कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

साहुको ऋण तिर्दै सकिन्छ विदेशमा कमाएको धन

दोलखा — २६ वर्षिया गंगा थामीलाई छोराछोरी र सासुससुरा पाल्ने चिन्ताले पिरोलेको छ । गएको कार्तिकमा रोजगारीका क्रममा भारतको दार्जेलिङमा उनका २८ वर्षीय श्रीमान्‌को लडेर मृत्यु भयो । श्रीमान्‌कै रोजगारीले घर धानेकी उनी परिवार पाल्ने विकल्पको खाजी गरिरहेकी छन् । एक छोरा र एक छोरीसहित बृद्धबृद्धा सासुससुरा पाल्नुदेखि घर व्यवहार चलाउन उनले दैनिक बनिवुतोले धानिरहेकी छन् । छोराछोरीको शिक्षालाई लिएर उनलाई चिन्ता थपिएको छ ।

साहुको ऋण तिर्दै सकिन्छ विदेशमा कमाएको धन

सदरमुकाम चरिकोटबाट ५० किलोटिर उत्तरतर्फ रहेको विगु गाउँपालिका–८ थामीचागु गाउँ जिल्लाकै एक मात्र अल्पसंख्यक थामीहरुको गाउँ हो । ४ सय ६५ घरधुरी रहेको थामीचागुमा उब्जनीले वर्षको ३ महिना मुस्किलले पुग्ने गरेको छ ।

निला जस्ताले झुरुप्प परेको बस्ती टाढाबाट हेर्दा निकै आर्कषक देखिन्छ । तर मानव विकास सुचकांक, चेतना र आर्थिकरुपमा निकै पिछडिएको गाउँ हो थामीचागु । कलिलैमा विवाह गर्ने प्रचलनले जरो गाडेको छ यहाँ । बालबिवाहको कुपर्था केही हदसम्म हटेपनि अझै लुकिछिपी उही प्रथा कायम छ ।

सानैमा बिवाह गरेपछि अनिवार्य भिन्न बस्नुपर्ने प्रथाका कारण सानैमा घर चलाउन पढाई छाडेर भारतको सिक्किम दार्जेलिङ पस्ने गरेका छन् तन्नेरीहरु । यो गाउँमा १५/१६ बर्षको उमेरमा आमा बन्नेहरुको लर्को नै छ । कक्षा ७/८ पढ्दा पढ्दै उमेरै नपुगी विवाह गर्ने र बीचैमा विद्यालय छाड्नेहरुपनि उत्तिकै छन् । सानैमा विवाह गरेकी गंगाका श्रीमान् पनि घर व्यवहार चलाउनकै लागि भारत पसेका थिए ।

‘उताबाट श्रीमानले ज्याला मजदुरी गरेको पैसा घर पठाउथे, त्यसैले घर धानेकी थिएँ,’ उनले भनिन्, ‘जति कमाएर पठाए पनि खान लाउन ठिक्क थियो, अब त्यो बाटो पनि बन्द भयो ।’ भारत जानेहरु साहुसँग बाटो खर्च ऋण मागेर जाने गरेका छन् । पछिल्लो समयमा थामीचागुका युवा कलिलैमा विवाह गरेर घर धान्नकै लागि साहुसँग ऋण लिएर विदेश पलायन हुने गरेका छन् । हरेक घरबाट भारत वा तेस्रो मुलक जाने भेटिन्छन् । थामीचागुका झण्डै ४ सय स्थानीय रोजगारीको सिलसिलामा विदेशिएका छन् ।

कुनै समय घर छाउने ढुङगा बोकर घर व्यवहार धान्ने थामीचागुका पुरुष भूकम्पपछि सबै घर जस्ताले छाउने चलनले बेरोजगार बने । आयआर्जनको कुनै विकल्प नभएका कारण घर चलाउनकै लागि ऋण काढेर विदेश जाने बाध्यता आइपरेको उनीहरु बताउँछन् । विदेशबाट फर्केर गाउँमा व्यवसायीक कुखुरा पालिरहेकी छलीमाया थामी श्रीमान् व्यवसायमा डुबेपछि पुनः साहुसँग चर्को ऋण काढेर मलेसिया गएका छन् ।

‘विदेशबाट फर्केर घरमै कुखुरा पाल्नुभयो, तर धमाधम कुखुरा मरेपछि ऋण लाग्यो,’ छलिमायाले भनिन, ‘त्यही ऋण तिर्न फेरि साहुबाट ऋण लिएर घर विदेश जानुभयो ।’ विवाह गरेपछि अनिवार्य अंशवण्डाले खेतीयोग्य जमिन खुम्चिँदै गएको छ गाउँमा । आर्थिक अवस्था नाजुक भएकै कारण पुतली थामीले पढ्दा पढ्दैको छोरालाई ऋण काढेर विदेश पठाइन् । उनका श्रीमान् पनि विदेश नै छन् ।

‘गाउँमा केही रोजगारी छैन, खेती गरेर खान जग्गा जमिन पनि छैन,’ उनले भनिन्, ‘साहुबाट ऋण काढेर श्रीमान् र छोरोलाई विदेश पठाएको, उताबाट पठाएको पैसा ऋण तिर्न र विहान बेलुकी खान मात्रै पुग्छ ।’ श्रीमान र छोरालाई विदेश कमाउन पठाएपनि उनको आर्थिक अवस्थामा परिवर्तन आउन सकेको छैन ।

एक छोरा र एक छोरी विद्यालय गइरहेपनि जेठी छोरीले आर्थिक अवस्थाकै कारण ७ कक्षा पढ्दापढ्दै विद्यालय छाडिन्। निकै कठिन भीरका गारेटोहरु पार गर्दै बाख्रा चराउनु थामीचागुवासीको दैनिकी हो । घाँसदाउरा गर्ने भीरको बाटोबाट खसेर गएको बर्ष एक जनाले ज्यान गुमाए । घाँसदाउरा र बारी पुग्ने कालिञ्चोक खोलाको झोलुङगे पुल जीर्ण भएर खस्नै लागेको छ । तर त्यही झोलुङगेबाट घाँसदाउरा गनुपर्ने बाध्यता छ ।

परिवारका सदस्यलाई विदेश पठाएपछि गाउँ छाडेर सहर पस्ने धेरै छन्। तर थामीचागुका कमै स्थानीयले गाउँ छाडेको कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रकास पाण्डेले बताए । ‘आर्थिक अवस्था निकै नाजुक छ थामीचागुका स्थानीयको, केही समयअघिसम्म यो गाउँ गुमनामै थियो,’ उनले भने, ‘चेतनामा निकै पछि परेकाले विस्तारै शिक्षातर्फ भने परिवर्तन आउन लागेको छ ।’

४/५ कक्षा पढेपछि विद्यालय छाड्ने गरेका थामीचागुका बालबालिकामा विद्यालय छाडने क्रममा सुधार आएको उनले बताए । थामीचागुका नजिकै निजी क्षेत्रका जलविद्युत ओयजना बनिरहेका छन् । तर ती आयोजनामा पनि स्थानीयले रोजगारी पाउन नसकेको वडा अध्यक्ष हिरा थामीले बताए ।

‘गाउँमा केही गरेर खान पुग्ने पाखो जमिन छैन, कही कतैबाट थामीचागुको जीवनस्तर सुधारका कार्यक्रम पनि छैन, सबै क्षेत्रमा पछि परेकाले गाउँ छाडनुपर्ने बाध्यता छ,’ उनले भने, हिजो भारततिर भारि बोक्न जान्थ्यौं, अहिले ऋण काढेर खाडी फरक त्यति मात्रै हो ।’ खाडीबाट पठाएको रकमले वर्षको नौं महिना किनेरै खानुपर्ने वाध्यताका कारण आर्थिक रुपमा पनि स्थानीयको अवस्थामा परिवर्तन आउन नसकेको उनले बताए ।

‘चेतना अभावमा अझै पनि लुकीछिपी सानैमा विवाह गर्ने कुप्रथा छ, विवाहपछि भिन्न बस्ने,’ उनले भने, ‘परिवार गाउँका युवा कमाउन भन्दा पनि घर चलाउन विदेश गएकाछन्।’ आर्थिक अवस्था नाजुक मात्रै होइन अल्पसंख्यक थामीचागु विकासमा पनि पछि परेको उनले गुनासो गरे ।

प्रकाशित : चैत्र ४, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×