कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्लाष्टिक फोहोर व्यवस्थापन गर्न ‘ग्रिन सिफ्ट’ परियोजना 

रमेशकुमार पौडेल

चितवन — प्लाष्टिकको फोहर विकराल बन्दै गएका कारण तीनवटा संस्था मिलेर यसको व्यवस्थापनका लागि ‘ग्रिन सिफ्ट’ परियोजना सञ्चालन गर्ने भएका छन् । युरोपियन युनियनको आर्थिक सहयोगमा चार वर्षसम्म चल्ने सो परियोजनाको बुधबार भरतपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले औपचारिक उद्घाटन गरिन् । परियोजना तीन प्रदेशका नौ जिल्लामा चल्ने छ ।

प्लाष्टिक फोहोर व्यवस्थापन गर्न ‘ग्रिन सिफ्ट’ परियोजना 

वागमती प्रदेशको भरतपुर र ललितपुर महानगरपालिका तथा इच्छाकामना गाउँपालिका, मधेस प्रदेशको जनकपुर, बर्दिबास र खडक तथा लुम्बिनी प्रदेशको नेपालगञ्ज, कोहलपुर र तिलोत्तमामा यो परियोजना सञ्चालन हुने क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले जानकारी दिए । क्रियशनसहित रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याबले यो परियोजना चलाउने छन् ।

‘प्लाष्टिकको जथाभावी प्रयोग बढ्यो । यसले हिमालदेखि समुन्द्रसम्म समस्या ल्याएको छ । यसले माटो, पानी, मानव स्वास्थ्य, वातारण र जलचर जताततै हानी गरेको छ । हामीले प्लाष्टिकको बढ्दो प्रयोगलाई व्यवस्थित गर्न आवश्यक देखेर यो परियोजना सुरु गरेको हौं,' मिश्रले भने । प्लाष्टिक नष्ट हुन चार सय वर्ष लाग्ने भएका कारण यसको व्यस्थित र उचित उपयोग अपरिहार्य भएको उनले बताए ।

‘हामी अहिले नै प्लाष्टिकलाई पुर्ण बन्देज नै लगाउ त भन्दैनौं । तर पुनःप्रयोग र रिसाइकलमा जोड दिन आवश्यक छ । प्लाष्टिकलाई फोहर बनाए यसले समस्या ल्याउछ तर आर्थिक चक्रसँग जोड्न सके प्लाष्टिक मोहरमा बदलिन्छ । फोहर बन्न पाउँदैन,’ मिश्रले भने । यही विषयमा समुदायदेखि स्थानीय, प्रदेश र संघीय सरकारलाई जागरुक बनाउने उद्देश्यले परियोजना सञ्चालन गर्ने उनले बताए ।

परियोजना सञ्चालन हुने हरेक पालिकाहरुमा चारवटा सामुदायिक विद्यालयमा विद्यार्थीका समूह बन्ने छन् । बालबालिकादेखि नै प्लाष्टिक व्यवस्थापनका बारेमा बुझाए परिणाम राम्रो हुने भएका कारणले विद्यालयलाई समेटेको मिश्रको भनाइ छ । त्यसै गरी युवा समुदाय र फोहर व्यवस्थापन र संकलनमा लागेका मजदुरहरुलाई पनि समेटेर कार्यक्रम गर्ने उनले बताए ।

ठोस फोहर व्यवस्थापनको नीति बनाउन पालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गर्ने मिश्रको भनाइ छ । परियोजना अवधिमा ११ हजार विद्यार्थी र युवालाई समेट्ने लक्ष्य राखेको उनले बताए । ‘प्लाष्टिक भनेको खेर जाने फोहर हैन । यसलाई उपयोग गर्न जाने बेफाइदा छैन भन्ने सिकाउनु हाम्रो लक्ष्य हो । यसले वातावरण र अर्थतन्त्रलाई राम्रो बनाउने आशा छ,’ मिश्रले भने ।

प्रकाशित : फाल्गुन ९, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×