कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले सेक्यो भूकम्पपीडितलाई

सिमभन्ज्याङको काखमा रहेको उक्त बस्तीका ५१ घरधुरीमध्ये ५ घरले मात्रै घर बनाउन पहिलो किस्ता लिएका छन् ।
प्रताप विष्ट

हेटौंडा — जाडो महिना लागेपछि छानाबाट तपतप चुहिएको शीतले ओढ्ने र ओछ्यान भिज्ने गरेको छ । जस्तापाताको चेपबाट छिरेको सिरेटोले मुटु नै कमाउने गरेको छ ।

चिसोले सेक्यो भूकम्पपीडितलाई

४३ महिनादेखि यस्तै पीडा भोग्दै आएकी छन् भीमफेदी गाउँपालिका ९ की भूकम्पपीडित मनमाया तामाङ । कात्तिक/मंसिर सुरु भएपछि यस्तै पीडा भोग्दै आएकी छन् ४० वर्षीया मनमायाले ।


कात्तिकदेखि बिहान उठ्दा उनको सिरक (कम्बल) शीतले लपक्क भिजेको हुन्छ । ‘जस्तापाता लगाएको छानाबाट शीत ओछ्यानमा तपतप चुहिने गर्छ । चारैतिर बारेको जस्तापाताको चेपबाट छिरेको चिसो सिरेटोले मुटु नै कमाउने गरेको छ,’ उनले भनिन् ।


सिमभन्ज्याङको कठ्यांग्रिँदो जाडो भए पनि बिहान उठ्नेबित्तिकै करिब २ घण्टा हिँडेर भूकम्पले चिरा पारेको बारीमा कोदालो चलाउन पुग्नुपर्छ । नत्र हात मुख जोर्न उनलाई गाह्रो पर्छ । मनमायाकै जस्तै नियति भोगिरहेका छन, भूकम्पपीडित ५१ घर परिवारले । भीमफेदी गाउँपालिका–९ मा रहेको गोलमोडको अस्थायी टहरामा ४३ महिनादेखि बस्दै आएका भूकम्पपीडितहरूले कष्टकर जिन्दगी भोगिरहेका छन् ।


२०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले भीमफेदी गाउँपालिका–९ बतासे र दुम्सीडाँडाका अधिकांश घरहरूमात्र भत्केनन्, जमिन नै चिराचिरा बनायो । दुम्सीडाँडास्थित त्रिभुवन राजपथको सडक पनि चिरा पर्‍यो । दुम्सीडाँडा, बतासे र मान्द्रेमा बस्न अयोग्य भएको बस्ती स्थानान्तरण समितिले जानकारी दिएको थियो । त्यसपछि झिरघारी सामुदायिक वनको गोलमोडमा सरकारले अस्थायी पाल टाँगेर भूकम्पपीडितलाई स्थानान्तरण गर्‍यो ।


पछिल्लो समयमा सरकार र संघ–संस्थाहरूले जस्तापाता उपलब्ध गराएपछि भूकम्पपीडितहरू शीत र सिरेटोसँग जुध्दै टहरामा बसिरहेका छन् । २ हजार मिटरभन्दा उचाइमा रहेको बस्तीमा पुस–माघमा हिउँ पर्ने गर्छ । यहाँ बाहै्र महिना चिसो हुन्छ । बस्तीका भूकम्पपीडितहरू आफ्नो पुरानो थातथलो बतासे, मान्द्रे र दुम्सीडाँडामा दिउँसो खेती गर्न जान्छन्  भने बेलुका टहरामा बस्न फर्कन्छन् ।


सिमभन्ज्याङको काखमा रहेको उक्त बस्तीका ५१ घरधुरी मध्ये ५ घरले मात्रै घर वनाउन पहिलो किस्ता लिएका छन । बाँकी भूकम्पपीडितहरूले अनुुदान रकम लिएका छैनन् । अधिकांश स्थानान्तरण गर्नु पर्ने भूकम्पपीडित भएकाले पहिलो किस्तासमेत पाउन नसकेको गोलमोड बस्ती विपद् व्यवस्थापन समितिका संयोजक सीताराम मोक्तानले बताए ।


सरकारले स्थानान्तरण गर्ने ठाउँ उपलब्ध नगराएकाले स्थायी रूपमा आफ्नै जग्गामा घर बनाउन नपाएकोमा भूकम्पपीडितहरूले पीडा व्यक्त गरेका छन । गोलमोडमा स्थायी घर बनाउन सामुदायिक वनले नदिने र अस्थायी बस्न नसक्ने अवस्था भएको मोक्तानले भने ।


सीसीडीएनलगायत विभिन्न संस्थाले घरधुरीमा खाने पानी, सोलार र शौचालयको व्यवस्था गरिदिएको छ । भूकम्प गएको ४३ महिना बितिसक्दा मकवानपुरका भूकम्पपीडितहरूमध्ये करिब ३३ प्रतिशतले मात्र निजी आवासीय भवन निर्माण गरेका छन् ।


अनुदान सम्झौता भएकाहरूमध्ये ५३ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन् । हालसम्म मकवानपुरमा ११ हजार ४१ अर्थात् ३३ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका इन्जिनियर रविन पाठकले बताए । उनका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३३ हजार ९ सय ७४ मध्ये २६ हजार ९ सय ३९ जना अर्थात् ७६ दशमलव ११ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।


७ हजार ९ सय ८ लाभग्राहीहरूसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन । अनुदान सम्झौता भएकामध्ये २५ हजार १ सय ७९ अर्थात् ७४ दशमलव ११ प्रतिशत लाभग्राहीले प्रथम किस्ताको रकम बुझेर लगेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का इन्जिनियर पाठकले बताए । १७ हजार ९ सय ९२ अर्थात ५३ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लगेर घर युद्धस्तरमा घर बनाइरहेका छन् ।


तेस्रो किस्ता ११ हजार ४१ लाभग्राहीले बुझेर लगेका छन् । जिल्लामा ७ हजार ९ सय ८ लाभग्राहीसँग लालपुर्जाविहीन, सुकुम्बासी छन्, जसका कारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवास पुनर्निर्माणका लागि सम्झौता हुन सकेको छैन ।

प्रकाशित : मंसिर ४, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?