्र रहेको सिमकोटबाटै सबै काम गर्ने गरेका छन् ।

सरकारले आवश्यक कर्मचारी र वडासचिव नपठाउँदा एक्लो सचिवले पूरै गाउँपालिकाको काम गरेका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकामै आउनुपर्ने बाध्यताले स्थानीयले सास्ती पाएका छन् । कर्मचारी अभावमा पूरै गाउँपालिकाका स्थानीयवासी सरकारी सेवा दिन सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।

‘सेवाग्राही घण्टौं हिंडेर आउने गरेका छन्,’ सचिव रोकायाले भने, ‘एक्लैले सबैको काम गर्दा एक छिन पनि फुर्सद हुँदैन ।’ सिमकोट गाउँपालिका मात्र होइन जिल्लाका सातवटा स्थानीय तहको अवस्था उस्तै छ । सात गाउँपालिका ४७ वडा छन् । अधिकांश वडामा सचिव छैनन् । दरबन्दीअनुसार पदपूर्ति नहुँदा एक सचिवले धेरै वडाको जिम्मा लिनुपर्ने बाध्यता छ । जिल्ला समन्वय समितिका .इन्जिनियर देवी ऐडीका अनुसार जिल्लाभरिमा १५ सचिव मात्र छन् । एक सचिवले धेरै वडाको काम गर्दा स्थानीयलाई सेवाप्रवाहमा समस्या भइरहेको छ । सेवा सहज नहुँदा स्थानीयले लामो समयदेखि सास्ती पाएका छन् ।

आफ्नो वडाको काम कसले हेर्छ भन्नेबारे स्थानीयवासीमा अन्योल छ । सेवाग्राही सचिव खोज्दाखोज्दै घण्टौं समय खर्चिन बाध्य छन् । सडक यातायात नभएको हुम्लामा एक वडाबाट अर्काे वडामा पुग्न एक दिनभन्दा बढी पैदलयात्रा गर्नुपर्छ । त्यसमा पनि पर्याप्त सचिव नहुँदा स्थानीयवासी अधिकांश सरकारी सेवाबाट वञ्चित छन् ।

सिमकोट गाउँपालिकाको एक नम्बर वडाबाट आठ नम्बर पुग्न दुई दिन पैदलयात्रा गर्नुपर्छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट केन्द्र रहेको याल्बाङ पुग्न झन्डै पाँच हजार मिटर उचाइको लेक पार गरी एकतर्फी तीन दिन पैदल हिँड्नुपर्छ । चंखेली गाउँपालिकाको नेप्क गाउँबाट केन्द्र रहेको पिप्लाङ पुग्न एक दिन पैदलयात्रा गर्न स्थानीयवासी बाध्य छन् । नेप्क गाउँमा टेलिफोन सुविधासमेत छैन । त्यस्तै, दुई वर्षपहिले स्थापना भएको इलाका प्रशासन कार्यालयमा हालसम्म अधिकृत नहुँदा स्थानीयवासी पैदल हिँडेर सदरमुकाम पुग्न बाध्य छन् । कर्मचारी अभावमा स्थानीयवासी सहज सरकारी सेवा प्रवाहबाट वञ्चित हुँदै आएका छन् ।

प्रकाशित : श्रावण १६, २०७५ १०:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाडीले दियो खच्चडलाई काम

खच्चडले गाडीको इन्धन, खाद्यान्न ढुवानी गरेका छन्
जयबहादुर रोकाया

हुम्ला — गाडी पुगेको स्थानमा खच्चड विस्थापित हुने भए पनि हुम्लामा उल्टो छ । सदरमुकाम सिमकोटको उत्तर– दक्षिण क्षेत्रमा सडक सन्जाल जोडिएपछि गाडीको इन्धन बोक्ने काममा खच्चडको प्रयोग हुन थालेको छ । हेलिकप्टरबाट ढुवानी गरिएका गाडीहरू यहाँका ग्रामीण क्षेत्रमा चल्न थालेपछि खच्चडले रोजगारी पाएका हुन् । 

सिमकोटको उत्तरतर्फ–दक्षिण ग्रामीण भेगमा २५ किमि ट्रयाक खुलेपछि स्थानीय व्यवसायीले प्रतिस्पर्धा गर्दै हेलिकप्टरबाट ढुवानी गरेर गाडी ल्याएका छन् । हेलिकप्टरबाट गाडी ढुवानी गरे पनि इन्धन भने नजिकका बजारबाट खच्चडले ढुवानी गर्ने गरेका छन् । अहिले सिमकोट आसपासमा चार ट्रयाक्टर, दुई जिप, दुई स्काभेटर र दुई बाइक गुडिरहेका छन् । सबैमा प्रयोग हुने इन्धन मुगुको गमगढीबाट खच्चडमा ढुवानी गरिएको व्यवसायीको भनाइ छ ।

जहाजहरूले इन्धन ढुवानी नगर्ने र हेलिकप्टर र्चाटर गरेर ल्याउन सम्भव नभएपछि गमगढीबाट खच्चडमार्फत ढुवानी गर्ने गरिएको व्यवसायी ज्ञानेन्द्र रावतले बताए । हुम्लामा २०५२ सालपछि मात्र खच्चड पालन सुरु भएको हो । हुम्लाको मार्ग भएर तिब्बत आउजाउ गर्ने पर्यटकको सामान ढुवानी गर्न खच्चड पालन सुरु गरिएको हो । पर्यटक आउने क्रम बर्सेनि बढ्दै जाँदा स्थानीय खच्चड पालनप्रति आकर्षित भए । केही वर्षयता पर्यटक घट्दै गएकाले व्यवसाय प्रभावित हुन थालेको थियो तर, गाडी चल्न थालेपछि खच्चडले काम पाएका हुन् ।

चिनियाँ सीमा हिल्साबाट ७१ किमी दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म ट्रयाक खुलेको छ । ओखरथलासम्म दुई दर्जन गाडी सञ्चालानमा छन् । निर्माणाधीन कर्णाली कोरीडोरअन्तर्गत हिल्सा–सिमकोट खण्डको निर्माण कार्यमा व्यवसायीले स्काभेटर प्रयोग गरिरहेका छन् । तिब्बती सीमासँग यातायात जोडिएको भए पनि चीन सरकारले वैधानिक तरिकाबाट इन्धन ल्याउन दिएको छैन । केही व्यवसायीले तिब्बती नागरिकसँग मिलेर लुकीछिपी इन्धन ल्याउन गरे पनि पर्याप्त नभएकाले खच्चडबाटै ढुवानी हुने गरेको हो । निर्माणमा प्रयोग हुने साधनका लागि खच्चडमार्फत नेपाली बजारबाट इन्धन ढुवानी गर्ने गरेको निर्माण व्यवसायी सुनाम लामाले बताए ।

खच्चडले गाडीको इन्धन, खाद्यान्न ढुवानी गरेका छन् । खाद्यान्न अभावको समस्या खाद्य सस्थानबाट बिक्रीवितरण गरिने चामलले मात्र धान्न नसकेपछि स्थानीयले मुगुको गमगढी र वाजुराको कोल्टीबाट खच्चडबाटै ढुवानी गर्ने गरेका छन् । सात गाउँपालिकामध्ये नाम्खाबाहेक अन्य ६ पालिकाका बासिन्दा सस्थानको चामल नपाउँदा खच्चडबाटै महङ्गो मूल्यमा चामल ढुवानी गर्न बाध्य छन् ।

राष्ट्रिय सडक संजाल नजोडिएको हुम्लामा झोपा, घोडा र भेडाबाख्राबाट समेत ढुवानी गर्ने गरिएको छ । जिल्लाको तल्लो भेगमा सरकारी अनुदानको नुन अपुग भएकाले स्थानीय वासिन्दाले वर्षायामको समयमा तिब्बत र अन्य समयमा वाजुरा तथा मुगु पुगेर नुन ल्याउने गरेका छन् । खाद्यान्न र इन्धन ढुवानी गर्नुपर्ने अवस्थाले खच्चड व्यवसायीलाई तत्काल राहत पुगेको छ ।

तत्काल राहत पुगे पनि दीर्घकालका लागि व्यवसायको विकल्प खोजी गर्नुपर्ने अवस्था आएको व्यवसायी बताउँछन् । ‘राष्ट्रिय सडक संजालमा हुम्ला जोडिएपछि खच्चड व्यवसाय विस्थापित हुन्छ होला,’ व्यवसायी लोक्ते नेपालीले भने, ‘तत्कालका लागि इन्धन ढुवानीमार्फत खच्चड व्यसाय राम्रै चलेको छ ।’

प्रकाशित : फाल्गुन १२, २०७४ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×