कलिलैमा विवाहले स्वास्थ्य समस्या- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलिलैमा विवाहले स्वास्थ्य समस्या

अधिकांशले गर्भवती भए पनि स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चा दुवै जोखिममा 
शमशेरविक्रम जीसी, माधव अर्याल

प्यूठान, पाल्पा — नौबहिनी गाउँपालिका–८ फोप्लीकी रेश्मा सुनारले १५ वर्षको उमेरमै भागी विवाह गरिन् । सुनार अहिले ती दिन सम्झिंदा निकै भावुक हुन्छिन् । उनले २० वर्षमा दोस्रो विवाह गरेकी छन् । ‘कलिलो उमेरमा आफैंले रोजेको घर लेखेकै रहेनछ,’ उनले भनिन्, ‘दोस्रो विवाह गरेपछि घरबार राम्रै चलेको छ ।’ 

आफैंले रोजेको घर पाँच वर्ष पनि नटिकेकामा निकै दुःख लागेको उनले सुनाइन् । चार वर्षको छोरा छाडेर आएकी उनका अहिले तीन छोरी जन्मिएका छन् । जेठी छोरी १२ वर्षकी भइन् । ‘आफैंले रोजेको घर छाडेर आउन मन थिएन,’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘सोचेजस्तो नभएपछि बाध्य भएर पहिलो रोजाइ छाड्नुपर्‍यो ।’ घरपरिवारको अपहेलना, तिरस्कार खेप्न नसकेपछि दोस्रो घरबार गर्न बाध्य भएको उनले बताइन् । कक्षा ८ मा पढ्दै गर्दा भागी विवाह गरेकी रेश्मा अहिले ३५ वर्षकी भइन् ।

लामो संघर्षपछि रेश्माको जीवनमा अहिले केही फरक भएको छ । अहिले उनी महिला स्वास्थ्य स्वयंसेविका बनेकी छन् । आफ्नै उदाहरण दिएर बालविवाह नगर्न आग्रह गर्ने गरेको उनले बताइन् । ‘आफूले भोगेका समस्या सुनाउँछु, दुःख बताउँछु,’ उनले भनिन्, ‘तर, गाउँमा अहिले पनि बालविवाह रोकिएको छैन ।’ उमेरै नपुगी विवाह गर्दा भोग्नुपर्ने समस्या सुनाउने उनी आफ्नोजस्तो समस्या कसैलाई नपरोस् भन्ने ठान्छिन् । गाउँमा अहिले पनि बालविवाह निकै छ ।

पछिल्ला तीन वर्षमा प्यूठानमा उमेरै नपुगी विवाह गर्ने र आमा बन्नेको संख्या २ हजार ६ सय ८२ रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताए । ‘गाउँमा अहिले पनि स्वास्थ्यको सहज व्यवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य संस्था टाढा हुँदा कोही त जाँचकै लागि आउँदैनन् ।’ अशिक्षा, अज्ञानतालगायत कारणले दुर्गममा बालविवाह रोक्न नसकिएको उनले बताए ।

नौ स्थानीय तह रहेको प्यूठानमा सबैभन्दा धेरै बालविवाह हुने नौबहिनी गाउँपालिका हो । एक वर्षमा नौबहिनी गाउँपालिकामा १ सय ४४ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएको तथ्यांक छ । गर्भवती हुने धेरै स्वास्थ्य संस्थामा नआएको फोप्ली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश घिमिरेले बताए । गर्भधारण गरेदेखि सुत्केरी हुँदासम्म चारपटक जाँच गर्नुपर्छ । कोही त एकपटक पनि चेकजाँच नगरी सुत्केरी भएका पनि छन् । ‘कलिलो उमेरमा आमा बन्दाको परिणाम फोप्लीमा बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ,’ उनले भने, ‘बालविवाहको जोखिमका बारेमा धेरैलाई थाहै छैन ।’

यहाँको गौमुखी गाउँपालिकामा एक वर्षमा १ सय ३०, सरुमारानी गाउँपालिकामा १ सय ६, झिमरुक गाउँपालिकामा ८८, प्यूठान नगरपालिकामा ७२, स्वर्गद्वारी नगरपालिकामा ७१ जना उमेरै नपुगेका किशोरी आमा बनेको तथ्यांक छ । ऐरावती गाउँपालिकामा ८७, माण्डवी गाउँपालिकामा ६३ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएको स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांकमा छ । कलिलो उमेरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई स्वास्थ्य जोखिम हुन्छ । तर, अशिक्षा र जनचेतनाको कमीजस्ता कारण प्यूठानका ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाह गर्ने र उमेरै नपुगी आमा बन्नेहरू प्रशस्तै रहेका छन् । १५ वर्षमै विवाह गरेकी फोप्लीकै दीपा पुन मगर भर्खर २० वर्ष पुगिन् । तर उनी दुई छोरीकी आमा बनिसकेकी छन् । कक्षा ८ मा पढ्दै गर्दा भागी विवाह गरेकी दीपालाई आफ्ना दौँतरीहरू विद्यालय गइरहेको देख्दा पछुतो लाग्ने बताउँछिन् । ‘उमेरै नपुगी विवाह गरेको पछुतो बल्ल लागेको छ,’ उनले भनिन्, ‘अब छोराछोरी हेर्नु कि स्कुल जानू !’

गत आर्थिक वर्षमा प्यूठानमा २० वर्षभन्दा कम उमेरमा विवाह गरेका २ सय ९० जनाले पिल्स, डिपोजस्ता परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेको स्वास्थ्य कार्यालय प्यूठानका अधिकृत मधुसूदन खड्काले जानकारी दिए ।

पाठेघर खस्ने समस्या

तानसेन नगरपालिका–४, होलाङ्दीकी मीनकुमारी बुढाथोकीले चार सन्तान जन्माउन्जेल अस्पताल गइनन् । पेट दुखेर उभिन समस्या भएपछि मात्र सरकारी स्वास्थ्य संस्थासम्म पुगिन् । सुरूसुरूमा पेटको तल्लो भागमा अप्ठ्यारो हुने, योनिमार्गमा केही भारी चिज आएर बसेजस्तो हुने, तल्लो पेट र कम्मरवरिपरि दुख्न थालेपछि अस्पताल पुगेको उनले बताइन् ।

‘धेरै समस्या भएपछि मात्र अस्पताल गएकी हुँ,’ उनले भनिन्, ‘दुःख भए पनि मलाई पाठेघर खस्ने भन्ने थाहा भएन ।’ उनका अनुसार पछिल्ला दिनमा स्वास्थ्यकर्मीको सल्लाहमा रिङ प्रेसरी राख्ने र झिक्ने गरेकाले सहज भएको छ । तानसेन नगरपालिका–८, मदनपोखराकी पवनकुमारी शर्मा पनि पाठेघर खस्ने समस्याबाट पीडित छन् । सानै उमेरमा विवाह गरेर बच्चा छिटो जन्मिएपछि सुत्केरी अवस्थामै गह्रौं भारी उचाल्नुपर्दा छिट्टै पाठेघर खस्ने समस्या देखिएको उनले सुनाइन् । ‘धेरै दुख्न थालेपछि मात्र बल्ल रोग लागेको भन्ने थाहा भयो,’ उनले भनिन्, ‘तर पनि धेरैले यसबारेमा भन्न रुचाएको पाएकी छैन ।’ अहिले गाउँमा त्यस्तो समस्या देखियो भने परिवार नियोजन संघ, स्वास्थ्य चौकी, स्वास्थ्य संस्थासम्म जान सल्लाह दिने गरेको उनले बताइन् । महिलामा देखिने जटिल समस्यामध्ये पाठेघर खस्ने रोग पाल्पामा प्रमुख समस्याका रूपमा रहेको डा. पुजन श्रेष्ठले बताए । ‘हुँगी स्वास्थ्य चौकीमा रहुन्जेल र गाउँमा राख्ने शिविरमा पनि त्यस्ता रोग लुकाएर बस्ने गरेका महिला धेरै पाइयो,’ उनले भने, ‘धेरैले लाज मान्ने, अस्पतालसम्म जान अप्ठेरो मान्ने गरेको पाएको छु ।’

सामान्यतः वृद्ध महिला, महिनावारी बन्द भएका मात्र होइन, ३५ देखि ४५ वर्ष उमेरका महिलाको पाठेघर खस्ने समस्या देखिने गरेको नेपाल परिवार नियोजन संघकी सिनियर अनमि सरस्वती पन्थीले बताइन् । परिवार नियोजन संघ पाल्पा शाखाले यहाँका विभिन्न स्थानमा राखेको शिविरमा अघिल्लो वर्ष ८ सय ९४ जनालाई पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ४० र चालु वर्षमा १ हजार १ सय ४७ जनामा जाँच गर्दा ४७ जनामा पाठेघर खस्ने समस्या देखिएको थियो । सुत्केरी अवस्थामा पाठेघर फुलेको हुन्छ । फुलेको पाठेघर ठीक ठाउँमा आउन करिब दुई महिना लाग्छ । पाठेघर ठीक ठाउँमा नआईकनै भारी काम गर्ने, यौनसम्पर्क गर्दा पाठेघर खस्ने समस्या छिटो देखिने चिकित्सकहरूको भनाइ छ ।

प्रकाशित : माघ १, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशमा मन्त्रालय घटाउन सकस

मुख्यमन्त्री अधिकारी ७ मन्त्रालयको पक्षमा, सत्तारुढ माओवादी र राप्रपाको सुझाव १० सम्म
अनिष भट्टराई

गण्डकी — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रदेशका मन्त्रालय घटाउने पक्षमा छन् । प्रदेशसभामा शुक्रबार विश्वासको मत पाएका अधिकारीले मन्त्रालय संख्या घटाउने पक्षमा भए पनि उनलाई सहज भने छैन ।

गण्डकीमा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिलेर सरकार गठन भएको छ । पुस २५ मा एमाले संसदीय दलका नेता अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन शपथ लिँदा उनले माओवादीबाट हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङलाई मन्त्री बनाए ।

गण्डकीमा सुरुमा ७ मन्त्रालय मात्रै थिए । एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेपछि सत्ता जोगाउन उनले मन्त्रालय टुक्र्याएर ११ पुर्‍याए । तैपनि उनको सरकारले बहुमत पुर्‍याउन सकेन । तत्कालीन ५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र पोखरेलले एउटा मन्त्रालय थपेर १२ पुर्‍याए । मन्त्रालय बढी हुँदा प्रशासनिक खर्च बढेको भन्दै यसको आलोचना भएको थियो । यसैलाई मध्यनजर गर्दै अधिकारीले मन्त्रालय घटाउने तयारी गरेका हुन् । संविधानको धारा १६८ (९) अनुसार प्रदेशसभामा कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गरिन सक्ने व्यवस्था छ । ६० सदस्यीय प्रदेशसभामा १२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिन्छ ।

मुख्यमन्त्री अधिकारी सात सदस्यीय मन्त्रिपरिषद् बनाउने चाहनामा छन् । तर सत्ता गठबन्धन दलका कारण यो सम्भव नरहेको र १० वटासम्म मन्त्रालय बनाउन सकिने अवस्था रहेको सत्तारूढ दलका सांसद नै बताउँछन् । माओवादी संसदीय दलका नेतासमेत रहेका मन्त्री चुमानले १० वटा मन्त्रालय बनाउन सुझाव दिइएको र बाँकी निर्णय मुख्यमन्त्रीकै भएको बताए । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले प्रदेशमा १० वटा मन्त्रालय बनाउन सकिने सुझाव दिएको पनि उनले बताए । ‘कति मन्त्रालय बनाउने निधो केन्द्रबाट आउँछ, हामीले १० वटा बनाउन सकिने सुझाव दिएका छौं,’ उनले भने । राप्रपाले पनि मुख्यमन्त्रीलाई १० वटा बनाउन सकिने सुझाव दिएको छ । राप्रपा सांसद बिन्दु अधिकारी पहाडीका अनुसार मुख्यमन्त्रीलाई औपचारिक प्रस्ताव नगरे पनि छलफलका क्रममा १० वटासम्म मन्त्रालय बनाउन सकिने भनिएको छ । प्रदेशसभामा राप्रपाका २ सांसद छन् । राप्रपाका पञ्चराम मन्त्री बनिसकेका छन् ।

एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा थापाले मन्त्री बन्न धेरैको इच्छा रहे पनि प्रदेशको आर्थिक भार घटाउन मन्त्रालय संख्या सकेसम्म १० भन्दा तल नै राखिने बताए । ‘यसअघि १२ मन्त्रालय थिए । सकेसम्म १० भन्दा थोरै नै राख्ने योजनामा छौं,’ उनले भने । २ सांसद भएको राप्रपाले २ मन्त्रालय र माओवादीले ४ वटा मन्त्रालय मागेका छन् । मुख्यमन्त्री अधिकारीले यसबारे प्रतिक्रिया नदिए पनि आफू मन्त्रालय न्यायोचित ढंगले घटाउने बताए । ‘यकिन संख्या अहिलेसम्म टुंगो लागेको छैन, आर्थिक भार घटाउन मन्त्रालय घटाउने पक्षमा छु,’ उनले भने ।

प्रकाशित : माघ १, २०७९ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×