प्रदेश हब बन्दै हेटौंडा

‘हेटौंडा मानवबस्तीका लागि मात्र होइन, प्रशासनिक र औद्योगिक थलोको रूपमा विकास हुँदै गएको छ’
प्रताप विष्ट

हेटौंडा — सहरतिर बसाइँ सर्ने सोचमा हुनुहुन्छ भने अब संघीय राजधानीमै झुम्मिनु पर्दैन  । काठमाडौंको भीडभाडबाट उम्कन चाहनेका लागि प्रदेश राजधानी, भौतिक पूर्वाधार, हावापानी, धार्मिक सहिष्णुता र संघीय राजधानी तथा भारतीय सिमानाको समदूरीमा अवस्थित सहर हेटौंडा बसोबासका निम्ति उपयुक्त स्थल बन्दै गइरहेको छ  ।

हेटौडा बजारको दृश्य,जुन उद्योग-प्रशासनिक र शैक्षिक क्षेत्रको हब बन्दै छ । तस्बिरःप्रताप /कान्तिपुर

संघीय राजधानीको निकट रहेको यो सहर मानव बसोबासका लागि आवश्यक आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढेको छ । हेटौंडा उपमहानगरपालिका मुलुकको तीन पुराना राष्ट्रिय राजमार्गहरू महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र कान्ति लोकपथको संगमस्थल हो ।

कान्ति लोकपथ अब छिट्टै नै सञ्चालनमा आउने अवस्थामा पुगेको छ । हेटौंडाबाट अहिले काठमाडौं प्रवेश गर्ने आधा दर्जनभन्दा बढी सडकमार्ग बनेका छन् । त्यसमा पनि प्रदेश—३ को सरकारले भीमफेदी— कुलेखानीमा सुरुङ मार्ग निर्माण गर्न चालु आवमा नै बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले नै मकवानपुरको फाखेलस्थित खडपु—मातातीर्थ काठमाडौं प्रवेश गर्ने मोटरबाटोको स्तरोन्नति गर्न चार करोड रुपैयाँ छुट्याएको छ । हलुका सवारीसाधनहरू अहिले पनि खड्पु—मातातीर्थको मोटरबाटो भएर काठमाडौं आवतजावत गर्छन् । हेटौंडा–भीमफेदी, कुलेखानी फाखेल, फर्पिङ र अर्को सिस्नेरी दक्षिणकाली हुँदै काठमाडांै दैनिक हजारभन्दा बढी सवारीसाधनहरू आउजाउ गर्छन् । छिट्टै नै कुलेखानी, सिस्नेरी र दक्षिणकाली मोटरबाटो कालोपत्रे हुने अवस्थामा पुग्दै छ ।

त्यति मात्र होइन, धरान—चतरा—सिन्धुली सडकले पनि हेटौंडालाई सडकको थप सञ्जालमा जोडेको छ । धरान—चतरा सडकले हेटौंडालाई अझ सिन्धुली, उदयपुर, धरान लगायत पूर्वी भेगलाई नजिक्याएको छ। यो मार्ग कालोपत्रे भएपछि सिन्धुलीबाट हेटौंडा आउन बढीमा २ घण्टा मात्रै लाग्छ । २०७६ सालसम्म यो मार्ग कालोपत्रे भइसक्छ ।

राजधानीबाट नारायणगढ हुँदै २२४ किलोमिटर, भैंसे—सिमभन्ज्याङ– नौबिसे १३२ किलोमिटर, भीमफेदी—फर्पिङ हुँदै राजधानी जोडने ८२ किलोमिटर, फाखेलको खडपु—मातातीर्थ हुँदै राजधानी प्रवेश गर्न ७९ किलोमिटर दूरीमा हेटौंडा अवस्थित छ । हेटौंडाबाट करिब ५० किलोमिटरको दूरीमा पर्ने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । हेटांैडासँग जोडिएको बकैया गाउँपालिका हुँदै फास्ट ट्रयाक बन्दै छ । हेटांैडाबाट फास्ट ट्रयाक जोड्न लिंकरोड बन्ने योजना छ ।

राजधानीसँग मात्र निकट होइन, मुलुककै आयात—निर्यातको मुख्य नाका भारतको रक्सौल पनि सवा घण्टाको दूरीमा छ । सडकको सञ्जाल मात्र होइन, हवाई सुविधाबाट पनि यो सहर वञ्चित छैन । करिब एक घण्टाको दूरीमा सिमरा र भरतपुर विमानस्थल छ । सरकारले तराईसंँग जोड्ने द्रुतमार्ग निजगढबाट निर्माण गर्न लागेपछि हेटांैडामा आकर्षण थपिएको छ । द्रुतमार्गसँग जोडिने चार लेनको लिंकरोड हेटांैडाबाट बुदुनेसम्म निर्याण गर्ने योजना छ ।

२०११ सालको वाढीपछि गुल्जार बन्दै गएको हेटौंडा उपमहानगरपालिका प्रदेश—३ को राजधानी बनेपछि यस्सको चौतर्फी विकासले तीव्रता लिएको छ । ‘सरकारले हेटौंडालाई प्रदेश—३ को अस्थायी राजधानी तोकेपछि हेटौंडाको विकास तीव्रगतिमा भइरहेको छ,’ समाजशास्त्री उपप्रध्यापक वीरेन्द्र साहले भने, ‘हेटौंडा मानवबस्तीका लागि मात्र होइन, प्रशासनिक र औद्योगिक थलोको रूपमा विकास हँुदै गएको छ ।’ जमिनको हिसाबले मुलुकको मध्यभागमा अवस्थित हेटांैडा अहिले सडक सञ्जालले घेरिएको छ । ‘मुलुकमा कुनै भागबाट यहाँ आउन हवाईमार्ग भएर होस् वा सडकमार्ग भएर आउन समस्या छैन,’ साहले भने, ‘यहाँको हावापानी, रहनसहन सबै क्षेत्रका नागरिकका निम्ति पाच्य छ ।’ २०२६ सालमा नगरपालिकाको घोषणासँगै भौतिक पूर्वाधारहरूको विकास अगाडि बढेको थियो । २०३९ सालमा हेटौंडालाई जिल्ला सदरमुकामको रूपमा परिणत गरेको छ ।

चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित हेटांैडा उपमहानगरपालिका लगायत योसँग जोडिएका बस्तीहरूको हावापानी उष्ण तथा समशीतोष्ण छ । तराई, पहाड वा हिमाल कुनै पनि भूभागका बासिन्दा हेटौंडाको हावापानीमा छिट्टै घुलमिल हुन सक्छन् । हावापानीकै कारणले आत्तिनुपर्ने अवस्था छैन । मानवबस्तीको चाप बढ्दै गएपछि यहाँको व्यवस्थित बसोबासको क्षेत्र पनि बिस्तार हुँदै गएको छ ।

‘मुलुककै सफा, हरियाली र सुन्दर सहरको रूपमा रहेको हेटौंडा उपमहानगरपालिका मानवबस्तीका निम्ति अझ सुन्दर बनाउँदै छौं,’ उपमहानगरपािलकाका मेयर हरिबहादुर महतले भने, ‘प्रदेश–३ को राजधानी हेटौंडा सुन्दर एवं प्रशासनिक, औद्योगिक र शैक्षिक क्षेत्रको हब बनाउन जुटिरहेका छौं ।’ कर्रा र राप्ती खोला हेटौंडा उपमहानगरपालिको मध्यभागबाट बग्ने गरेका छन् ।

यहाँ पिउने पानी होस् वा सिँचाइका लागि पानीको समस्या छैन । मुलुकभरका बासिन्दाभन्दा सस्तो र शुद्ध पानी यहाँका नगरवासीले पिउने गरेका छन् । फोहोरलाई व्यवस्थापन गर्न भूमिगत ढल निर्माण कार्य पनि गरिएको छ । हेटौंडाका कर्रा र राप्ती खोलालाई प्रदूषणरहित बनाउन ३ वटा ‘बेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट’ पनि निर्माण गरिएका छन् । साविकका ६ गाविस हर्नामाडी, हटिया, चुरियामाई, पदमपोखरी र बसामाडी समेटर उपमहानगरपालिका बनाइएको हेटौंडामा अहिले १ लाख ५२ हजार ८ सय ७५ जनसंख्या छ । यहाँ २५ हजार ४ सय ३३ घरधुरी छ ।

समुद्री सतहबाट ३ सयदेखि ३ सय ९० मिटरको उचाइमा रहेको हेटौंडाको कुल क्षेत्रफल २६१ दशमलब ५९ वर्ग किलोमिटर छ । हेटौंडा नगरभित्र नयाँ औद्योगिक क्षेत्र पनि स्थापना हुँदै छन् । २ सय १ बिघा जमिनमा उद्योगहरू स्थापना हँुदै छन् । सरकारले हेटौंडाको नयाँ औद्योगिक क्षेत्रमा सुरक्षण मुद्रण विभाग स्थापना गर्न २ सय ५० रोपनी जग्गा भाडामा लिएर डीपीआर गरिसकेको छ । उद्योगी व्यवसायीहरू राजमार्गको सञ्जाल, श्रम बजार र सुविधायुक्त औद्योगिक क्षेत्र भएकाले यहाँ आकर्षित भएका छन् । २०२० सालमा स्थापना भएको हेटौंडा औद्योगिक क्षेत्रभित्र १०९ वटा उद्योगहरू स्थापना भएका छन् । तीमध्ये १०३ वटा सञ्चालनमा छन् ।

हेटौंडामा औद्योगिक संस्कारहरू क्रमश: विकसित हुँदै गएकाले व्यवसायी र श्रमिकहरू थप आकर्षित भएका छन् । समभावका आधारमा हेटौंडा अघि बढिरहेको छ । तराईबाट विस्थापित भएका पहाडिया हुन वा तराईवासी, दुवैका लागि हेटौंडा सुरक्षित गन्तव्य स्थल बन्दै आएको छ । जसका कारण हेटौंडामा जनघनत्त्व ह्वात्तै बढ्नुको साथै जग्गाको मूल्य पनि आकासिएको छ । त्यससँगसँगै प्रशासनिक अर्थात् सरकारी कार्यालयहरू स्थापना गर्न सार्वजनिक जग्गा प्रशस्त छन् । हेटांैडा उपमहानगरपालिका अनुसार हेटौंडामा वार्षिक जनसंख्या वृद्धिदर ४ दशमलब ५१ प्रतिशत छ ।

हेटौंडाजस्तो मानवबस्ती, प्रशासनिक, औद्योगिक र शैक्षिक हबका लागि उपयुक्त स्थान अन्यत्र कहीँ नभएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।
‘यहाँ भौतिक पूर्वाधारहरू प्रशस्तै भएका कारण प्रदेश सरकारका मन्त्रालय वा कुनै निकाय भाडामा बस्नुपरेको छैन,’ उनले भने । हेटौंडामा पूर्वाधारहरू प्रशस्त भएकाले प्रदेशका मन्त्रालय, प्रदेश संसद् लगायत प्रदेशका कुनै निकायको कार्यालय राख्न होस् वा मन्त्री, सचिव, सभामुख एवं उपसभामुख निवास पनि सरकारी भवनमा नै छ । प्रकाशित : कार्तिक ८, २०७५ ०८:४१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फार्मेसीले दियो गलत औषधि

गलत औषधि दिएको पत्ता लाग्दा एक बोतल औषधि बिरामीको शरीरमा गइसकेको थियो ।
रमेशकुमार पौडेल

चितवन — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१४ श्रीबासकी हरिमाया दर्लामी सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल पुगिन् । चिकित्सकले उनलाई आवश्यक पर्ने औषधि किन्न पठाए  ।

चिकित्सकको प्रेेसक्रिप्सनविपरीत भरतपुर अस्पतालको फार्मेसीले दिएको पारासिटामोलको इन्जेक्सन बोतल । तस्बिरः कान्तिपुर ।

उनका आफन्तले भरतपुर अस्पतालकै फार्मेसीबाट औषधि किने । तर फार्मेसीले चिकित्सकले लेखेको भन्दा अर्कै गलत औषधि दिएको पत्ता लाग्दा एक बोतल औषधि बिरामीको शरीरमा गइसकेको थियो ।

दर्लामीमा विष सेवनबाट उत्पन्न हुनेजस्तो स्वास्थ्य समस्या देखा परेपछि उनलाई उपचारका लागि ल्याइएको थियो । यस्तो हुँदा वान्ता गराउने औषधि दिनुपर्छ । जसका लागि चिकित्सकले पाम भन्ने औषधि लिन पठाए । यो इन्जेक्सन हो । जसलाई स्लाइन पानी दिए जसरी झुन्डाएर नाडीबाट दिनुपर्छ । तर फार्मेसीले यसरी नै दिनुपर्ने अर्को इन्जेक्सन पारासिटामोल क्यारिडोल दिएर पठायो ।

एक हजार एमजीको सय एमएल पारासिटामोल हनहनी ज्वरो आएका बिरामीलाई दिने गरिन्छ । ‘फार्मेसी सम्बन्धी ज्ञान भएका हरिमायाका एकजना आफन्त बिरामी भेट्न भन्दै अस्पताल आएका थिए । उहाँले ज्वरो नै नआएका बिरामीलाई किन यो चलाएको हो भनेर सोधीखोजी गरेपछि बल्ल गलत औषधि परेको पत्ता लाग्यो,’ उपचारका क्रममा हरिमायासँगै रहेका जंगबहादुर ढेँगाले भने ।

बिरामी भेट्न आएका हरिमायाका आफन्तले सोधीखोजी गरेपछि चिकित्सक आएर औषधि फेरेका थिए । फार्मेसीबाट दुई बोतल पारासिटामोल लिएकोमा एक बोतल शरीरमा चढाएर लगभग सकिएको थियो । बिरामीलाई कलेजोको समस्या भएको भए यसरी सिटामोल दिँदा ठूलै समस्या आउन सक्थ्यो । तर त्यस्तो नभएका कारण गलतै परे पनि औषधिले तत्कालै कुनै नराम्रो असर नदेखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

‘हामीलाई कुन औषधि लेख्यो, कुन दियो केही थाहा हँुदैन । थाहा नहुने भन्दैमा उनीहरूले यसरी गलत औषधि भिडाउन नहुने । फेरि हामीलाई पो ठूलो असर नगर्ने औषधि पर्‍यो । यस्तै कमजोरी गर्ने हो भने त कुनै दिन ज्यादै नराम्रो घटना हुन पनि सक्छ नि,’ बिरामी कुरुवा जंगबहादुर ढेँगाले भने । अस्पतालका फार्मेसी सञ्चालक भने यो सामान्य खालको कमजोरी भएको बताउँछन् ।

‘आकस्मिक कक्षमा आएको बिरामी भनेपछि अलि हतार हतार गरेर औषधि दिनुपर्छ । यस्तो बेला कहिलेकाहीं सामान्य कमजोरी भइहाल्छ । हामीले यहाँबाट पठाए पनि औषधि सही आयो कि नाइँ भनेर बिरामीलाई दिने बेलामा पनि हेर्नुपर्ने हो नि,’ भरतपुर अस्पतालको फार्मेसी काउन्टरका इन्चार्ज रामबाबु थापाले भने । गलत औषधि गएको थाहा भएपछि डाक्टरले नै लेखेको औषधि दिएर पठाएको उनले बताए ।

पहिलो पटक औषधि लौजाँदा ३ बजेर १३ मिनेट गएको थियो । त्यो बेला लगेको औषधि गलत भएको थाहा भएपछि अर्को पटक औषधि लौजाँदा ३ बजेर ४० मिनेट गएको फार्मेसीले काटेको बिलमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×