कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

यार्चा टिप्ने चटारोले सुनसान तातोपानी नाका

सर्वसाधारणकै अनुमतिपत्रलाई आधार मानेर चीनको उच्च इलाकामा यार्चा टिप्न जान दिएयता यार्चा संकलक गाउँ रित्याएर लेक पुगे
अनिश तिवारी

सिन्धुपाल्चोक — प्रायः पसल र होटल ठप्प छन् । खुलेका केही पसलमा ग्राहक छैनन् । मितेरी पुल चीनबाट आयातित सवारीले भरिएको छ । कन्टेनर पारि गएर बसेका देखिन्छन् । चिनियाँ सुरक्षाकर्मीबाहेक सीमा भेगका भव्य संरचनामा टहलिन बसेका केही नेपाली मात्रै छन् ।

यार्चा टिप्ने चटारोले सुनसान तातोपानी नाका

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने तातोपानी नाकाको लिपिङपारिको बजारमा हाल देखिने सुनसान लाग्दा दृश्य हुन् यी । यसको कारण एउटै छ, यार्चा सिजन । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्चागुम्बु संकलन गर्न चीन र नेपालको उच्च लेकाली क्षेत्रमा पुगिसकेका छन् ।

चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकाली क्षेत्रमा यार्चा संकलन र बिक्री गर्ने अनुमति दिएको तातोपानी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिनेश बराईले जनाए । सबैजसो स्थानीय र व्यवसायी यार्चाकै लागि लेक भेगमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन । यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमा क्षेत्रका गरी तीन हजारभन्दा बढी यार्चा संकलक लेक क्षेत्र पुग्ने गर्थे । वैशाख दोस्रो सातादेखि सुरु हुने यार्चा सिजनका लागि सीमा क्षेत्रबाट मात्रै झन्डै सात सय जना यार्चा टिप्न गएको प्रारम्भिक अनुमान छ ।

चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका आकर्षक चिनियाँ बजारमा झन्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए । ‘चलेका पसल पनि अरूलाई जिम्मा दिएर गएका छन् भने धेरैजसोले सटर बन्द नै गरेर त्यता लागेकाले चिनियाँ बजार सुनसान बनेको छ,’ भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले भने ।

यसअघि नेपाली यार्चा संकलकलाई चीनको उच्च इलाकामा यार्चा टिप्न पूरै बन्देज थियो । चीनको भूभागमा पर्ने गौरीशंकर हिमशृंखला र पर्वतको फेदीस्थित लाप्टङ, रेल्दोन, मानचौरजस्ता स्थानका यार्चाको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्चा संकलन गर्न जाने गरेका थिए । अहिले सर्वसाधारणकै अनुमतिपत्रलाई आधार मानेर पास दिएर यार्चा टिप्न दिएयता उत्साहित स्थानीय यार्चा संकलक गाउँ रित्याएर लेकमा पुगेका हुन् । महँगो मूल्यका इलेक्ट्रिक सवारी आयात भइरहे पनि यार्चा सिजनकै कारण चिनियाँ बजार सुनसान हुँदा कारोबार घटेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए ।

भूकम्प र परकम्पनको ९ वर्षपछि नाकामा पहिलेकै अवस्थामा फर्किने आसमा दुई दर्जनभन्दा बढी स्थानीयले पुराना घर मर्मतसम्भार र टहरामा चिनियाँ सामान राखेर होटल र पसल सञ्चालनमा ल्याएका छन् । वैशाख दोस्रो सातादेखि स्थानीय व्यवसायी यार्चा टिप्न लेक पुगेकाले बजार सुनसान हुन थालेपछि यहाँका होटल व्यवसायी भोटेकोशी–२ का सेते श्रेष्ठ चिन्तित छन् । ‘यार्चा संकलनको सिजन सुरु भएयता खासै व्यापार छैन, अब बर्खा सुरु हुन लाग्यो, नाकामा फेरि उठीबास होला भन्ने चिन्ताले पिरोल्न थालेको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १०, २०८१ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?