चौंरी पाल्ने घटे
रसुवा — भूकम्प जानुभन्दा अगाडि लाङटाङका तेन्जेन लामासँग २५ वटा चौंरी थिए । २०७२ साल वैशाखको विनाशकारी भूकम्पले उनका १० वटा चौंरी मरे । अहिले उनीसँग १५ वटा मात्रै छन् । भूकम्पले सातो लिए पनि चौंरीपालन व्यवसाय छोड्न सकिएन लामा सुनाउँछन् ।
चौंरीपालन व्यवसायबाट हाम्रो जीवन निर्वाह हुँदै आएको छ । चौंरीको माया लाग्दो रहेछ । पुर्खादेखिको पेसा छोड्न गाह्रो हुँदो रहेछ ।
लाङटाङ पर्यटकीय क्षेत्र भएकाले त्यहाँका स्थानीयवासीको मुख्य पेसा भनेको होटल व्यवसाय हो । पशुपालन गर्नेको संख्या थोरै छ । भूकम्पका कारण आएको हिउँ पहिरोमा परी लाङटाङमा २० जना कृषकको मृत्यु भयो । ४ सयभन्दा बढी याक तथा नाक मरे ।
पानीका मुहान् पनि सुके । खर्क जाने बाटो पहिरोले लग्यो । केही खर्क पहिरोले पुरिए । भूकम्पपछि चौंरी पाल्ने कृषकको संख्या झन् घट्दै गएको छ । भूकम्प जानुभन्दा अगाडि ३० वटा चौंरी गोठ रहेकोमा अहिले १८ वटा मात्र रहेको तेन्जेन लामाले बताए ।
भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण नहुँदा कृषकले चौंरी पाल्न छाड्दै गएका छन् उनले भने । यो व्यवसायमा धेरै दु:ख गर्नुपर्छ । कृषकले १ लिटर दूध बिक्री गरेर ७० देखि ८० रुपैयाँ पाउँछन् ।
तर विदेशीलाई एक कप कालो चिया बेच्ने हो भने १ सय ५० रुयैयाँ कमाइ हुन्छ कृषक बताउँछन् । चौंरीपालन व्यसायबाट भन्दा होटलबाट राम्रो आम्दानी हुन्छ । चौंरी पालनमा भन्दा होटलमा धेरै दु:ख कम हुने उनी सुनाउँछन् ।
२०७२ सालअघि ५ हजार केजी चीज उत्पादन गर्दै आएको लाङटाङ चीज उत्पादन केन्द्रले यस वर्ष ७ सय केजी मात्र उत्पादन गर्यो । गत वर्ष २ हजार ८ सय केजी चीज उत्पादन गरेको थियो । जिल्लाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा चौंरी पाल्ने गरिन्छ । पुनर्निर्माणको तथ्यांकअनुसार लाङटाङमा १ सय २५ घरधुरी रहेका छन् ।
पुनर्निर्माणसँगै लाङटाङका ८० प्रतिशतभन्दा बढी स्थानीयहरूले होटल व्यवसाय गरिरहेका छन् । अहिले एक घर एक होटलजस्तै भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले लाङटाङ क्षेत्रको पर्यटनमा ठूलो क्षति पुगेको थियो । सुन्दर पर्यटकीय क्षेत्र लाङटाङ अहिले पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ ।
लाङटाङ पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित होटल र घर बनिसकेका छन् । लाङटाङ पुनर्निर्माण भएसँगै घुम्न आउने पर्यटकको संख्या बढेर अहिले भूकम्प जानुभन्दा अगाडिकै अवस्थामा पुगेको छ ।
प्रकाशित : मंसिर १५, २०७५ ०८:०३