कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा गैंडा अनुगमन

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।

बर्दियामा गैंडा अनुगमन

केही गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु सेन्चुरीमा पुगेको अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यम्ले नेपालबाट करिब दर्जन गैंडा वन्यजन्तु सेन्चुरीमा आएको उल्लेख गरिए पनि बर्दिया निकुञ्ज प्रशासनले अनुगमन सकिएपछि वास्तविकता बाहिर आउने जनाएको छ ।

पन्ध्र दिनसम्म गैंडाको अनुगमन गर्न थालेको निकुञ्ज प्रशासनले जनाएको छ । अनुगमन गर्न १० वटा हात्ती, निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, निकुञ्जका कर्मचारीलगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालित भएको सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जनाए । गैंडाको बासस्थान मानिएको बबई उपत्यका र कर्णाली नदी तटीय क्षेत्रमा ६ वटा बल्कमा अनुगमन हुने छ । उनले भने, ‘गैंडा निकुञ्जको झारीमा पनि हुने भएकोले अहिले नै भारतीय सेन्चुरीमा गएको कुनै आधार छैन ।’

बर्सनि गैंडाको अनुगमन हुने गर्छ । निकुञ्जमा पछिल्लो गणना २०२२ का अनुसार यहाँ ३८ वटा गैंडा छन् । सोही अवधिमा तीमध्ये तीन वटा केटाको बाघ र प्राकृतिक कारणले मृत्यु भएको छ ।

बर्दिया निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पिउने पानी समस्याले भारतीय सेन्चुरीमा पुगेको आशंका गरिएको छ । कर्णाली नदीको भंगालो गेरुवा नदीमा ०७१ र ०७४ सालमा आएको बाढीले नदीजन्य पदार्थ थुपारेपछि धार परिवर्तन गर्दा पानी सुक्दै गएको हो । करिब १५ वर्षयता बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा चोरी सिकारका कारण मारिएका छैनन् । कडा सुरक्षा, संरक्षणमा लागेका युवालगायत समुदायको सहयोगले लामो समयदेखि बर्दिया निकुञ्ज चोरी सिकार शून्य बन्दै गएको प्रमुख संरक्षण अधिकृत अशोक रामले जनाए ।

१५ वर्ष अघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज गैंडा चोरी सिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सर्वत्र आलोचना खेप्दै आएको थियो । सन् १९८४ मा पहिलो पटक चितवन निकुञ्जबाट बर्दियाको गेरुवा र कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडा स्थान्तरण प्रक्रिया सुरु भएको थियो । त्यसपछि ७४ वटा गैंडा बबई उपत्यकामा छाडिएको थियो । विगत १५ वर्ष बर्दिया निकुञ्ज गैंडाका चोरी सिकार शून्य भएको प्रमुख संरक्षण अधिकृत रामले बताए । मध्यवर्ती क्षेत्रका बासिन्दा, संरक्षणकर्मी, चोरी सिकारी नियन्त्रण युवा दस्तालगायत निकुञ्ज र निकुञ्ज सुरक्षाका लागि तैनाथ सेनाको सहयोगले चोरीसिकार शून्य बनेको उनले जनाए ।

द्वन्द्वकाल भने बर्दिया निकुञ्जमा गैंडा चोरी सिकारका कारण लोप हुने स्थितिमा पुगेको थियो । चितवनबाट बर्दिया निकुञ्जमा स्थान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएको थियो ।

गैंडाको उचित बासस्थान बबई उपत्यका मानिन्छ । बबई र गेरुवा नदी र पानीको उचित आहाल भएको स्थान हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्गसँग भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पर्दछ । खाता जैविकमार्गबाट हात्ती, बाघ, गैंडालगायतका वन्यजन्तु ओहोरदोहोर गर्छन् । भारतीय आरक्षमा पुगेका वन्यजन्तु गैंडा फर्कन पाउँदैनन् । यस आरक्षमा भने गैंडा नभएका कारण नेपालभित्र नपसुन् भनेर भारतीय आरक्ष सुरक्षाका लागि खटिएका वनकर्मीले रोक्ने प्रयास गर्दै आएको स्थानीयले बताएका छन् । खाता जैविकमार्ग डिभिजन वन कार्यालय बर्दियाअन्तर्गत पर्दछ ।

प्रकाशित : चैत्र १६, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?