भूकम्पपीडितले जगै खन्न सकेनन्

‘पहिलो किस्ताको रकमले जग खन्न पनि नपुग्ने भएर खनेकै छैन, कसरी फिर्ता गर्नु ? सरकारले जे गरे पनि गरोस्’
हरिहरसिंह राठौर

धादिङ — भूकम्पले क्षतिग्रस्त घरहरूको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला जिल्लाका १५ हजार घरधुरीले जगै खनेका छैनन् ।

गाउँबस्तीका पुरुषहरू पहिलो किस्ता लिएर बिदेसिएको, निर्माण सामग्री र कामदारको अभाव देखाउँदै घरमा बसेका महिलाले आफू मात्रैले घर निर्माण गर्न जग पनि खन्न नसक्ने बताएका छन् ।

नेत्रावती डवजोङ–५, नयाँछापका पूर्णबहादुर विश्वकर्माले गत साउन २१ गते मात्रै पहिलो किस्ता बुझेर थप कमाइ गर्न दुबईतिर गए । परिवारलाई भूकम्पपछि निर्माण गरेको जस्ताको टहरामा छोडेर ५० हजारले मात्रै घर निर्माण गर्न नसकिने भएपछि थप कमाई गर्न गएका पूर्णबहादुरले दुवईबाट रकम पनि पठाएका छैनन्, ‘जग मात्र पनि पूरा गर्न सकिएको छैन, कसरी घर बनाउनु ?’ श्रीमती फूलमाया विकले भनिन् ।

कटुन्जेकै कृष्णबहादुर गुरुङ पनि थप कमाई गरी घर निर्माण गर्न पहिलो किस्ता लिएर विदेश उडे । भूकम्पलगत्तै चर्केको पुरानो घर मर्मत गर्न २ लाख खर्च गरे, जेनतेन परिवार पुरानै घरमा गुजारा गरेका कृष्णबहादुर थप कमाइ गरेर राम्रो परिवार अनुकूलको घर निर्माण गर्न विदेश गएका हुन् । ‘पहिलो किस्ताको रकमले जग खन्न पनि नपुग्ने भएर खनेकै छैन, रकम कसरी फिर्ता गर्नु ? सरकारले जे गरे पनि गरोस्,’ श्रीमती सुशीला गुरुङले भनिन् ।

प्राधिकरणसँगको सहकार्यमा भूकम्प प्रतिरोधी घर निर्माण गर्न कटुन्जेमा सहजीकरण गरिरहेको पौरखी नेपाल नामक संस्थाले अन्य जिल्लामा घर भएका र पहिलो किस्ता लिएर जग पनि नखनेका लाभग्राहीले पुस १५ गतेभित्र लिएको रकम फिर्ता गर्ने ताकेताका साथ सूचना प्रकाशन गरेपछि चुप लागेर बसेका लाभग्राहीलाई जग खन्न हतारो भएको छ ।

कटुन्जे निश्चल बस्तीकी कल्पना तिरुवालले रकम फिर्ता गर्नुभन्दा भारतीय ज्यामी–मजदुर लगाएर बिहीबार मात्रै जग खनिन् । ‘निकै करकापमा हातै समातेर जग खन्न पठाउनुपर्ने अवस्था छ,’ पुनर्निर्माणको सहजीकरण गर्न कटुन्जे आएका पौरखी नेपालका कार्यक्रम अधिकृत धर्मबहादुर बजगाईंले भने ।

गलत विवरण दिई पहिलो किस्ता लिएर जग समेत नखन्ने करिब १२ हजार घरधुरीको पहिचान गर्न हम्मे परेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नक्कली भूकम्प पीडितलाई रकम फिर्ता गर्ने पुस १५ गतेसम्म म्याद दिए पनि हालसम्म ३ जनालेमात्रै फिर्ता गरेका छन् । रकम फिर्ता गर्नेमा गत आर्थिक वर्षमा सदरमुकाम बीचबजारस्थित एभरेस्ट बैंकका घरधनी दिलबहादुर अमात्य र चालु आर्थिक वर्षमा २ जनाले मात्रै रकम फिर्ता गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तेस्रो स्थापना दिवसका साताव्यापी अवसरमा जिल्लास्तरीय अनुगमन समितिसमेत लिएर सदरमुकामबाहिर नेत्रावती गाउँपालिका पुगेका अधिकारीसँग अधिकांश महिलाले पुरुष घरमा नभएको र गाउँबस्तीमा ज्यामी कामदार पनि नभएकाले जग समेत खन्न नसकिएको, लिएको ५० हजार भत्केको घर मर्मतमै सकिएकाले ५० हजार रकम फिर्ता गर्न नसकिने बताएका छन् ।

अनुदानले घर निर्माण गरी दोस्रो र तेस्रो किस्ता लिन आवेदन दिएकाहरूले पनि नामै मात्रका घर निर्माण गरेका छन् । एकदेखि २ कोठे घर निर्माण गरेका स्थानीयवासीहरू आफूले बनाएको घर हालसम्म प्रयोग गरेका छैनन् । कटुन्जेकै सासू अमृता र बुहारी सेतीमाया गुरुङले जोडिएका २ कोठे घर निर्माण गरेका छन् तर नयाँ घरका झ्यालढोकामा जाली हालेर बोइलर कुखुरा पालेर पूरै परिवार पुरानै घरमा आश्रय लिएको छ ।

जिल्लामा पहिचान गरिएका ८१ हजार ९ सय २९ लाभग्राहीमध्ये ७० हजार ९ सय ८५ ले सम्झौता गरेका, ७० हजार ७ सय १३ जनाले पहिलो किस्ता लिएर पनि ५८ हजारले मात्रै दोस्रो किस्ता लिएका छन् । १२ हजारले पहिलो किस्ता लिएर घरको जगसमेत नखनेकाले रकम फिर्ताको सूचना पुनर्निर्माण प्राधिकरणले टाँस गरेको छ ।

प्रकाशित : पुस १६, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

सेनाद्वारा ऐतिहासिक गढी मर्मत

हरिहरसिंह राठौर

धादिङ — मर्मत र संरक्षण अभावले ओझेलमा परेको धादिङ जिल्लाको दक्षिणी भेगस्थित ऐतिहासिक कान्द्राङगढी नेपाली सेनाले मर्मत गरेको छ । उक्त गढीको संरक्षणमा चासो देखाएको नेपाली सेनाले मर्मतपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।

चितवनको सिमनामा पर्ने बेनीघाट रोराङ–२ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरूको पालामा निर्माण भएको जनविश्वास रहेको छ । समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै साना ठूला गरी चारवटा सुरुङ देख्न सकिन्छ ।

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरू सजिलैसँग देख्न सकिन्छ । तत्कालीन सेन शासकहरूले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनहरूले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास छ । केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि संरक्षणका निम्ति कसैले चासो नदिँदा
ती शिलालेखहरू अहिले हराइसकेको बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष टंकबहादुर थापाले बताए ।

तत्कालीन सेन वंशहरूको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ । कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिलवाल बताउँछन् । पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ । चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ ।

ऐतिहासिक महत्त्व बोकेको कान्द्राङ गढीको संरक्षणका लागि अहिलेसम्म राज्यको तर्फबाट कुनै चासो नदेखाइएपछि सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्त्वपूर्ण धरोहरका रूपमा रहेका गढीकोपुनर्निर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न रक्षा मन्त्रालयमार्फत सरकारसँग अनुमति पाएको छ ।

गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा सेनालाई दिन सरकारले निर्णय गरिसकेको छ । ऐतिहासिक महत्त्वका गढीहरू आगामी पाँच वर्षभित्रमा मर्मत, पुनर्निर्माण संरक्षण गर्ने कार्ययोजना नेपाली सेनाले बनाएको र
सोही अभियानअन्तर्गत कान्द्राङगढीकोसंरक्षणका लागि पहिलो चरणमा गढी क्षेत्र सरसफाइ गरिएको मर्मतमा खटिएका नेपाली सेनाको गजुरीस्थित देवीदत्त गुल्मका सेनानी गौरव सिलवालले बताए ।

प्रकाशित : पुस ११, २०७५ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्