कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी अभावले योजना प्रभावित

प्रताप विष्ट

हेटौंडा — कैलाश गाउँपालिकामा कर्मचारीको अभावले विकास निर्माणका कार्यले गति लिन सकेको छैन । जिल्ला समन्वय समिति मकवानपुरले कैलाश गाउँपालिकामा मंगलवार गरेको अनुगमनका क्रममा कर्मचारी अभावका कारण योजना कार्यान्वयनमा कठिनाइ भएको पाइएको हो ।

भौगोलिक विकटता रहेको गाउँपालिकामा १० वडा छन् । वडा र केन्द्रसमेत सञ्चालन गर्ने गरी गाउँपालिकामा जम्मा १२ कर्मचारी छन् ।


गाउँपालिकाका १० वडा मध्ये ४ वटा वडामा मात्र विद्युत् सेवा सञ्चालनमा रहेको भन्दै गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले कर्मचारी नभएकै कारण विद्युत् विस्तारदेखि अन्य योजनासमेत प्रभावित भएको बताए । चालु आवका लागि ३९ करोड ४५ लाख अनुमानित बजेट रहेको कैलाश गाउँपालिकाले ६ सय २६ वटा योजना छनोट गरेको छ ।


गाउँपालिकाकाको पुँजीगततर्फ २० करोड ५५ लाख र चालुतर्फ १८ करोड ९० लाखको बजेट रहेको छ । जसमध्ये पालिकाबाट पारित ६ सय २६ योजनाका लागि १६ करोड ९६ लाख ८७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । कर्मचारी अभावमा पहिलो चौमासिकमा कुनै काम भने हुन नसकेको अध्यक्ष मोक्तानले अनुगमन टोलीसमक्ष बताए ।


पहिलो चौमासिक अवधिमा ४६ वटा योजना सम्झौता भएको भन्दै अध्यक्ष मोक्तानले काम गर्न निकै समस्या रहेको गुनासो गरे । गाउँपालिकाले चालू आवका लागि पूर्वाधार विकासतर्फ १ सय ३२ योजनाका लागि ९ करोड ४ लाख ७८ हजार ३ सय १७ रुपैयाँ विनियोजन गरेको छ ।


जसमध्ये पहिलो चौमासिकमा २१ वटा योजना सम्झौता भएको र ८२ लाख ८५ हजार अर्थात् ९.१६ प्रतिशत मात्र प्रगति हासिल गरेको सुनाए । आर्थिक विकासतर्फ १ सय ५ वटा योजनाका लागि ३ करोड ४८ लाख ७१ हजार ३ सय २७ रुपैयाँ विनियोजन गरेकामा १३ वटा योजनामा सम्झौता भएको र ५९ लाख ५ हजार रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल खर्चको १.७ प्रतिशत मात्र हो ।


सामाजिक विकासतर्फ १ सय ६७ वटा योजनामा २ करोड ९६ लाख ४० हजार ६ सय २८ रुपैयाँ विनियोजन गरेकोमा पहिलो चौमासिकसम्म १२ वटा योजना मात्र सम्झौता भएको र २ लाख ६१ हजार रुपैयाँ मात्र खर्च भएको छ ।


कर्मचारी अभावका कारण वन वातावरण तथा विपत् र संस्थागत विकासतर्फको एउटा पनि योजना सम्झौता हुन सकेका छैन । गाउँपालिकाकाले वन वातावरण तथा विपत्तर्फ ३५ वटा योजनाका लागि ६९ लाख ७४ हजार विनियोजन गरेको छ । संस्थागत विकासतर्फ ७७ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : पुस ५, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?