कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर–दक्षिण मार्गले जोड्दै हिमाल–तराई

कालीगण्डकी सडकले तराइ र हिमाललाइ जोड्ने भएकोले यो विषेश महत्वको छ ।
विनोद त्रिपाठी

मुस्ताङ — मोटर गुड्न थालेपछि पदमार्गका साना पसले हराउँदै गए । पदयात्रामा आउनेहरूका लागि पालिएका घोडा भेटिनै छोडे । आगो फुकेर चिया बनाउने थकाल्नी महिलाहरू विस्तारै पोखरा, काठमाडौंतिर बसाइँ सरे । तर, पनि गाउँ कुरेर बस्नेहरू आफ्नो थातथलो नछोड्ने प्रण गरेरै बसेका छन् ।

कालीगण्डकी नदी तिरैतिरका बासिन्दाहरूलाई जब सडकको ट्रयाक खुल्यो, तब विकासको अनुभव हुन थाल्यो । धुलाम्मे सडक अबको २/४ वर्षभित्रै कालोपत्रे हुने पक्का भएपछि झन् आफ्नै गाउँ संरक्षणमा जुटेका छन् । नदि किनारमा बसेकाहरू कालीगण्डकी सडकलाई हिमालदेखि तराईका बासिन्दाका लागि लाइफ लाइनको संज्ञा दिन्छन् ।

कारिडोर क्षेत्रमध्ये सबैभन्दा जटिल सडक खण्ड बेनी–जोमसोम अन्तर्गतको छ । ठूला पहरा, नदीको डरलाग्दा छाँगाहरू र अस्वाभाविक भूबनोटले सडक निर्माणमा कठिनाइ छ । यिनै भीरपहरा र खोंचका छेउछाउमा बस्नेहरूलाई जन्मथलो नै प्यारो छ । झन् सडक कालोपत्रे भएर जोमसोम नै छिचोल्ने भएपछि किनाराका बासिन्दाहरू हौसिएका छन् ।

धुलाम्मे सडकमा मोटर चल्न थालेको दशक नाघिसक्यो । तर, सलल चिल्लो कालोपत्रे सडक बनेको हेर्न रहर छ सबैलाई । बेनी–जोमसोम सडकको केन्द्रविन्दु नै हो कोबाङ बजार । थकालीको पुर्खौली थलो थाकखोला यहीं पर्छ । एकथरी थकालीहरू सहर पसिसके । गाउँकै बीचबाट धमाधम निर्माण भइरहेको सडक बनाउन सघाइरहेछन् यहाँ बस्नेहरू । कालोपत्रे सडक बनेपछि गाउँका अन्य विकास गर्ने योजना बनाएका छन् । सडकले पैदलमार्ग हराए पनि पर्यटक आगमन वृद्धि हुनेमा स्थानीय ढुक्क छन् । गाउँको सरसफाइ, शौचालय निर्माण, पाटीपौवा, चौतारा, होटलहरूको आकर्षक सजावटमा गाउँलेहरूबीच छलफल चल्न थालेको छ । हालै सकिएको स्थानीय निकायको चुनावमा निर्वाचित प्रतिनिधिहरू के कसरी गाउँको विकास गर्न सकिन्छ भनेर जुटेका छन् ।

‘कालीगण्डकी सडक निर्माणले हाम्रो गाउँलाइ सुविधा मात्र दिँदैन, तराई र हिमाललाई पनि नजिक बनाउने भएकाले यो सडक सबै नेपालीको जीवन हो,’ थासाङ गाउँपालिकाकी उपप्रमुख बालकुमारी शेरचन भन्छिन्, सडक नआउँदा गाउँमा कसरी बस्ने भन्ने लाग्थ्यो, अब कालोपत्रे नै हुने भएपछि हामीलाई अन्य विकासका काम गर्न हौसला मिलेको छ ।’

नदी किनारका घरहरूको सुरक्षा, होटलहरूको व्यवस्थापन र यहाँको विकासलाई अघि बढाउन सामूहिक छलफल सुरु गरिएको उनले बताइन् । थाकखोला कोबाङ गाउँका समाजसेवी भीम गौचनले कालीगण्डकी किनारमा रहेका सुकुम्बासीको व्यवस्थापन र नदी नियन्त्रणका लागि काम थाल्नुपर्ने बताए । ‘गाउँको विकासमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर नदीको बहाव रोक्न तटबन्धको काम तुरुन्त सुरु गर्नुपर्ने खाँचो छ,’ उनले भने, करिडोरमा निर्मित सडकले गाउँ विकासलाई टेवा पुग्ने र त्यसका लागि थप योजना निर्माण गर्न सरकारले ध्यान दिन आवश्यक छ ।’ तटबन्ध गरेर कोबाङको बस्ती जोगाउन सबै एकजुट हुनुपर्ने उनले बताए ।

सडक निर्माणले स्थानीयको जीवनयापनमा ठूलो परिवर्तन आएको गाउँका अगुवाहरूको अनुभव छ । सरकारले विभेदकारी बजेट दिएर कालीगण्डकी नदी किनारका बस्ती संरक्षणमा जोड दिनुपर्ने अर्का समाजसेवी अशोक गौचनको भनाइ छ ।

बेनीदेखि जोमसोमसम्म नदी किनारै किनार साना–ठूला होटल तथा रेस्टुरेन्ट छन् । हाल कालोपत्रे भइरहको सडक वरिपरि स्थानीयको बस्ती छ । सडक निर्माणले गाउँको थप बिकास हुने आसामा ठुला होटल निर्माणको काम पनि स्थानीयले शुरुवात गरेका छन् । कालीगण्डकी सडक निर्माण आयोजनाले अहिले काम धमाधम गरिरहेको छ ।

वर्षायाममा पहिरो झरेकाले काममा अवरोध भएको हुँदा सुख्खायाम पारेर अहिले काम गरिएको आयोजनाले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत जोमसोम–गलेश्वर खण्डको सडक निर्माण चलिरहेको छ । १ वर्षअघि टेन्डरमार्फत यो खण्ड निर्माणका लागि ४ वटा ठेकेदार कम्पनीले जिम्मा लिएपछि निर्माणको काम अघि बढेको छ । कोरला सिमाना जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको यो खण्ड सबैभन्दा जोखिम र निर्माण लागत अधिक भएको सडक हो । ७८ किमि लम्बाइको यो सडक निर्माण गर्न चार खण्डमा विभाजन गरिएको छ ।

बेनीदेखि गलेश्वरसम्मको ५ किमि सडक १ वर्षअघि नै कालोपत्रे भइसकेको छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि जोमसोमसम्म ३६ किमि निर्माणको काम सहज छ । तर, गलेश्वरदेखि घाँसासम्मको सडक निर्माण खतरा र जटिल रहेको सम्बन्धित प्राविधिकहरूले बताएका छन् ।

गलेश्वरदेखि जोमसोमसम्मको सडकको विशेषता दुई प्रकारको रहेको छ । मुस्ताङको भागमा कडा चट्टानी भूभाग निकै कम छ । तर, घाँसाभन्दा तल म्याग्दीको भूभागमा कडा चट्टान र ठूला पहराहरू छन् । ४ सय ३५ किमि लम्बाइको यो सडकले चीनको कोरला सिमानादेखि नवलपरासीको गैंडाकोटसम्म सोझै जोड्नेछ । सडक कालोपत्रे नहुँदा अहिले सवारी साधन निकै जोखिम मोलेर सञ्चालनमा छन् । भीरैभीरको एकतर्फी यो सडक कर्णाली करिडोरपछिको दोस्रो जोखिम राजमार्ग मानिन्छ । यो करिडोर राजमार्ग निर्माणका लागि २ अर्ब ४० करोड ४६ लाख बजेट विनियोजित छ ।

प्रकाशित : माघ २५, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?