कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक बन्यो कष्टकर जीवनविहीन

प्रताप विष्ट

हेटौंडा — मानव सेवा आश्रमले हेटाैंडा उपमहानगरपालिका ९ लाई सहयोगापेक्षी सडक मानवमुक्त वडा घोषणा गरिएको छ । 

उक्त वडाको सडक र सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउनेहरू नभएको भन्दै सहयोगापेक्षी सडक मानवमुक्त वडा घोषणा गरिएको हो । सडक र सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउने नभएका अर्थात् सहयोगापेक्षी नभएको वडा घोषणा गरिएका यो नेपालमा नै दोस्रो स्थान हो ।


यसअघि चैतमा गोरखा नपालाई गरिएको थियो । मानव सेवा आश्रम सडक पेटी एव सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउँदै आएकाहरूको उद्धार गरेर संरक्षण एवं स्याहारसुसार गर्दै आएको एक संस्था हो ।


हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले वडामा विभिन्न कारणबाट आफ्नै परिवार र आफन्तबाट अलगत भएर, शारीरिक, मानसिक तथा अन्य कारणबाट सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न बाध्य सहयोगापेक्षी सडक मानव नरहेको घोषणा गरेका थिए ।


वडाअध्यक्ष भण्डारी, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मानवहरूले कमाउने भनेको मानवधर्म भएको बताए । प्रदेश सरकारले ३ नम्बर प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउन यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको समेत दुलालले बताए ।


हेटौंडा ९ गुम्बा चोकबाट निस्केको र्‍यालीले वडा परिक्रमा गरेको थियो । सहयोगापेक्षी सडक मानवहरूको उद्धार औषधोपचार, पालनपोषण, पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको मानव सेवा आश्रमले ५ वटा प्रदेशको ११ जिल्लाका १४ स्थानमा सेवा सञ्चालन गरिरहेको छ ।


मानव सेवा आश्रमको १४ स्थानमा ६ सय आश्रित छन् । ती सबै सडक र सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेकाहरूलाई उद्धार गरेर ल्याएर राखेका हुन् । हेटाैंडास्थित मानव सेवा आश्रममा १ सय २० जना छन् ।


मुख्य कार्यालय हेटौंडा रहेको मानव सेवा आश्रमले आगामी माघ महिनाभित्र मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी गरिरहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।


‘आश्रमले ७ वर्षभित्रमा देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने उद्देश्य लिएको छ,’ उनले भने । २०६९ सालमा स्थापना भएको मानव सेवा आश्रमले गत वर्ष चैतमा गोरखा नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेको थियो ।

प्रकाशित : मंसिर ९, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?