‘घर बनाउन नसक्नेलाई निर्ब्याजी ऋण’

कान्तिपुर संवाददाता

काभ्रे — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आवास निर्माण नसक्ने भूकम्पपीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने बताएका छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगममा धुलिखेलमा निर्माणाधीन सञ्जीवनी नमुना माध्यमिक विद्यालयको अनुगमन गर्न आएका उनले त्यसका लागि कार्यविधिसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकोले छिट्टै वितरण गरिने बताए ।


‘घर बनाउन नसक्नेलाई निब्र्याजी ३ लाख दिने गरी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ, आर्थिक अवस्थाका कारण घर बनाउन नसक्नेका लागि प्रोत्साहन गर्न लागेका हौं,’ उनले भने, ‘योसँगै व्यक्तिगत आवास निर्माणले गति लिन्छ, यो वर्षभित्र भूकम्पपीडितको व्यक्तिगत आवास निर्माण सक्छौं ।’


उनले गुनासो संंकलन, सम्बोधन, प्रमाणीकरण, प्रवलीकरण र अन्य समस्याहरू स्थानीय तहले नै व्यवस्थापन गर्ने गरी कार्यविधि बनाएको बताउँदै उनले त्यसले पुनर्निर्माणमा गति लिने दाबी गरे । ‘वास्तविक पीडित हो वा हैन, पुनर्निर्माणमा के समस्या छ स्थानीय तहलाई नै थाहा हुन्छ,’ उनले भने, ‘राज्यको रकम दुरुपयोग गर्नेलाई पनि कारबाही गर्छाैं ।’


एडीबीको सहयोगमा सञ्जीवनी नमुना माविको छात्रावाससहित ३६ कोठा तथा १२ कोठे प्रशासनिक भवन निर्माण भइरहेको छ । ९ करोड ९८ लाख १८ हजार ५ सय १७ लागतमा निर्माण भइरहेको उक्त भवन मंसिरभित्र सक्ने लक्ष्य छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

उत्सवमय उपत्यका

प्रशान्त माली

काठमाडौँ — टिलिक्क टल्केको तरवार हातमा लिएका आकाश भैरव, उनका छोरा चन्दे र छोरी कुमारे तीनै जनाले एकनासले हात हल्लाए । त्यसपछि वारपार गर्दै विभिन्न नृत्यभाव प्रस्तुत गर्न थाले । काठमाडौं दरबार क्षेत्रको यो दृश्यका पात्रहरू भने भगवान् थिएनन्, कलाकार थिए ।

काठमाडौंको वसन्तपुर दरबारको गद्दी बैठकबाट सोमबार इन्द्रजात्रा अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलगायत । तस्बिर : हेमन्त श्रेष्ठ

इन्द्रजात्रा अवसरमा प्रदर्शन गरिएको यो नाच हेर्न दिनभरजसो दरबार क्षेत्रमा भीड लाग्यो । त्यस्तै देवी नाच, महाकाली नाच, इन्द्रचोकको आकाश भैरव, हनुमान ढोकाको श्वेतभैरव गुठियारले पनि आ–आफ्ना नाच प्रदर्शन गरे । लाखे आजु गुठीको लाखे नृत्यको रमझम बेग्लै थियो । यीबाहेक जात्रामा विभिन्न टोलका ३४ गुठीले आ–आफ्ना भागमा परेका सांस्कृतिक गतिविधि गरे । दिनभर दरबार क्षेत्र उत्सवमय बन्यो ।


उपत्यकाका तीन वटै जिल्ला सोमबार इन्द्रजात्रामय बनेका छन् । काठमाडौंमा जीवित देवीदेवताका रुपमा कुमारी, गणेश र भैरवलाई हर्षोल्लासका साथ रथयात्रा गराइयो । शाक्य समुदायकी एक महिलासँगै गणेश र भैरवको भेषमा दुई पुरुषलाई बेग्लाबेग्लै रथमा रथारोहण गरेर नगर परिक्रममा गराइएको थियो । रथ यात्राको पहिलो दिन वसन्तपुर दरवार क्षेत्रको दक्षिणपट्टिका टोलहरूमा परिक्रममा गरिएको छ । दोस्रो दिन मंगलबार उत्तरपट्टिका टोलहरूमा परिक्रमा गराइने चलन छ । तीनैवटा रथलाई वसन्तपुरबाट तानेर मरु, चिकंमुगल, मजिपात, जैशीदेवल, ज्याबहाल, लगन, बम्हमटोल, ह्युमत, क्व:हिटी, भीमसेनस्थान भई पुन: वसन्तपुरमा नै पुर्‍याइएको थियो ।


इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्यका अनुसार मल्ल वंशका अन्तिम राजा जयप्रकाशले कुमारी घर बनाएर जात्रालाई व्यवस्थित बनाएका थिए । ‘जयप्रकाशले नै जात्रामा राजा सवारी हुने चलन चलाएका थिए,’ उनले भने, ‘१८२५ असोज १३ गते राति इन्द्रजात्रामा रमाइरहेका बेला गोर्खाली राजा पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमण गरे । त्यसपछि पनि यो जात्रामा राष्ट्रप्रमुख उपस्थित हुँदै गएका छन् ।’


जात्रालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख लगायतले अवलोकन गरे । राष्ट्रपति भण्डारीले जीवित देवीदेवताको दर्शन गरी प्रसादसमेत ग्रहण गरिन् । नारायणहिटी दरबारको इन्द्रध्वज गणको सम्मानगारत टोलीले राष्ट्रपति भण्डारीसहितका अतिथिलाई सलामी र सम्मान अर्पण गरेको थियो ।


दरबारको गद्दी बैठक भवनअगाडि बैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव गरेर पञ्चबुद्धका भेषमा पाँच जना गुठीयारले ग: (घण्टी) बजाएर स्वागत गर्दै अगाडी बढेका थिए । टाउकामा बेगरी, शरीरमा भोटो, जामा र पटुवाले सजिएर पञ्चे बाजा बजाउने समूह छुट्टै थियो । गोरखा दक्षिणबाहु र शुभराज्याभिषेकबाट सम्मानित टोली पनि भक्तपुरको च्यामा सिंहबाट सहभागी थिए । बाटामा बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तका नाममा मन्त्रपाठ र दियो दान गरेका थिए । साँखुका बासिन्दा पनि सांस्कृतिक बाजागाजासहित आएका ।


रथ जात्रा सकिएपछि धिमेबाजाको तालमा धुन्या (रंगीचंगी कपडाका टुक्राहरूले सिँगारेको अग्लो बाँस) घुमाउँदै इन्द्रकी आमा भनिने डागी नगरपरिक्रमा गराइएको थियो । उनका साथमा मृतकहरू स्वर्ग गएको हेर्न जाने भनी मृतकका आफन्त पनि बाटोभरि शतबीज छर्दै अगाडि बढेका थिए ।


अन्तिम दिन असोज १२ मा महिलाहरूले रथ तानेपछि जात्रा सकिन्छ । राजप्रतिनिधिको रूपमा मल्लकालीन राजखड्ग कुमारीको रथमा राखिएको थियो । इन्द्रजात्राका बारेमा पुराणहरूमा उल्लेख भएअनुसार प्राचीन युगमा देव र दैत्यबीच युद्ध चल्यो । युद्धमा जाने बेला त्रिदेव र देवगणले इन्द्रलाई विजयी हुने आशीर्वाद दिँदै ध्वजा दिएर पठाए । युद्धमा दैत्यसँग इन्द्रको फौजले जित्यो । त्यही बेलादेखि इन्द्रजात्रा मनाउन सुरु भयो । शाक्यले भने, ‘यही बेलादेखि चंगा उडाउन सुरु हुन्छ । चंगा उडाउनुको संकेत इन्द्रलाई स्वर्ग पुर्‍याइयो भन्ने हो ।’ इन्द्रध्वजा ठड्याएपछि इन्द्र पृथ्वीमा आई सात दिन बस्ने र ढालेपछि स्वर्ग फर्कन्छन् भन्ने जनविश्वास छ ।


यो जात्रा ललितपुर र भक्तपुरमा पनि टोलटोलमा भैरवको मूर्ति स्थापना गरेर ‘क:थो’ (कालो जाँड) र समयबजी (प्रसाद) वितरण गरेर मनाइन्छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्