कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

पर्यटकलाई शान्त गन्तव्य

अहिलेका पर्यटकले प्राकृतिक गन्तव्य, भीडभाड र गतिविधि कम हुने स्थल रुचाउने गरेका छन् । त्यस्ता पर्यटकका लागि बर्दिया प्रमुख गन्तव्य हो
दीपकराज जोशी

विश्वव्यापी रूपमा नै आधुनिक पर्यटनको विकासक्रम हेर्दा पर्यटक संख्या, वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना, आय वृद्धि एवं गन्तव्य र गतिविधिका हिसाबले सधैं वृद्धि भइरहेका धेरै कम उद्योगमध्येको यो एक हो । नेपालको प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, गौरवपूर्ण ऐतिहासिकता, रूपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितिले गर्दा पर्यटनबाट समृद्धि हासिल गर्न सक्ने प्रचुर सम्भावना छ ।

पर्यटकलाई शान्त गन्तव्य

साहसिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक र प्रकृतिमा रमाउन खोज्ने पर्यटकका बीच नेपालबारे एउटा अग्रणी र उच्च छवि (ब्रान्ड इमेज) बनाउन सकिन्छ । आजका दिनमा विश्वव्यापी रूपमा पर्यटनको नयाँ टेन्ड लक्जरीर कम्फर्टभन्दा पनि जीवनमा नयाँ अनुभूति प्राप्त हुने एक्सपेरियन्सियल टुर हो । हालको पर्यटन त्यही सेरोफेरोमा विकसित हुने अर्थतन्त्रका रूपमा विस्तारित भइरहेको छ ।

पर्यटकहरूमा आरामदायी घुमफिरभन्दा पनि नयाँ अनुभूति हासिल गर्नका लागि यात्रा गर्ने शैली बढ्दो छ । आगामी दिनमा यस्तो शैली झनै बढ्दै जाने देखिन्छ । यस्तो परिवेशमा नेपाललाई जीवनमा विरलै अनुभव गर्न पाइने विशेष क्षणहरू अनुभूत गर्न सकिने विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आय आर्जनको एक महत्त्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय जगत्मा नेपालका बारेमा पर्वतीय गन्तव्य र पर्वतारोहण तथा पदयात्राजस्ता गतिविधि मात्रै छ भन्ने आमछवि बनेको छ । तसर्थ, नेपालले अन्य पर्यटकीय क्षेत्र तथा आकर्षणबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । आजका दिनसम्म पनि पर्यटन मौसमकेन्द्रित रहने गरेको छ । तसर्थ, अब विविधिकृत र विशिष्ट महत्त्व राख्ने प्राकृतिक सम्पदालाई पनि सक्रिय र नियमित रूपमा लक्षित अन्तर्राष्ट्रिय बजारमा प्रचारित गर्नुपर्ने हुन्छ ।

पछिल्ला दिनमा प्रचुर सम्भावना भएको एक उदीयमान गन्तव्यका रूपमा बर्दियाको पर्यटन क्षेत्र विकसित हँॅुदैछ । लुम्बिनी प्रदेशको पश्चिममा अवस्थित कर्णाली नदी तटमा रहेको बर्दियाले सामाजिक विविधता, भौगोलिक विशिष्टता र अथाह पर्यटकीय सम्भाव्यता बोकेको छ । अत्यन्तै इमान्दार, मिलनसार र मिहिनेती थारू जातिको बाहुल्य रहेको बर्दियामा पूर्वदेखि पश्चिम नेपालका थुप्रै समुदाय बसोबास गरिरहेका छन् अहिले । अनुपम प्राकृतिक सम्पदाले भरिएको बर्दिया हालका दिनमा विश्वकै एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदैछ, जहाँ पर्यटकहरू घुम्नका लागि मात्रै होइन, त्यहाँको प्रकृति संरक्षणमा भइरहेको प्रशंसनीय प्रयासहरूबारे सिक्नका लागि पनि आउने गरेका छन् ।

बर्दियाका आकर्षण

९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल चर्चेको र सन् १९८८ मा स्थापित बर्दिया राष्ट्रिय निकुञ्ज नेपालकै एक प्रमुख संरक्षित क्षेत्र हो । निकुञ्ज र त्यस वरपरका सामुदायिक वनजंगलले बाघ (रोयल बेंगल टाइगर), भालु, जंगली हात्ती, एकसिंगे गैंडा, मृग, बँदेल, स्यालजस्ता वन्यजन्तु, सयौं प्रजातिका वनस्पति र चराचुरुङ्गी र कञ्चन तालतलैया तथा नदीनालाको मनोरम अवलोकन गर्ने अवसर दिन्छ ।

जंगल सफारी, नेचर वाक, कनोइनिङ्ग, चरा अवलोकन, गाउँ भ्रमण, थारू संग्रहालय भ्रमण, जंगल वाक, नेपालको सबैभन्दा लामो नदी कर्णालीमा र्‍याफ्टिङ, फिसिङ्ग, साइक्लिङ्ग, सांस्कृतिक नाचगान, परम्परागत तथा सामाजिक जीवनशैलीजस्ता गतिविधिमा पर्यटक सहभागी हुन सक्छन् । कृष्णसार र घडियाल संरक्षण क्षेत्र पनि अत्यन्तै आकर्षक छन् अवलोकनका लागि । नयाँ मुलुक हुँदा इस्ट इन्डिया कम्पनीले जोडेको रेल मार्गका लिकहरू बर्दियाको जंगलमा अझै पनि देखिन्छ, जुन इतिहास समेटेको पर्यटन पनि हो ।

विभिन्न जातजातिको बसोबास भएको हुँदा नेपालका विभिन्न भू–भागका खानपिनको स्वाद लिन सकिन्छ । थारू जातिको बाहुल्य रहेको यस क्षेत्रमा ढिक्री, घोंगी, लसुन र खुर्सानीको चट्नी, बयरको रोटी, विशेष प्रकारका मसलामा बनाइने मास, स्थानीय भेराइटीको साग तथा च्याउले आगन्तुक पर्यटकका लागि नयाँ स्वाद पस्कन्छन् ।

काठमाडौंबाट नेपालगन्ज वा धनगढीसम्मको हवाई यात्रा र त्यसपछि करिब ९० मिनेटको बस यातायातमा निकुञ्जको मुख्यालय रहेको ठाकुरद्वारा पुग्न सकिन्छ । निजी सवारी साधनबाट पनि सहजै पुग्न सकिन्छ । बर्दिया जिल्लाभित्र रहेका विविध आकर्षणसम्मको सडकमार्ग अत्यन्तै राम्रो र अधिकांश गन्तव्य पक्की बाटोले जोडिएका छन् । बाह्रैमास त्यहाँका विभिन्न आकर्षणको अवलोकन गर्न सकिन्छ । भारतको उत्तर प्रदेशको राजधानी लखनउ बर्दिया निकुञ्जबाट करिब ४ घण्टाको दूरीमा छ । त्यहाँको पूर्वाधारबाट पनि ठूलो संख्यामा गुणस्तरीय पर्यटक ल्याउन सकिने प्रशस्त सम्भावना रहेको छ ।

गन्तव्यको पहिचान र सेलिब्रिटीहरूको गन्तव्य

बेलायती राजकुमार प्रिन्स ह्यारी, बलिउडका प्रसिद्ध अभिनेता लियोनार्दो डी काप्रियो, चिनियाँ मोडेल र अभिनेत्री सु जिङ्गलगायतका थुप्रै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरूले त्यहाँको भ्रमण गरिसकेका छन् । जर्मनीमा हुने संसारकै सबैभन्दा ठूलो पर्यटन भेलाद्वारा सन् २०१९ मा सर्वोत्कृष्ट प्राकृतिक गन्तव्यको अवार्डले सम्मानित भएको थियो बर्दिया । बीबीसी अर्थ टेलिभिजनले यहाँका प्राकृतिक गन्तव्यहरूका बारेमा एक विशेष कार्यक्रम प्रसारण गरेको थियो । अरू थुप्रै अन्तर्राष्ट्रिय फोरमहरूमा बर्दियाको चर्चा हुने गरेको छ ।

हालका दिनहरूमा यहाँका करिब ३५ वटा गुणस्तरीय तथा मझौला खालका पर्यटकस्तरीय होटल तथा रिसोर्टहरूले पर्यटकीय सेवा प्रदान गरिरहेका छन् । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा घरवास (होमस्टे) हरूले पनि स्थानीय खानपिन र संस्कृतिसहितको आकषर्ण पस्किरहेका छन् । आगन्तुक पर्यटकहरूलाई पर्यावरणमैत्री क्याम्पिङ अनुभवसहितको विशिष्ट सेवा उपलब्ध गराउने सेवा प्रदायक पनि यहाँ रहेका छन् ।

संरक्षणको नमुना र लगानीका अवसर

हामी सबैलाई थाहा छ– बाघ एउटा लोपोन्मुख जनावर हो । यसको संख्या तीव्र गतिमा घट्न थालेपछि सन् २०१३ मा रसियामा बाघ पाइने मुलुकका अधिकारीहरू भेला भई १० वर्षमा यसको संख्या दोब्बर बनाउने लक्ष्य राखेर सोहीअनुरूप काम गर्न थाले । १० वर्षमा बाघको संख्या दोब्बरमात्रै नभई तेब्बर पुगेको संरक्षण क्षेत्र बर्दियामात्रै हो । बाघको मात्रै होइन, अन्य वन्यजन्तु तथा वनस्पतिको संरक्षणमा पनि बर्दियालाई आज विश्वभरि नै उदाहरणीय क्षेत्रका रूपमा लिइन्छ । यहाँ समुदायको भूमिका र बफर जोनको व्यवस्थापन पनि अनुकरणीय रहेको छ ।

गुणस्तरीय होटल तथा रिसोर्ट, पूर्वाधार, नवीनतम् गतिविधि, पर्यटनका लागि आवश्यक प्रविधिमा लगानीका अवसर धेरै रहेका छन् । देशभित्रका तथा विदेशी लगानीकर्ताका लागि यहाँ प्रशस्तै लगानीका अवसर छन् । नयाँ लगानीकर्ताले भारतमा वृद्धि भइरहेको पूर्वाधार र सीमा नजिकै रहेको आर्थिक उन्नति उन्मुख ठूलो जनसंख्यालाई हेरेर लगानी बढाउन खोजिरहेको पाइन्छ ।

सहयोगीहरूबाट बर्दियाको अपेक्षा

अहिले बर्दियाले सरकारी तथा निजी क्षेत्रका मुख्य सरोकारवाला निकायबाट त्यहाँको पर्यटन विकासका लागि सिर्जनशील प्याकेजिङ, नयाँ आकर्षक गतिविधि, स्थानीय सेवा प्रदायकहरूको सीप र ज्ञानसहितको दक्षता अभिवृद्धि, गतिविधि तथा सेवामा स्तरोन्नतिका लागि गुणस्तरीय लगानी, अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवर्द्धन र वन्यजन्तु तथा वातावरण संरक्षणमा हातेमाले खोजिरहेको छ ।

प्रचुर सम्भावना बोकेको बर्दियाले सरोकारवालाहरूबाट बलियो सहयोग र साथ पायो भने सन् २०३० भित्रमै संसारकै एक विशिष्ट र उदाहरणीय गन्तव्य बन्न सक्नेमा दुईमत छैन । यसले अन्तर्राष्ट्रिय जगत्मा एक नयाँ उदीयमान ताराका रूपमा नेपालको पर्यटनको सान थप बढाउनेछ । खासगरी कोभिड महामारीपछि धेरैजसो पर्यटकले प्राकृतिक गन्तव्य, कम भीडभाड र गतिविधि हुने स्थल रुचाउने गरेका छन् । त्यस्ता पर्यटकका लागि बर्दिया मुख्य रोजाइको गन्तव्य हुन सक्छ ।

पर्यटनबाट लाभ लिँदै नेपाललाई एक समृद्ध राष्ट्र बनाउन सक्ने प्रशस्तै आधार हुँदाहुँदै पनि यसबाट मुलुकले अपेक्षित लाभ लिन सकिरहेको छैन । देशैभरिका स्थानीय तहमा आ–आफ्नो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उच्च चाहना र उत्प्रेरणा निकै उत्साहजनक छ । स्थानीय नेतृत्वमा व्यावसायिक सोच, कुशल व्यवस्थापन, परिणाममुखी नेतृत्वका लागि आवश्यक सीप र ज्ञानको अभावमा चाहेबमोजिमको सकारात्मक परिणाम हासिल गर्न सकिरहेका छैनौं । स्थानीय निकायलाई दक्ष र सबल नबनाई विश्व पर्यटन बजारमा नेपाललाई एक अग्रणी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सजिलो छैन । प्रचुर सम्भावना भएका उदीयमान गन्तव्यहरूलाई उकास्न केन्द्रले पनि ठूलो सहयोग गर्दा मात्रै नेपाल विश्वव्यापी रूपमै एक अनुपम पर्यटकीय गन्तव्य र नेपालको दिगो समृद्धिको सारथि बन्न सक्छ ।

नागरिकको जीवनस्तर उकास्न २०१० देखि २०२० को दशकमा रेमिट्यान्स हाबी रहेको अर्थतन्त्र देख्यौं हामीले । एकीकृत र व्यवस्थित रूपमा नेपालको पर्यटनको विकास गर्न सकियो भने आगामी दशकको अर्थतन्त्र डोर्‍याउन पर्यटन क्षेत्रले नेतृत्व लिन सक्ने प्रशस्त आधार छन् । सहयोगी सोचका साथ सहकार्य गरौं ।

(जोशी नेपाल पर्यटन बोर्डका पूर्वसीईओ हुन् ।)

प्रकाशित : फाल्गुन ११, २०८० ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?