चिरा परेकै घरमा बास

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पपीडितले ४० महिना बितिसक्दा पनि भत्केका आफ्ना घर मर्मत गर्न पाएका छैनन् । भूकम्पबाट सामान्य क्षति भएका घरलाई प्रबलीकरण (मर्मत) गरी बस्न योग्य बनाउने गरी राष्ट्रि्रय पुनर्निर्माण प्राधिकरणबाट निर्णय भएका घर पनि मर्मत हुन नसकेका हुन् ।

रामेछापको मन्थलीस्थित भूकम्पले चिरा परेको घरलाई ४० महिनापछि भरथेग गरी प्रबलीकरण गर्ने कोसिस गर्दै प्राविधिकहरू । जिल्लामा करिब ६ हजार ५ सय घर मर्मतको सूचीमा भए पनि मर्मतका लागि अनुदान पाउन सकेका छैनन् । तस्बिर : टीकाप्रसाद

ढुंगामाटोले बनेको घर कसरी मर्मतसम्भार गर्ने भन्ने विधि अझै जिल्लामा पुगेको छैन । जिल्लामा पुनर्निर्माणका लागि कार्यरत कतिपय प्राविधिकहरूलाई प्रबलीकरणको तालिम दिइएको छैन । प्राविधिकहरूमा तालिम र निरीक्षण फाराम उपलब्ध भइनसकेकाले प्रबलीकरण गराउने कार्य अझै अन्योलमा छ ।

‘हामी मर्मत गरेर बस्छौं नि त भन्दा पनि पर्खनोस् भनिएको छ,’ फुलासीका कर्मा लामाले भने, ‘घर भत्केकाले नयाँ घर बनाएर सुरक्षित भइसके, हाम्रो जोखिमको जोखिमै छ ।’ नयाँ घर बनाउने लाभग्राहीमा नपरेका उनले गुनासो सुनाउँदै भने, ‘फेरि भूकम्प आयो भने यसैमा किचिएर मरिने भइयो, मर्मत गर्न पाइएन ।’

भूकम्पबाट सामान्य क्षति भएको घर मर्मत सम्भार गरेर बस्नका लागि १ लाख रुपैयाँ दिने नीति छ । पैसा दिने भने पनि मर्मतको विधि र प्राविधिकलाई दक्ष नबनाएकाले पीडितहरू जोखिम मोलेर भूकम्पले चिरा परेको घरमा नै बस्न बाध्य छन् । कतिपय पीडितहरूको घर भूकम्पले जगैसम्म भत्काएको भए पनि प्राधिकरणको निर्णय सूचीमा मर्मत सम्भार गर्नेमा समावेश भएको छ । यसले पनि थप समस्या थपिएको छ ।

‘भुइँचालोले जगैसम्म घर लडायो, अन्त छैन,’ लिखु तामाकोसी गाउँपालिकाकी उपप्रमुख दीपशिखा न्यौपाने दाहालले भनिन्, ‘त्यस्ता पीडितको नाम घर मर्मत गरेर बस्ने सूचीमा परेको छ ।’ दाहालले आफ्नो गाउँपालिकामा घर पूरै लडेका तर मर्मत गरी बस्नेमा नाम परेकाहरूको गुनासो ज्यादा छ । घर लडेका तर नाम कतै पनि नपरेकाका गुनासो अझै जटिल छ । तीन पटकसम्म गुनासो गर्दा पनि नाम नपरेकोमा जनप्रतिनिधिहरूलाई पीडितहरूले टोकेसो गर्दै आएका उनले बताइन् ।

प्राधिकरणले प्रबलीकरण गर्ने सूचीमा राखे पनि आफ्नो घर मर्मत गरेर बस्न योग्य नभएको भन्दै अधिकांश लाभग्राहीहरू स्थानीय तहमा निवेदन पेस गर्न थालेका छन् । वडा अध्यक्ष संयोजक रहने वडा गुनासो सुनुवाइ समितिमा त्यस्तो निवेदनको खात लाग्न थालेको हो । समितिले प्राविधिकको प्रतिवेदन लिएर १ लाख रुपैयाँ अनुदान पाउने मर्मत सम्भार लाभग्राहीको नाम ३ लाख रुपैयाँ अनुदान पाउने आवास पुननिर्माण लाभग्राहीमा परिवर्तन गरिदिन धमाधम निर्णय गर्न थालेका छन् ।

अधिकांश ढुंगा–माटोले बनेका घरहरू मर्मतसम्भार कार्यविधिबमोजिम मर्मत गरेर बस्न भन्दा नयाँ घर निर्माण सहज हुने भन्दै पीडितहरूले पूर्ण लाभग्राहीमा जान चाहेका हुन् ।

प्राधिकरणमा सम्झौता गरी रामेछाप जिल्लामा प्रबलीकरणका लागि तालिम दिन बिल्डचेन्ज नामको संस्थाले जिम्मा लिएको छ । उक्त संस्थाले जिल्लामा कार्यरत केही प्राविधिकलाई सीमित दिनको तालिम चलाएको र हालै मात्र एक–दुई घरमा प्रबलीकरणको नमुना काम गर्न थालेको छ । संस्थाको सहयोगमा मन्थलीकी मिङ्मा शेर्पाको घर प्रबलीकरण थालिएको छ ।

आवश्यक निर्माण सामग्री शेर्पाले जुटाइदिने सर्तमा विल्डचेन्जले उक्त घरमा मर्मत प्रविधि लगेको हो । शेर्पाका अनुसार प्रबलीकरणका लागि आवश्यक पर्ने सबै सामग्री खरिद गर्ने हो भने नयाँ घर निर्माण गर्नुभन्दा ज्यादा रकम मर्मत कार्यमा खर्च हुने अवस्था छ ।

संस्थाले मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका र खाँडादेवी गाउँपालिकामा दुई दर्जन घर प्रबलीकरणका लागि सहयोग गर्ने भएको छ । उक्त कार्य मर्मत विधि सिकाइका लागि हो । मर्मत कार्यमा स्थानीयलाई सहभागी गराउने संस्थाले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रामेछापका प्रमुख कृष्णलाल पियाका अनुसार जिल्लामा विभिन्न चरणमा ६ हजार ५ सय जनाको नाम प्रबलीकरणको सूचीमा समावेश भएको छ । गुनासो सुनुवाइको क्रम चलिरहेकाले उक्त संख्या वृद्धि भएको उनले बताए । प्राधिकरणले भूकम्प प्रभावित जिल्लाबाट गएको झन्डै २३ हजार गुनासो अझै सुनुवाइ गरेको छैन ।

प्रकाशित : भाद्र २४, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ छन् साढे तीन सय महिला र बालबालिका ?

कान्तिपुर संवाददाता

काठमाडौँ — मकवानपुरको सुदुरपूर्वमा पर्ने वाग्मती गाउँपालिकास्थित राईगाउँ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरबाट हेटौंडा घुम्न आएको डेढ महिना भइसक्यो । अहिलेसम्म उनीहरू घर फर्केका छैनन् । असार १ मा उनीहरू घरबाट निस्केका थिए ।

दुवैका चार वर्ष पुग्दै गरेका एक/एक छोरी छन् । राई र थिङ घरमा बच्चा छाडेर बेपत्ता भएका छन् । राईका पति नेपाल प्रहरी र थिङका पति रोजगारीका लागि साढे १ वर्षदेखि कतार छन् । बुहारीहरू घर फर्केनन् भनेर दुवैका ससुराले खोजीका लागि जिल्ला प्रहरी कार्यालय हेटौंडाको महिला सेलमा असार १३ गते निवेदन दिएका छन ।

राईगाउँको मात्र होइन, मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरकी २४ वर्षीया विवाहित जानुका विक पनि बेपत्ता भएको दुई महिना भइसक्यो । उनका पतिले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनन् ।

प्रहरीलाई खोजबिन गरिदिन पनि निवेदन दिएका छन् । पति श्याम विक विदेशबाट फर्केको दिनदेखि पत्नीको खोजबिनमा जुटिरहेका छन् । मलेसियाबाट पति विक काठमाडौं ओर्लेकै दिनदेखि जानुका घरबाट बेपत्ता भएकी हुन् । घरका सासूससुरालाई काठमाडौंमा पति लिन जान लागेको भनेर उनी घरबाट निस्केकी थिइन् ।

उनी पतिलाई स्वागत गर्न पनि पुगिनन् र घर पनि फर्किइनन् । २ र ४ वर्षका दुई छोरालाई छाडेर उनी बेपत्ता भएकी हुन् । पतिले विदेशबाट पठाएको सबै पैसा कुम्ल्याएर उनी बेपत्ता भएकी हुन् ।

मकवानपुरको कैलाश गाउँपालिका—३ कालिकाटारकी १९ वर्षीया सुनीता मोक्तान विदेश जान्छु भनेर हिँडेको ५ महिना भइसकेको छ, अहिलेसम्म अत्तोपत्तो छैन । ‘विदेशमा गएर हराएको हो कि, अन्त कतै गएको हो अहिलेसम्म अत्तोपत्तो छैन,’ बाबु दुर्गाबहादुर मोक्तानले भने । छोरीको खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौंडामा निवेदन दिएका छन् ।

वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुरगढी सुकौराका अर्जुन भ्लोनकी पनि पत्नी चार महिना घरबाट बेपत्ता भएकी छन् । आव ०७४/०७५ को असार महिनामा मात्र विवाहित २२ सहित ३१ जना महिला बेपत्ता भएका छन् । यसैगरी मनहरी गाउँपालिका ७ रमनटारका २ बालिका र एक बालक असारको ८ गतेदेखि हराएका छन् ।

घरबाट मनहरी बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन् । बालिकाकी आमा सुन्तली विकले १३ वर्षीया छोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएकी छन् । असार महिनामा मात्र मकवानपुरका १० बालिकासहित १२ बालबालिका हराएको महिला सेलले जनाएको छ । गत आवमा मकवानपुरका १ सय ५१ जना विवाहितसहित २ सय ४२ महिला हराएका छन् । ६८ बालिकासहित १ सय ११ बालबालिका बेपत्ता भएका छन । हराएकामध्ये २ सय ७ महिला र १ सय ५ वालबालिका फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले बताए ।

मकवानपुरामा आव ०७४/०७५ मा महिला र बालबालिका गरेर ३ सय ५३ जना बेपत्ता भएका थिए । तीमध्ये ४१ जनाको हालसम्म अत्तोपत्तो छैन । आव ०७३/०७४ मा १ सय ८२ जना महिला र ६९ जना बालबालिका हराएका थिए । तीमध्ये ४९ जना महिला र १८ जना बालबालिका मात्र फेला परे । १ सय ८४ बेपत्ता भएका थिए । गत आवमा ३ सय ५३ मध्ये ३ सय १२ जना फेला परेका छन् ।

आव ०७२/०७३ मा महिला र बालबालिका गरेर १ सय ६३ जना बेपत्ता भए । महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ । तीमध्ये ७८ जना मात्र फेला परेका थिए । ८५ बेपत्ता भएका थिए । ‘महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ,’ बालबालिकाका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबािलकालाई कता लगेर बेपत्ता पार्छन् पत्ता लगाउन मुस्किल परेको छ ।’ आव ०७०/०७१ मा ४५ जना महिलासहित ८० जना मात्र बेपत्ता भएका थिए ।

तीमध्ये ४३ जना फेला परेका थिए । ३७ जना बेपत्ता भएका थिए । बेपत्ताको संख्या बर्सेनि बढ्दै छ । ‘प्रहरी कार्यालय हेटौंडाको सूचीमा बेपत्ता भनिएकाहरू पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सूची धेरै देखिएको हो,’ प्रहरी नायब उपरीक्षक सिंहले भने ।

हराइएका वा बेपत्ता पारिएका बालबालिका भारतको सर्कस र महिलाहरू अवैध ढंंगले विदेश पुर्‍याइएका हुन सक्ने माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले बताइन् । उनले भनिन्, ‘महिलाहरूलाई विभिन्न ढंगले विदेशमा पुर्‍याएर बिक्री गर्ने गरेका छन् ।’ विगतमा विवाह गरेर भारतमा लगेर पुरुषले बिक्री गर्थे भने अहिले वैदेशिक रोजगारीका नाममा बिक्री गरेका छन् । ‘मानव बेचबिखनको स्वरूप अहिले बदलिएको छ,’ उनले भनिन्, ‘महिला र बालबालिका बेपत्ता हुने क्रम बढेको छ तर एकाधमात्र फेला पर्छन् ।’

पहिला मानव बेचबिखन कार्यमा पुरुषमात्र संलग्न हुन्थे, अहिले महिला पनि सक्रिय हुन लागेका छन् । महिलाहरू विशेषगरी महिलाकै सम्पर्क र पहलमा बिक्री भएका छन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्