कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ठोरी हुँदै भित्रिने भारतीयलाई निकुञ्जको बाटोले सकस

चितवन — भरतपुर भ्रमण वर्ष–२०२४ लाई लक्षित गरेर पर्साको ठोरीमा रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएको छ । भरतपुरलाई भारतसँग जोड्ने छोटो दूरीको नाका हो । कार्यालयले भारतीय नम्बर प्लेट भएका गाडीलाई निश्चित समयसम्मका लागि नेपाल घुम्न शुल्कसहित अस्थायी अनुमतिपत्र दिन सुरु गरेको छ । तर भरतपुरसम्म पुग्दा दुई ठाउँमा गरेर झण्डै ३० किलोमिटर निकुञ्जको जंगल छिचोल्नु पर्छ ।

ठोरी हुँदै भित्रिने भारतीयलाई निकुञ्जको बाटोले सकस

निकुञ्ज भित्रको बाटो कच्ची छ । ‘अझ ठोरीबाट माडीसम्म पुग्ने बगइ जंगलको बाटो त झनै अप्ठ्यारो छ,’ माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले भनिन् । ठोरीबाट बगईसम्म करिब १८ किलोमिटर जंगलको बाटो छ । यो बाटोमा ग्राभेल पनि राम्रोसँग बिछ्याइएको छैन । माडी कटेर उत्तर लागेपछि बनकट्टाबाट कसरासम्मको १० किलोमिटर जंगलको बाटो कच्ची त छ तर बगईको जस्तो अफ्ठ्यारो भने छैन । माडीभित्र आधा बाटो राम्रैसँग कालोपत्रे भएको छ । आधा बाटो काम सम्पन्न हुने अवस्थामा छ । भरतपुर सुरु भएपछि सबै बाटो कालोपत्रे छ । ‘जंगलभित्र त्यो पनि बगइदेखि ठोरी नजिकसम्मको बाटो त्यति सहज छैन । पर्यटन विकासको कुरा गर्दा यो बाटो सुधारमा पनि ध्यान पुर्‍याउन आवश्यक छ,’ माडीकी मेयर महतोले भनिन् । ठोरी छोटी भन्सारले गएको वैशाख १९ गतेदेखि अस्थायी अनुमतिपत्र दिन सुरु गरेको हो ।

त्यसयता महिना दिनको अवधिमा भारतीय नम्बरका १७८ गाडीले अस्थायी अनुमतिपत्र लिएर नेपाल छिरेको ठोरी छोटी भन्सार कार्यालयका नायब सुब्बा शशी विश्वकर्माले बताए ।

भ्रमण वर्षका लागि भारत बिहारको पश्चिम दक्षिण क्षेत्रका पर्यटकलाई सहज होस् भनेर भन्सार सेवा सुरु गरेपछि भरतपुर महानगरपालिकाले शनिबार ठोरीमै दुई पक्षीय छलफल कार्यक्रमसमेत आयोजना गर्‍यो । वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत डिएस मिना र भारतको सिमावर्ती क्षेत्र गौनाहा, जमुनियाका पर्यटन क्षेत्रमा चासो राख्ने भारतीय पनि सहभागी थिए । ‘अहिले मलाई बेतिया र मुजफ्फरपुरसम्मबाट फोन आउँछ । ठोरीबाटै गाडीको भन्सार कागज तयार हुने भएको हो र भनेर भारतीय साथीहरुले सोध्छन्,’ ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भने ।

गाडीमा घुम्ने आउने भारतीयको गुनासो प्रहरीले अनावश्यक जाँच गर्‍यो भन्ने रहने गरेको उनले बताए । ‘पुलिसबाट पार लाग्न गाह्रो छ फेरि आर्मी पनि छ झन् के होला भन्ने प्रश्न गर्छन् । तपाइँ पनि हामीसँगै जानु पर्छ, बल्ल सजिलो होला भन्छन्,’ अध्यक्ष श्रेष्ठले भने । निकुञ्जको जंगल छिर्दा नेपाली सेनाको पोष्ट हुँदै अगाडि बढ्नु पर्ने हुन्छ । अमुवा, बगइ, बनकट्टा र कसरामा बाटो छिर्ने ठाउँमा सेनाका पोष्ट छन् ।

यसका साथै कच्ची बाटोले दिक्दार भए घुम्न आउनेमा कस्तो प्रभाव पर्ला भनेर उनले प्रश्न गरे । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नका लागि अनेकौं दर्शनीय स्थल रहेका कारण घुम्न आउनेहरु मोहित हुने बताइन् । उनले भारतीय नागरिक ढुक्क भएर भरतपुर घुम्न आउन सक्ने र बैबाहिक समारोह पनि भरतपुरमा राख्न मिल्ने बताइन् । ‘तर निकुञ्ज भित्रको बाटो कालोपत्रे नहुँदा केही अफ्ठ्यारो त होला । बनकट्टा कसराभन्दा बगइ ठोरीको बाटो अलि खराब छ । यसलाई सुधार गर्न संघीय सरकार अन्तर्गतको डिभिजन सडक कार्यालयलाई अनुरोध गरौंला । प्रदेशको बजेट तयार हुँदैछ, प्रदेशबाट पनि बाटो सुधारमा सहयोग होस्,’ भरतपुरकी मेयर दाहालले भनिन् । उनले कही कतैबाट बजेट नआए भरतपुर, माडी र ठोरी गाउँपालिकाले संयुक्त भएर काम गर्ने पनि बताइन् ।

भरतपुरबाट ठोरी भन्सार ७५ किलोमिटर दक्षिणमा छ । भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भरतपुरबाट अन्य भन्सार नाका रहेका ठाउँहरु वीरगञ्जनजिकको रक्सौल १३५ किलोमिटर र भैरहवा सुनौली नाका १२१ किलोमिटर पर रहेको बताए । अरु नाकाभन्दा ठोरी छोटो भएका कारण भरतपुर घुम्न चाहने भारतीय रोजाइमा पर्न सक्ने उनले बताए ।

चितवन निकुञ्जभित्र पर्ने बगइ जंगलको बाटो । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

प्रकाशित : जेष्ठ २७, २०८१ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×