६ लाख खर्चेर मनकामनामा सुन्तलाको प्रतिमा 

हरिराम उप्रेती

गोरखा — सहिद लखन गाउँपालिका–२ मनकामनास्थित ढाडबारीमा सुन्तलाको प्रतिमा बनाइएको छ । काउली, लसुन, एभोकाडो, आलुलाई पछ्याउँदै गोरखामा कंक्रिटको सुन्तला बनाइएको हो ।

गोरखा उद्योग वाणिज्य संघले भने सुन्तला खेतीका लागि मनकामना प्रसिद्ध रहेको भन्दै सुन्तलाको प्रतिमा बनाएको दाबी गरेको छ । सोमबार गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष सकुन थापाले प्रतिमाको अनावरण गरेका हुन् ।

प्रतिमा निर्माणका लागि ६ लाख खर्च भएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठले बताए । हातको पन्जामा सुन्तलाको आकृति बनाएर ढाडबारी बसपार्कको बीचमा प्रतिमा बनाएको छ ।

‘गुलियो र रसिलो हुने भएकाले मनकामनाको सुन्तला भनेपछि देशभर प्रख्यात छ,’ उनले भने,‘यहाँको सुन्तलाको पहिचान स्थापित तथा प्रचारप्रसारका लागि पनि प्रतिमा निर्माण गरेका हौँ ।’

मनकामना क्षेत्रमा सुन्तला खेतीबाट किसानले सिजनमा ५० हजारदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।

सरकारले अब यही वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको शिक्षामन्त्री अशोक राईले जानकारी दिए । ‘असोज २ नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन हो । त्यसकारण त्यो दिन सबै नागरिकले सम्झनुपर्ने, गौरव मान्नसक्ने दिन हो । हामीले त्यही दिनको महत्वलाई ध्यानमा राखेर राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने निर्णयमा पुगेका छौँ,’ उनले भने ।

बैठकले शिक्षा क्षेत्रकै लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा र १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय गरेको छ । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको हो ।

त्यस्तै, विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले परराष्ट्र मामिला प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×