कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीतलहरले जनजीवन कष्टकर

बालबालिका, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेहरु बढी प्रभावित, विद्यालय धमाधम बिदा गरिँदै, अस्पतालमा बढ्न थाले रूघाखोकी, निमोनिया र दमका बिरामी
चिसोका कारण निम्तिने स्वास्थ्य समस्या कम गर्न न्यानो लुगा लगाएर घरभित्रै बस्न, तातो खानेकुरा र झोलिलो पदार्थ पिउन चिकित्सकको आग्रह

लुम्बिनी, बर्दिया, परासी, कपिलवस्तु — रुपन्देहीको कोटहीमाई–७ का ७८ वर्षीय असर्फी कलवारको दैनिकी बदलिएको छ । बिहानै उठेर गोठको काम गर्ने उनी केही दिनयता बिस्तारामै दिन कटाउँछन् । ‘घरभरि डिंगाबाच्छा छन्, खेतीपाती छ, काम नगरे खान पुग्दैन,’ उनले भने, ‘चिसो यस्तै भइरहे मरिन्छ कि ?’ बुढेसकालमा घाम प्यारो लाग्ने उनले बताए ।

शीतलहरले जनजीवन कष्टकर

‘तीन दिनदेखि घाम लागेको छैन,’ उनले भने, ‘बूढाबूढीलाई रोगी र अल्छी बनायो ।’ दमको रोगी भएकाले जाडो मौसम नआइदिए हुन्थ्यो जस्तो लाग्ने उनले बताए । कलवारले दुईवटा सिरक खापेर ओढ्ने गरेको सुनाए । चिसोले फुल्दै गरेको केराउ, तोरीलाई समेत असर परेको छ । ‘आलुको पात कालै भयो,’ उनले भने, ‘शीतले आलु पनि राम्ररी फल्ने भएन ।’

केही दिनयता रूपन्देहीमा जाडो बढ्दै गएको छ । बजारमा जाडोका कपडा किन्नेहरू प्रशस्तै देखिन्छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहान शीत झर्ने, दिनभरि आकाश डम्म हुने भएकाले अत्यावश्यक कामबाहेक मानिसको हिँडडुल घटेको छ । सार्वजनिक सवारीसाधनमा त्यति भीड छैन । अस्पतालमा रुघाखोकी, निमोनिया, दम आदिका बिरामीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् । जिल्लाको दक्षिणी तथा उत्तरी भेगमा अझ बढी चिसो हुने भएकाले विद्यालयमा बिदा दिन थालिएको छ ।

रोहिणी गाउँपालिकाले एक साताका लागि विद्यालय बिदा दिएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी एक साता विद्यालय बन्द रहने जनाएको हो । अन्य पालिका तथा वडाले समेत कम्बल र आगो ताप्ने मुढा वितरण गर्न थालेका छन् ।

विपत् व्यवस्थापन कोषबाट दाउरा खरिद गर्न ३ लाख रुपैयाँ छुट्याएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताए । उनका अनुसार पालिकाले बुधबार बेलुकाबाटै पालिकाका विभिन्न स्थानमा दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै जाँदा वृद्धवृद्धा र बच्चालाई समस्या देखिने भएकाले बिनाकाम बाहिर ननिस्कनसमेत सूचना जारी गरिने उनको भनाइ छ ।

जाडो मौसममा सकेसम्म घरभित्रै न्यानो भएर बस्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ जनरल फिजिसियन डा. सुदर्शन थापाले सुझाए । न्यानो लुगा लगाउने, तातो खानेकुरा, झोल पदार्थ पिउने गरेमा जाडोमा हुने रोगबाट बच्न सकिने उनले बताए । ‘अहिले अस्पतालमा ज्वरो, रुघाखोकी, निमोनिया र अब कोरोनासमेतका बिरामी बढ्ने संकेत छ,’ उनले भने, ‘घरभित्र वा बाहिर बस्दा एकै ठाउँ धेरै जना बस्नु पनि हुँदैन ।

घरभित्र हिटर प्रयोग गर्नेहरूले गुमुक्क पारेर बस्न नहुने, नुहाउँदा गिजर लगाएको खण्डमा झ्याल वा ढोका खुला राख्नुपर्छ ।’ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चिसोबाट नागरिकलाई जोगाउनुपर्छ भन्ने उद्देश्यले शीतलहर जोखिम न्यूनीकरण पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ पारित गरी कार्यान्वयन थालेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

बर्दियामा अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दै गएको छ । हुस्सुसँगै परेको शीतलहर र चिसो हावाले बालबालिका, वृद्ध र दैनिक मजदुरी गर्ने मानिस बढी प्रभावित बनेका छन् । कठ्यांग्रिँदो जाडोले दैनिक गुजारा गर्ने मजदुर बिरामी पर्न थालेका छन् । जिल्ला अस्पताल, बर्दियाका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहका अनुसार यहाँ उपचारका लागि आउने ९० प्रतिशत चिसोका कारण बिरामी परेका बालबालिका रहेको बताए ।

रुघाखोकी, निमोनिया र पखालाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको उनले जनाए । सातायता अत्यधिक चिसोले निमोनियाका एकमहिने शिशुको मृत्यु भएको छ । यसैगरी वृद्ध पनि दम, रुघाखोकीलगायतका रोगबाट प्रभावित बन्दै गएको अस्पतालले जनाएको छ । हुस्सु र शीतलहरले कार्यालयमा आउने सेवाग्राही पनि कम भएका छन् । आवश्यक कामबाहेक घरबाहिर निस्कनेको संख्या कम हुँदै गएको छ ।

शीतलहर र बाक्लो हुस्सुले बर्दियाका भित्री सडक सुनसानजस्तै भएका छन् । सशस्त्र प्रहरी बल ३१ नम्बर गणले यहाँका बजार क्षेत्रका चोकचोकमा जाडोबाट जोगिन निःशुल्क दाउरा वितरण सुरु गरेको छ । पालिकाले भने यसपालि दाउरा उपलब्ध गराएको छैन । चिसोले विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । स्थानीय प्रशासनले शीतलहरबाट जोगिन डिभिजन वन कार्यालय र सामुदायिक वनसँग सुलभ दरमा दाउरा खरिद गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले बताए ।

पश्चिम नवलपरासीमा पनि जाडो बढेको छ । सोमबारदेखि दिउँसोको समयमा पनि बाक्लो हुस्सु लागेपछि जाडो बढेको हो । जसका कारण जनजीवन प्रभावित बनेको छ । जाडोबाट बच्न स्थानीय आगो ताप्न थालेका छन् भने पशु चौपायाको गोठ र खोरवरपर पनि न्यानो बनाउन आगो बालिदिने गरेका छन् । ‘जाडो बढ्यो, मर्निङ वाक गर्न पनि नसकिने अवस्था छ,’ परासीका मेवालाल अग्रहरीले भने, ‘बिहान बाक्लो हुस्सु लागेको छ । रुघाखोकी र ज्वरोबाट बालबालिका प्रभावित भएका छन् । अहिले नगरपालिकाबाट चोकचोकमा दाउरा वितरण गरेपछि आगो ताप्न पाइएको छ ।’

जाडो र हुस्सुबाट बच्नका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा विपद् व्यवस्थापन समिति बैठकले सामूहिक धुनी लगाएर आगो ताप्नका लागि वन कार्यालयमार्फत न्यूनतम मूल्यमा काठ बिक्री गर्ने, न्याना कपडा विपद् समितिमा तयारी अवस्थामा राख्ने, विद्यार्थीका ब्याग र स्कुल बसमा रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने, सवारीसाधनमा फग्गी लाइट अनिवार्य गर्ने निर्णय गरेको छ ।

‘तराईको जिल्ला भएकाले शीतलहरबाट जनजीवन प्रभावित हुने निश्चित छ, त्यसका लागि हामी सम्भावित घटना, उद्धार र प्रभाव कम गर्नका लागि तयारी अवस्थामा छौं,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘रामग्राम नगरपालिकाले चोकचोकमा दाउरा वितरण गरेको छ । प्रतापपुर र बर्दघाट नगरपालिकाले पनि वन कार्यालयबाट सहुलियत दरमा दाउरा खरिद गरेर आगो बाल्ने प्रबन्ध मिलाएका छन् । अन्य स्थानीय तहले पनि सहकार्य गरेर काम गरिरहेका छन् ।’

शीतलहरसँगै चिसो बढेपछि कपिलवस्तुका चार स्थानीय तहले विद्यालय बन्द गरेका छन् । यशोधरा र शुद्धोदन गाउँपालिकाले बुधबारदेखि पुस ३० सम्म जाडो बिदा दिएका छन् । कृष्णनगर नगरपालिकाले पनि २१ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको नगरप्रमुख रजतप्रताप शाहले बताए । सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिकाले पनि बिहीबारबाट माघ २ सम्म बिदा दिएको छ ।

चिसोका कारण बालबालिका बिरामी हुन थालेपछि विद्यालय बिदा दिइएको हो । कठ्यांग्रिँदो चिसोले यहाँको जनजीवन कष्टकर बनाएको छ । चोक, बजार र बाटोमा सर्वसाधारणको आवतजावत निकै कम छ । चिसोले अस्पतालमा रुघा, ज्वरो र निमोनियाका बिरामी बढेको तौलिहवा अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताए ।

प्रकाशित : पुस २३, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?