कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ माथि पढ्न तीन घण्टा पैदल

अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका झयाडीगाउँकी १५ वर्षीया सरिता माझीले घण्टांै हिँडनुपर्ने पीरले कक्षा ९ मा पढाइ छाडिन् । भीमटारस्थित इन्द्रावती आधारभूत विद्यालयमा कक्षा ८ पास गरेपछि नौ पढ्न सरिताले डढुवाको भवानीशंकर मावि पुग्नुपर्थ्याे ।

९ माथि पढ्न तीन घण्टा पैदल

लामो बाटो हिँडनाकै पीरले उनले अध्ययनलाई निरन्तरता दिइनन् । ‘घरमा सबै बिरामी छन्, काम गर्नुपर्छ, विद्यालय टाढा हुँदा नौ कक्षा नगई पढाइ छाडेँ,’ चार महिनाअघि पढाइ छाडेकी उनले भनिन्, ‘पढ्ने रहर त छ, टाढा भएकोले भ्याइँदैन ।’ घरायसी समस्या र विद्यालय टाढा भएको कारण माझीले पढाइलाई निरन्तरता दिन नसकेको सुनाइन् ।


यहाँका बालबालिकाले दस कक्षा पढ्नका लागि दुई घण्टाको उकालो जंगलैजंगल र आधा घण्टाको डाँडा पार गर्नुपर्छ । झयाडी तल्लो टोलका १६ वर्षे दीपेश माझीको पढाइ दस कक्षाबाट अगाडि बढ्न सकेन । झयाडीकै झमला देवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढिसकेपछि उनले डेढ घण्टा हिँडेर इन्द्रावती माविमा ६ देखि ८ सम्म पढे । कक्षा नौ देखि १२ सम्म पढ्न उनले डढुवा नगई सुख थिएन् । ‘दस पढेर एसईई दिने मन त थियो, तर घण्टाैं हिँडनुपर्ने भएपछि पढाइमा जाँगर चलेन् अनि छोडँे ,’ उनले भने । दिनहँु इन्द्रावतीको बगरमा बालुवा निकाल्न पुग्ने उनले पढाइलाई भन्दा परिवारलाई महत्त्व दिएको बताउँछन् ।


माख्लो बस्तीका १९ वर्षे धनबहादुर माझीले एसईई नदिईकन पढाइ छाड्नुमा माथिल्लो कक्षाको विद्यालय नजिक नहुनुलाई मान्छन् । ‘म जस्ता धेरै साथीले नौ, दस कक्षामा पढाइ छाडेका छन्, यसको कारण विद्यालय नजिक नहुनु हो,’ उनले भने । हिँडेर पढेका थोरैले मात्रै एसईई दिएर पास गरेको उनको कथन छ । ‘पूरा गाउँमा ‘ब्याचलर’ पढ्ने मात्रै एक जना छन्, उनी पनि अहिले टाढा भएको कारण पढ्न जाँदैनन्, ‘प्लस टु’ पढ्ने एकदम थोरै छन्,’ उनले भने ।


चौतारा साँगाचोकगढी नगरअन्र्तगत पर्ने भए पनि डढुवा पुग्न टाढा पर्ने कारण माविमै छोड्ने धेरै भएको स्थानीय शिक्षक लालबहादुर श्रेष्ठले बताए । वडाध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार यो समस्यालाई समाधान गर्न पायक स्थानमा उमावि/मावि तहको विद्यालय हुन जरुरी छ । ‘माथिल्लो कक्षाभन्दा एसईईसम्मको कक्षा थप गरेर विद्यालयमा चलाइएमा सहज हुन्छ,’ उनले भने ।


विभिन्न समस्या व्यहोर्नुपरेकाले पढाइलाई बीचैमा छाड्नेको संख्या जिल्लाभरमै ठूलो रहेको शिक्षा विकास तथा समन्वय इकाईका गौरीशंकर पाण्डे बताउँछन् । ‘माझी समुदायमा झनै यस्तो समस्या व्यापक देखिन्छ, यसको लागि स्थानीय तहसँग समन्वय गरेर नयाँ योजना ल्याउने तरखरमा छाैं,’ पाण्डे भन्छन् , ‘विद्यार्थी टिकाउनु पहिलेदेखि चुनौती बन्दै आइरहेको छ ।’


उनले विभिन्न शैक्षिक सामग्री, दिवा खाजादेखि अनेक कार्यक्रम ल्याउँदा पनि ड्रपआउटको समस्या समाधान हुन नसकेको प्रस्टयाए । दुई वर्षअघि शिक्षा इकाईले जिल्लाभर ५ सय ५० बालबालिका विद्यालयबाहिर रहेको तथ्यांक निकालेको थियो । लिशंखुपाखर गाउँपालिकाले केही समयअघि आधारभूत तहको शिक्षा सुनिश्चित घोषणा नै गरिसकेको छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?