२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

प्रभावहीन डढेलो सचेतना अभियान

माधव अर्याल

पाल्पा — लुम्बिनी प्रदेश वन वातावरण मन्त्रालयले अघिल्लो वर्ष १२ जिल्लामै ‘वनसंग सेलिब्रेटी’ कार्यक्रम संचालन गर्‍यो । यो कार्यक्रममा ४८ लाख बजेट सक्कायो । चालु आर्थिक वर्षमा पनि पहाडका ६ जिल्लालाई २४ लाख बजेट पठायो । तर डिभिजन वन कार्यालयहरुले त्यसको सही सदुपयोग गर्न सकेनन् । 

प्रभावहीन डढेलो सचेतना अभियान

डढेलो जनचेतना सप्ताह मात्र नभई जहिले पनि खर्च गर्न पाउने कार्यविधि छ । डिभिजन वन कार्यालयमार्फत् १२ जिल्लामा झण्डै १ करोड २० लाख वन डढेलो सचेतना, सामाग्री खरिद, सञ्चारमाध्यम परिचालनमा खर्च गर्छ । तर यो बजेट प्रभावकारी हुन नसक्दा वर्षेनि जंगलमा डढेलो लाग्दा बस्तीमा पसेर धनजनको क्षति हुने गरेको छ ।

व्यक्तिको प्रभावमा राखेको ‘वनसंग सेलीब्रेटी’ कार्यक्रमको त कुनै प्रभावकारिता नै छैन । ‘कार्यक्रम प्रभावकारी नै त भएन भन्न मिल्दैन,’ लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय अन्तर्गत वन निर्देशनालयका सूचना अधिकारी सुजन धिमालले भने, ‘पूर्ण रुपमा प्रभावकारी नभएको हुन सक्छ तर प्रभावकारी नै भएन त भन्न मिल्दैन ।’ उनका अनुसार मानवीय हेलचेक्राई र त्रुटिकै कारण डढेलो लागेको हो ।

तत्कालिन मन्त्री सुरेन्द्र हमाललाई प्रभावित पारेर यो बजेट विनियोजन भएको थियो । उक्त कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लालाई ४ लाखका दरले बजेट विनियोजन गरेको थियो । बजेटबाट सामान्य कार्यक्रम गरेरसमेत बिल फर्स्यौट भएको वनकै कर्मचारी बताउँछन । प्रभावकारी नभएको ठहरपछि मन्त्रालयले चालु आर्थिक वर्षमा तराईका जिल्लामा उक्त बजेट कटौती गरेको छ ।

डिभिजन वन कार्यालय पाल्पाले रिब्दीकोट र लालपाटी फागु मेला, निस्दी, तानसेनको महोत्सव, राम्दीको एकादशी मेलामा उक्त बजेट खर्च गरेको छ । ‘हामीले सही सदुपयोग गरिएको छ जस्तो लाग्छ,’ डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले भने, ‘अन्यत्र के कसो गरेका छन् त्यति धेरै थाहा भएन ।’ गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा लगायतका जिल्लामा पनि सामान्य कार्यक्रम भएका छन् । तर यही कार्यक्रम कति प्रभावकारी भयो ? भन्ने प्रश्न उठेको वन अभियान्ताको भनाई छ ।

‘वनसंग सेलिब्रेटी कार्यक्रमले कलाकारलाई फाइदा पुग्यो होला तर स्थानीयले यसबाट लाभ लिन सकेनन्,’ तिनाउ गाउँपालिका–२, दोभानका वनअभियन्ता राजेश श्रेष्ठले भने, ‘यसबाट समुदायमा कति सचेतना पुग्यो भन्ने विषयमा छलफलमा हुनुपर्छ ।’ अन्य डढेलो सचेतना अभियानका लागि गरिने खर्च पनि तालिम, गोष्ठी, सञ्चारखर्चमा सिमित छ । त्यसको प्रभावकारिताको मुल्यांकन गर्ने परिपाटी नभएकाले खर्च अनावश्यक भएको उनले बताए ।

सचेतना अभियान संचालन भए पनि हरेक वर्ष जंगलमा डढेलो लाग्न छाडेको छैन । मानवीय, भौतिक साथै वन्यजन्तुको क्षति रोकिएको छैन । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि जंगलमा डढेलो लाग्ने र बस्तीसम्म आईपुग्ने घटना बढेको छ । लुम्बिनी प्रदेशमा पछिल्लो एक साताको अवधिमा ३ सय बढी डढेलोका घटना भएका छन् । लामो समयदेखि वर्षा नहुँदा डढेलोले सामुदायिक र राष्ट्रिय वन सखाप भएको छ ।

वन तथा भू–संरक्षण विभागको ‘वन डढेको पहिचान तथा अनुगमन प्रणाली’ को तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा पछिल्लो एक सातामा ३ सय ६ बढी स्थानमा डढेलो लागेको छ । दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही, प्यूठान, पाल्पा, रोल्पा, पश्चिम नवलपरासी र रुकुम पूर्वमा डढेलो लागेको छ ।

बैशाखको पहिलो साता लुीम्बनी प्रदेशमा गतवर्ष १ सय १५ स्थानमा डढेलोका घटना भएको थियो । तर यसवर्ष भने ३ सय बढी डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा बर्सेनिसचेनाका विभिन्न कार्यक्रम हुादै आए पनि प्रभावकारी हुन सकेको छैन । पछिल्लो समय बढ्दो आगलागी र डढेलोले सरकारी प्रयास निष्प्रभावी देखिएको छ ।

लुम्बिनीमा चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा मात्रै ७ सय डढेलो तथा आगलागीका घटना भएका छन् । गत साउनदेखि चैतसम्म प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएका आगलागीमा परी ६ बालबालिकासहित २५ जनाको मृत्यु भएको वन डढेको पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । ९२ जना घाइते भएका छन् ।

यस अवधिमा आगलागी तथा डढेलोमा परी प्रदेशमा २ सय ३९ घरमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार ६८ स्थानमा डढेलो लागेको सूचना प्राप्त भएको छ । जसबाट ६ सय १२ हेक्टर जंगल डढेलोको चपेटामा परेको छ । यसबाहेक अझ धेरै जंगलमा लागेको छ । तानसेन नगरपालिका र बगनासकाली क्षेत्रमा मात्र ४ सय ४८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

तराईमा गहुँ काटेपछि लगाइने आगोले गर्दा कतिपय स्थानमा डढेलो फैलिएको छ । तराई, चुरे, महाभारत क्षेत्रका वन क्षेत्रमा डढेलो बढेको हो । चुरे क्षेत्रमा वन तस्कर तथा उपभोक्ताहरुकै लापरवाहीले डढेलो लाग्ने गर्छ । पहाडी पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा लगायतका वनजंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको वन निर्देशनालयका सूचना अधिकारी धिमालले बताए । पहाडी बस्तीमा मानवबस्ती नै जोखिममा परेको छ । यसको नियन्त्रणका लागि डिभिजन वन, प्रदेश, संघ र स्थानीय सरकारसँग योजना र समन्वय छैन ।

‘हामी स्याउला लिएर डढेलो नियन्त्रण गर्नु परेको छ,’ रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले भने, ‘सिद्देश्वरमा लागेको डढेलो हावाहुरी र खडेरीले गर्दा तीन दिनसम्म नियन्त्रणमा लिन सकिएन ।’ दिनरात बस्ती जोगाउने प्रयास गरेको उनले बताए । गाउँपालिका पनि नभएर जंगलमा लागेको डढेलो नियन्त्रणका लागि बसेको उपाध्यक्ष थापाले जानकारी दिए । घरबस्तीमा आउनबाट जोगाएको तर जंगलमा हावाहुरीका कारण नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

सिद्देश्वरमा डढेलो निभाउने क्रममा रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा घाइते भएका छन् । घाइते बुढाको छहरा अमलावासमा उपचारपछि तानसेनस्थित मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । सिद्देश्वरको साउने, मोहरे, मगरान, सोलाभन्ज्याङ, मर्याङदी, चिसापानी लगायतका क्षेत्रका सामुदायिक वनमा भीषण डढेलो लागेको उनले बताए ।

पाल्पाकै रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलोले भौतिक तथा मानवीय क्षति नभएपनि जंगल सखाप भएको छ । बस्तीतर्फ आएको डढेलो स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिए पनि जंगलमा पुगेर निभाउन नसकिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । रिब्दीकोटको बतासे, डबका, नयाँटोला लगायतका स्थानबाट डढेलो लागेको हो । चर्को गर्मी, हावाहुरीका कारण जंगलमा पुगेर डढेलो निभाउन नसकिएको कार्यपालिका सदस्य सुनिल बस्यालले बताए । रिब्दीकोटको जलेश्वर क्षेत्रका साथै अन्य विभिन्न भागमा डढेलो लागिरहेको छ । ठिमुरे, पालुङमैनादी, कुसुमखोला अन्तर्गत रिब्दीकोट जंगल पर्छ । डढेलो लागेपछि पानीको मुहान, पाइपलाइनमा असर गरेको छ ।

डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति पुगेको डिभिजन वन कार्यालयका वन अधिकृत उपेन्द्र अर्यालले बताए । पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । सरकारले हरेक वर्ष चैत्र पहिलो सातालाई डढेलो नियन्त्रणका लागि सचेतना सप्ताहको रुपमा मनाउने गर्छ ।

लुम्बिनी प्रदेशमा पनि जिल्लास्थित डिभजिन वन, सवडिभिजन वन कार्यालयहरुले आफूलाई सहज र पायक पर्नेगरी सचेतनाका कार्यक्रम गरेका छन् । भेला तथा गोष्ठी आयोजना गरेर यो वर्षको बजेट खर्च गरिसके । वार्षिक रुपमा डढेलो नियन्त्रणका नाममा गरिने खर्च भने बालुवामा पानी जस्तै हुने गरेको वन उपभोक्ता तिनाउ–३, झुम्साका मोहन थापाले बताए । ‘कोठे सेमिनार, गोष्ठी तथा कागजी प्रगति प्रतिवेदनले डढेलो नियन्त्रण हुँदैन,’ उनले भने, ‘बजेट सक्काउने प्रवृत्ति हाबी हुने हुँदा डढेलो नियन्त्रण हुन नसकेको हो ।’

तराई होस् वा पहाड जतासुकै प्राकृतिकभन्दा मानवीय कारणले वन जंगलमा डढेलो लाग्ने गरेको छ । डढेलो नियन्त्रणका लागि समुदायमा सचेतनालाई नै अभियानका रूपमा सञ्चालन गरेको दाबी गरिन्छ । ‘नियन्त्रणमा लिन प्रकृतिले पनि साथ दिएको छैन,’ उपभोक्ता विनोद बस्यालले भने, ‘चुरे र महाभारत क्षेत्र भिरालो भागमा बढी क्षति भइरहेको छ ।’ पहाडमा सल्लाको जंगल भएको ठाउँमा निभाउन पनि समस्या हुने गर्छ ।

अर्कोतर्फ सामुदायिक वनका उपभोक्ताहरुसाग प्रयाप्त उपकरण तथा सुरक्षा सामग्री नहुादा मानवीय क्षति समेत व्यहोर्नुपरेको तिनाउ सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ्ले बताए । ‘डढेलो नियन्त्रण गर्न सचेतना मात्र नभई डढेलोसँग लड्न औजार उपकरण पनि चाहिन्छ । त्यसका लागि राज्यले लगानी बढाउनुपर्छ ।’ चर्को गर्मी र हावाहुरीले गर्दा बस्ती नजिक आएको डढेलो जोगाउने बाहेक अन्य उपाय नहुने उनले बताए ।

फागुनको अन्तिमदेखि जेठ महिनासम्म डढेलो लाग्छ । त्यसमध्ये चैत १५ देखि बैशाख १५ अधिक लाग्ने समय हो । ‘समयमा पानी नपर्ने सुख्खा मौसम र खडेरीले जंगलमा डढेलो बढेको छ,’ डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले भने, ‘यसमा उपभोक्रा पनि सचेत हुनुपर्छ । जनचेतना फैलाए पनि कसरी डढेलो लाग्छ भन्ने खोजीको विषय बनेको छ ।’

लुम्बिनी प्रदेशमा करिब नौ लाख हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये चार हजार ४६ वटा सामुदायिक वनको ३८२ दशमलव ८२ हजार हेक्टर क्षेत्रफल रहेको छ । लुम्बिनी प्रदेश अन्तर्गत वन निर्देशनालय, अनुसन्धान तथा प्रशिक्षण केन्द्र, १४ वटा डिभिजन वन कार्यालय, चार वटा भू–तथा जलाधार व्यवस्थापन कार्यालय, ८६ सव–डिभिजन वन कार्यालय छन् ।

प्रकाशित : वैशाख १०, २०८१ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?