कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

गाउँमै शल्यक्रिया गरेर ज्योति फर्किदा दंग

५ हजार २ सय जनाको गाउँगाउँमा आँखा जाँच गरेर ८१ जनाको शल्यक्रिया
माधव अर्याल

पाल्पा — रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाकी ९० वर्षीय धनी सिंजाली मगरले पनि वर्षौपछि आँखाले देख्न पाएकामा औधी खुसी भइन् । उपचार गर्न तानसेन र भैरहवा जान नसकेर अहिलेसम्म अध्याँरोमै बस्न बाध्य थिइन् ।

गाउँमै शल्यक्रिया गरेर ज्योति फर्किदा दंग

‘शल्यक्रिया गर्ने म जत्तिको उमेर भएको कोही छैन होला,’ उनले भनिन्, ‘फेरि आँखा देख्न पाइन्न जस्तो थियो, मलाई त नयाँ जीवन पाए जस्तै भएको छ ।’ स्वास्थ्य चौकीसम्म पुगेर आँखा जाँच गराएकी उनलाई शल्यक्रिया गरेपछि देख्न सकिने जानकारी दिएपछि बुढ्यौली उमेरमै पनि तयार भएकी हुन् ।

वर्षौदेखि आँखा राम्रोसंग देख्न नसकेकी रिब्दीकोट गाउँपालिका–८, फेककी मीना घर्तिले उज्यालो देख्न पाउँदा खुसीले हर्षका आँसु खसालिन् । छोरी रुपासंगै शल्यक्रिया गर्न रिब्दीकोटको कुसुमखोला पुगेकी मीनाले उज्यालो देख्न पाउँदा गाउँपालिका र चिकित्सकलाई धन्यवाद नदिइरहन सकिनन् । ‘धेरै वर्ष भयो आँखाले देख्न छाडेकी थिए,’ उनले भनिन्, ‘शल्यक्रिया गरेपछि देख्न पाउँदा खुसी नहुने कुरै भएन ।’ गाउँपालिकाले निःशुल्क शल्यक्रिया गरेपछि दुबै आँखाले देख्न सक्ने भएको उनले बताइन् ।

सिंजाली र घर्तीले जस्तै रिब्दीकोट गाउँपालिकाका ८१ जनाले गुमेको ज्योति फर्काउन सफल भएका छन् । गाउँघरमा मोतिबिन्दु, जलबिन्दु, दृष्टि दोष समस्या भएकाको संख्या अझै पनि अत्यधिक रहेको छ । समयमै आँखा अस्पतालसम्म नपुग्दा अन्धोपनको सिकार हुने गरेको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । ‘आँखामा देखिने रोगको समस्या समाधानका लागि टोलटोल पुगेर स्क्रिीनिङ गरेको हो,’ उनले भने, ‘यसबाट गाउँपालिकाका १ सय ३९ जनालाई शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।’


भौगोलिक विकटताका कारण गाउँबाट सदरमुकामसम्म आउन जान समस्या हुन्छ । यस्तो समस्यालाई मध्यनजर गर्दै रिब्दीकोट गाउँपालिकाले आँखाको उपचार गाउँमै गर्ने व्यवस्था गरेको हो । उपचार र आवश्यक भएकालाई शल्यक्रिया गर्ने व्यवस्था गाउँमै राखेपछि बिरामीलाई सहज भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

गाउँमा पुग्दा आँखा जाँच शिविर राख्ने र बिरामी पहिचान गर्न नागरिकको सुझाव अनुसार यो कार्यक्रम राखेको उनले बताए । अध्यक्ष कार्कीका अनुसार ८ वटै वडामा पुगेर २३ दिनसम्म अभियान चलाएर गरेको स्क्रिनिङमा ५ हजार २ सय जनाको आँखा जाँच गर्दा १ सय ३९ जनाको मोतियाविन्दुलगायतका समस्याले ज्योति गुमाएको भेटिएको थियो ।

जलविन्दुलगायत अन्य समस्याले दृष्टिदोष हुनेहरु पनि भेटिएका छन् । महंगो यातायात भाडा र बास बसेर उपचार गराउन नसक्नेहरुका लागि गाउँमै आँखा जाँच साथै शल्यक्रियासमेत गर्न पाउँदा नागरिकमा खुसी भेटेको गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । ‘गाउँमा पुग्दा नागरिकमा धेरै उत्साह देखिएको थियो,’ उनले भनिन्, ‘निःशुल्क शल्यक्रिया गर्न पाउँदा अझ बढी खुसी भएका छन् ।’

गाउँपालिकाले नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहकार्यमा टोल, वडासम्म पुगेर स्क्रिीनिङ गरेको थियो । गाउँपालिकाका आँखाको ज्योति गुमाएकालाई संसार देखाउने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । ‘म बनाउँछु मेरो रिब्दीकोटको नारालाई पनि यसले सार्थकता दिएको छ,’ उनले भने, ‘जनतामा देखिएको खुसीयाली नै स्थानीय सरकारको खुसी हो ।’

उनले नागरिकलाई स्थानीय सरकार साथमा छ भन्ने प्रत्याभूति दिलाउन यो कार्यक्रम महत्वपूर्ण भएको बताए । गाउँपालिकाले आँखाको शल्यक्रिया गर्ने ज्येष्ठ नागरिक तथा विरामी कुरुवालाई घर–घरबाट ल्याउने लैजाने गरेको थियो । खाना र बासको प्रबन्ध गरेको प्रवक्ता प्रकाश रायमाझीले बताए ।


कुसुमखोला आउन नसकेका आँखाका बिरामीलाई तानसेन र भैरहवा पठाउने व्यवस्था गरिने उनले बताए । आँखाका बिरामी प्रकृतिका आधारमा विशेषज्ञ गाउँमै बोलाएर जाँच र शल्यक्रिया गरेको वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए । ज्येष्ठ नागरिकमा मोतीविन्दुको समस्या बढी देखिएको उनले बताए ।

यो बाहेक जलविन्दु, दृष्टि दोषका साथै प्रेसर सुगरले पनि आँखामा समस्या देखिन सुरु भएको पाल्पा लायन्स लाकौल आँखा अस्पतालका आउटरिच कोअर्डिनेटर सन्तोष दर्जीले बताए ।

प्रकाशित : जेष्ठ १०, २०८१ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?