पत्नीको हत्या आरोपीद्वारा कारागारभित्र आत्महत्या

कान्तिपुर संवाददाता

दोलखा — पत्नी हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका एक युवकले बुधवार बिहान आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका—५ लापिलाङका २२ वर्षीय च्याङा शेर्पाले कारागारभित्रको शौचालयमा आत्महत्या गरेका हुन् । 

दोलखा जिल्ला अदालतले पुर्पक्षमा पठाएको राति नै शौचालयभित्रको झ्यालमा जुत्ताको तुनाको पासो लाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।


गत पुस २० गते २७ वर्षीया पत्नी लक्की शेर्पाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धान सकेर हत्या अभियोगमा अदालत पेस गरिएका च्याङालाई मङ्गलवार थुनामा पठाइएको थियो ।


दुई वर्षीया र ६ महिनाको काखको छोरी रहेको च्याङाले कोठामा नै श्रीमती लक्कीलाई सलको पासो लगाई हत्या गरेको आरोप छ । कपडा सिलाउने र ब्युटि पार्लर व्यवसाय गर्ने लक्कीको मृत्युको विषयलाई च्याङाको परिवारले भने आत्महत्या दाबी गर्दै आएको छ ।


च्याङाका दाजु छिरिङ शेर्पाले भाइ च्याङाको कारागारभित्र आत्महत्या भनिएको विषयप्रति आशंका व्यक्त गरे । मिडियाले कारागारभित्रको निरीक्षण गरेर यथार्थ बाहिर ल्याउन उनले आग्रह गरेका छन् ।


प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले च्याङाको आत्महत्या खबर पाउने बित्तिकै सञ्चारकर्मी र उनका परिवारलाई जानकारी दिएका थिए । छिरिङ सहितको उपस्थितिमा मुचुल्का गरी च्याङाको शव चरिकोट अस्पतालस्थित शवगृहमा लगिएको छ ।

प्रकाशित : माघ १६, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

हजारे अनशनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकपाल नियुक्तिको माग राख्दै भारतका सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि अनशन सुरु गरेका छन् । उनले महाराष्ट्रस्थित आफ्नो गाउँ रालेगण सिद्धिमा बुधबार बिहानबाट अनशन सुरु गरेका हुन् ।

लोकपालसँग भ्रष्टाचारको मामिलासम्बन्धी जोसुकैलाई उजुरी सुनुवाइ गर्ने अधिकार दिइएको छ । लोकपाल विधेयक पारित भएको ५ वर्ष बितिसक्दा पनि मोदी सरकारले लोकपाल नियुक्ति नगरेपछि हजारे सरकारसँग रुष्ट छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा पटकपटक चिठ्ठी लेखे पनि कुनै सुनुवाइ नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै, महाराष्ट्र राज्यमा लोकायुक्त विधेयक पारित हुनुपर्ने मागसमेत हजारेले राखेका छन् ।

आफ्नो अनशन देश र जनताको पक्षमा रहेको हजारेको दाबी छ । माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान हजारेको रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : माघ १६, २०७५ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×