कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

झुम्साको पानी एक वर्षभित्रै बुटवल झारिँदै

घनश्याम गौतम

बुटवल — बुटवलमा खानेपानी ल्याउने गरी २८ वर्षअघि सुरु गरिएको बहुप्रतीक्षित झुम्सा–बुटवल खानेपानी आयोजनाको कामले गति लिएको छ । अबको एक वर्षभित्रै बुटवलमा खानेपानीको माग पूरा हुने गरी कामको गति बढाइएको खानेपानी संस्थानले जनाएको छ । 

झुम्साको पानी एक वर्षभित्रै बुटवल झारिँदै

सरकारले २०५२ देखि नै बुटवलवासीको खानेपानी समस्या समाधान गर्न पाल्पाको तिनाउ गाउँपालिकास्थित दोभानको सिस्ने खोलाबाट पानी ल्याउने योजना अघि सारेको थियो । मुहानमा भएको विवाद, बजेट अभाव, सडक विस्तार, कोभिडलगायतले आयोजनालाई लामो समय प्रभावित बनाएको संस्थानको भनाइ छ । बुटवलका बासिन्दा अहिले हिउँदमा पानी नै नपाउने र वर्षातको समयमा धारामा आउने धमिलो पानी प्रयोग गर्न बाध्य छन् ।

खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर खानेपानी आवश्यक छ । तर, आपूर्ति भने दैनिक २ करोड ५० लाख लिटर पनि छैन । बुटवलका सुक्खानगर, दीपनगर, लक्ष्मीनगर, रामनगर, बेलबासलगायतका क्षेत्रमा खानेपानीको चर्को अभाव छ ।

खानेपानी संस्थानले तिनाउ खोलाबाटै पम्पले तानेर शुद्धीकरण गरी पानी वितरण गर्दै आएको छ । त्यसले वर्षातमा धमिलो पानी आउँछ । बुटवलमा अहिले १७ हजार बढी खानेपानीका धारा वितरण गरिएको छ । हरेक वर्ष झन्डै १ हजार धारा थपिन्छन् । तीव्र सहरीकरणले जनघनत्व बढिरहेको बुटवलमा खानेपानीको माग पनि बढ्दो छ । समस्या समाधानका लागि राखिएका डेढ दर्जन बोरिङ पनि जमिनमुनिको पानीको सतह घट्दै गएपछि सुक्दै गएका छन् । सुरुमा पाल्पाको दोभानस्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी ल्याउने गरी आयोजना तयार भएको थियो । ०६४/०६५ मा सुरु आयोजनाको काम सरकार फेरिएसँगै कहिले अघि बढ्ने र कहिले ठप्प हुने क्रम चलेको थियो । १२ वर्षसम्म पाइप राख्ने काम भए पनि त्यही मुहानले बुटवलको आवश्यकता धान्न नसक्ने भएपछि तीन वर्षअघि अर्को ठाउँबाट ल्याउने गरी मुहान नै फेरिएको थियो ।

सिस्ने खोला छोडेर अघि सारिएको तिनाउ–३ झुम्सास्थित आयोजना बुटवलमा आगामी १५ वर्षमा बढ्न सक्ने जनघनत्वलाई समेत विश्लेषण गरेर अघि सारिएको छ । झुम्साबाट बुटवलमा खानेपानी ल्याउन साढे १३ किलोमिटर पाइप बिछ्याउने काम ९४ प्रतिशत सकिएको र भाँचिएको ट्रस्टब्रिजको काम सुरु गर्ने तयारी भइरहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए ।

‘अहिले दैनिक साढे २ लाख लिटर खानेपानी बुटवलमा आपूर्ति भइरहेको छ,’ उनले भने, ‘अबको एक वर्षभित्रै मागअनुसारको दैनिक साढे ३ लाख लिटर पानी बुटवल आइपुग्छ ।’ यो आयोजनामा आव ०६४/६५ देखि नै पाइप बिछ्याउने काम भइरहेको छ । अहिलेसम्म आयोजनामा १५ करोडभन्दा बढी रकम खर्च भइसकेको छ ।

पाइपलाइनको काम भइरहे पनि मुहान फेर्नुपर्ने बाध्यता, ड्याम निर्माण र पाइपलाइन निर्माणमा ढिलाइ हुँदा आयोजनाको समय लम्बिँदै गएको उनले बताए । आयोजनामा ड्यामबाट बुटवलको रामफेदीसम्म १० र २० इन्चका पाइपमार्फत पानी ल्याइने आयोजनाले जनाएको छ ।

१९ वडा र २ लाख स्थायी जनसंख्या रहेको बुटवल उपमहानगरपालिकामा अहिले सरदर २ करोड ५० लाख लिटर पानी आपूर्ति हुने गरेको छ । ‘आयोजना पूरा हुँदा बुटवलमा दैनिक ३ लाख २० हजार लिटर पानी आपूर्ति हुनेछ,’ आयोजना प्रमुख भट्टले भने, ‘आउँदो फागुनभित्रै आयोजना सम्पन्न गर्ने प्रयास भइरहेको छ ।’

आयोजनामा बाँधलगायतका निर्माणका संरचनामा ७३ करोड, ६४ लाख, पानी प्रशोधन, भण्डारण र वितरण प्रणालीमा ५ अर्ब ६१ करोड १७ लाख गरी ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ खर्च हुने आयोजना प्रमुख भट्टले बताए । झन्डै ८ किलोमिटर तल बुटवलस्थित रामफेदीसम्म मुख्य ट्रान्समिसन पाइपलाइन हुनेछ । त्यसअन्तर्गत तीन वटा ट्रसब्रिज छन् । तीमध्येको एक ट्रसब्रिज भाँचिएपछि कामको गतिमा केही ढिलाइ भइरहेको छ । पाइप राख्नका लागि झुम्सा खोलामा बनाइएको पुल तीन महिनाअघि अचानक भाँचिएको पुलको रि–डिजाइन गरेर काम अघि बढाइएको छ ।

बुटवलकै रामफेदीमा पानीको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । त्यहीं नै भण्डारण ट्यांकी, सहरी क्षेत्रमा ओभरहेड ट्यांकी निर्माण एवं पाइप बिछ्याउने धेरै काम सकिएका छन् । पानी वितरण प्लान्ट, शुद्धीकरण प्लान्ट, रिजर्भवायर तयार भएपछि बुटवलका सबै वडामा आवश्यकताअनुसार १० देखि ३ इन्चसम्मका पाइपमार्फत पानी वितरण हुने आयोजनाले जनाएको छ । बुटवल उपमहानगरपालिकाका १९ वडामध्ये १ देखि ११ र वडा १३ मा झुम्साको खानेपानी वितरण हुने नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?