'सहिदहरुको बलिदानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो'

प्रताप विष्ट

हेटौंडा — मुख्यमन्त्री डोरमणि पौडेलले सहिदहरुको बलिदान र उत्सर्गले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकले आफ्नो जीवनमा अनुसरण गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने । सहिद दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका—११ नवलपुरस्थित सहिद स्मारकमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सहिदहरुको सपना पुरा गर्न सबैले इमान्दारी पूर्वक काम गर्नुपर्ने बताए ।


‘हाम्रा आचरण र चिन्तनहरु अझै पुरातन र पम्परागत शैलीका छन्,’ मुख्यमन्त्री पौडेलले भने, ‘सहिदहरुको सपना पुरा गर्न हाम्रा आचरण र शैलीहरु परिवर्तन गर्नुपर्छ ।’


प्रदेश—३ सरकारले आयोजना गरेको शहिद दिवस कार्यक्रममा शहिद स्मारक हेटौडाका अध्यक्षसमेत रहेका मुख्यमन्त्री पौडेलले सहिद स्मारकले विगत २४ वर्षदेखि सहिद दिवस मनाउँदै आएको बताए । स्मारकमा परिवर्तनका निम्ति विभिन्न कालखण्डमा बलिदान दिने १२ जना सहिदहरुको मूर्ति एउटै ढुंगामा कुदिएको छ । विक्रम संवत १९९७ सालदेखि ०६२/०६३ सालसम्म विभिन्न राजनीतिक आन्दोलनमा जीवन उत्सर्ग गर्नेहरुको स्मृति स्मारकमा सहिद स्तम्भ निर्माण गरिएको मुख्यमन्त्री पौडेलले बताए ।


सहिद स्मारक मुलुकको परिवर्तनमा जीवन गुमाउने सहिदहरुको तिर्थस्थल भएको उनले दाबी गरे । प्रदेश—३ का आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकट्टेलले सहिदहरुको बलिदानबाट राणा शासन, निरकुश पंचायत, तानाशाही राजतन्त्र फालेर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्र स्थापना गर्न सफल भएको बताए । ‘सहिदहरुले देखाएको बाटोमा इमान्दारपूर्वक अघि बढ्न सकेमा मुलुक समृद्ध र नागरिक सुखी बन्नेछन्,’ उनले भने ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, स्मारक विकास समितिका सदस्य एवं पूर्व जिविस सभापति रामेश्वर रानालगायतले बोलेका थिए । कार्यक्रम सुरु हुनु भन्दाअघि हेटौंडा—११ नवलपुरस्थित सहिद गेटबाट स्मारकसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा प्रदेश—३ मन्त्रीहरु, प्रदेश सभाका सदस्य, प्रदेशका मुख्य सचिवलगायत उच्चपदस्थ कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधीहरु र स्थानीयवासीको उल्लेख्य सहभागी थियो ।


प्रदेश—३ सरकारले सहिद दिवसको अवसरमा बुधबार प्रदेश—३ मा सार्वजनिक बिदा दिएको छ ।


प्रकाशित : माघ १६, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

सामूहिक खेतीमा महिला

दुर्गालाल केसी

दाङ — उनीहरूको जीवनको महत्त्वपूर्ण समय जमिनदारका घरमा कमैया बसेर बित्यो । तीन पुस्ता कमैयाका रूपमा बिताए । आफ्नो नाममा जग्गा भएन । ०५७ साउन २ गते सरकारले मुलुकमा कमैया मुक्ति घोषणा गर्‍यो । जमिनदारको घरबाट त मुक्ति मिल्यो । बासको ठेगान भएन । कमैयाको लगतमा नाम छुट्यो, जग्गा पाइएन ।

त्यसपछि अलपत्र अवस्था ।
यस्तो समस्यामा परेका २५ मुक्त कमैया बस्तीका महिला मिलेर लमही नगरपालिका–८ सतबरियामा जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यावसायिक खेती गर्न थालेका छन् । सामूहिक रूपमा काम गर्दा ठूलो क्षेत्रमा खेती गर्न सकिने, आम्दानी धेरै हुने, रमाइलो हुने, काममा उत्साह आउने, एकता र सामूहिकता हुने भएकाले उनीहरूले मिलेर खेती गर्न थालेको बताए । उनीहरूले सहकार्य मुक्त कमैया समूह बनाएर व्यावसायिक खेती गर्न थालेपछि जीवनमा परिवर्तन आएको छ । ‘आफ्नो जग्गा छैन । अर्काकै जोतेर खाने हो । यसरी मिलेर काम गर्दा ठूलो क्षेत्रमा एकसाथ खेती गर्न सकिने भयो,’ उक्त समूहकी सचिव निशु चौधरीले भनिन्, ‘एकसाथ महिलाहरू खेतबारीमा पस्दा गाउँभरिका मान्छे आएर हेर्छन् । हाम्रो काम देखेर अचम्म मान्छन् ।’

एक वर्षदेखि उनीहरूले दुई बिघा जमिन भाडामा लिएर खेती गरिरहेका छन् । एक वर्षमा भएको उत्पादन आवश्यकताअनुसार बाँडेर बचेको बिक्री गरेका छन् । अनाज बिक्री गरेर १ लाख १५ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन् । यसबाट घरमा अति आवश्यक खर्चका लागि १ प्रतिशत ब्याजमा ऋण लिन पाइन्छ । ‘केटाकेटी पढाउने खर्च यसबाट धानिएको छ,’ समूहकी कोषाध्यक्ष चमेली चौधरीले भनिन्, ‘पैसा घरमा लगे, श्रीमान्ले रक्सी खाएर सिध्याइदिन्छन् ।
कोषमा बचत भएको छ । अप्ठेरो परेका बेला सस्तो ब्याजमा चलाउन पाइन्छ ।’ कहिलेकाहीं घरको काम छाडेर समूहको खेतीमा गइरहेको भनेर उनीहरूका पतिले गाली पनि गर्छन् ।
राम्रो आम्दानी भइरहेको थाहा पाएपछि पुरुषले पनि कुरा बुझ्दै गएको कमली चौधरीले बताइन् । ‘हामीले घरमा अप्ठेरो पर्दा समूहको पैसा लिएर काम चलाइरहेका छौं । घर बनाउँदा काठ किन्ने पैसा समूहबाट लिने योजना बनाएकी छु,’ उनले भनिन्, ‘समूहमा बचत नभएको भए बाहिर चर्को ब्याजमा ऋण लिनुपथ्र्यो । महिना महिनामा किस्ता तिर्न समस्या हुन्थ्यो । यहाँ भएको बेला तिरे हुन्छ ।’
खेतीपातीको समयमा सबै मिलेर काम गर्छन् । कोही खन्ने, कोही आली मिलाउने, कोही बिउ रोप्ने काम गर्छन् ।
सिँचाइ गर्दा पालैपालो गर्छन् । गोडमेल गर्दा सबै एकसाथ जुटेर खेतबारीमा पस्छन् । भाडाको जग्गामा मकै, धान, तोरीजस्ता बालीका साथै भिन्डी, बोडी, करेला, लौका, काँक्रा, घुइयाजस्ता तरकारी पनि लगाउँछन् । जग्गाको भाडा प्रतिकट्ठा बार्षिक एक हजार रुपैयाँ तिर्नुपर्छ । खर्च कटाएर वर्षमा एक लाखभन्दा बढी कोषमा जम्मा हुने भएपछि महिलाहरूको बचत बढिरहेको छ । दुई–दुई क्विन्टल धान सबैले बाँड्छन् । घरमा आवश्यक तरकारी पनि खेतीबाट आइहाल्छ । समूहमा २१ वर्षीया जीवनी चौधरीदेखि ६५ वर्षीया सुखनी चौधरीसम्म छन् ।

प्रकाशित : माघ १६, २०७५ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×