कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२६ सय बालबालिका विद्यालय बाहिरै

कान्तिपुर संवाददाता

हेटौंडा — स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् ।

२६ सय बालबालिका विद्यालय बाहिरै

पढ्ने उमेरका बालबालिकालाई विद्यालयको भित्र्याउने उद्देश्यसाथ बर्सेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरू स्कुलभन्दा बाहिर छन् । जिल्लामा १५ देखि ६० वर्ष उमेरसम्मका ९८ प्रतिशत साक्षर संख्या छ । यही कारण गत वर्ष साक्षर जिल्ला घोषणासमेत गरिएको थियो ।

स्कुल जाने उमेरका भने ठूलो संख्या अझै शिक्षाबाट टाढै छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार मकवानपुरमा ५ देखि १२ वर्षसम्मका ८३ हजार ५ सय ७५ बालबालिका छन् । तीमध्ये ८१ हजार विद्यालय भर्ना भएका छन् ।

विद्यालय भर्ना नभएकालाई भर्ना गराउन दोस्रो चरणको अभियानसमेत सञ्चालन गरेको शिक्षा विकास समन्वय इकाइ प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । आगामी भदौ ३१ गतेसम्म ती बालबालिकालाई विद्यालय भित्र्याउने योजना उनले सुनाए । बालबालिकालाई विद्यालयमा भर्नामात्र होइन, टिकाइराख्ने अभियानै सुरु गर्नुपर्ने छ । यही उद्देश्यसाथ पहिलो चरणको भर्ना अभियानमा मकवानपुरका ८७ जनाले बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।

‘पढ्ने उमेरका तर स्कुल नआउनेको संख्या बढीमा २६ सय रहेको अनुमान छ,’ घिमिरेले भने, ‘उनीहरूलाई विद्यालय प्रवेश गराउन सबै क्षेत्रबाट प्रयत्न भइरहेको छ, दोस्रो चरण उनीहरूमा लक्षित गरिनेछ ।’

अभिभावकको अज्ञानता, खाद्य असुरक्षा र विद्यालय टाढा भएका कारण भर्ना हुन सकेका छैनन् । मकवानपुरका चेपाङ, तामाङ, पहरी र माझी समुदायका बालबालिका घरायसी कारण भर्ना हुन नआएको समन्वय इकाईका वरिष्ठ अधिकृत शम्भु पौडेलले बताए, ‘उनीहरूलाई विद्यालय ल्याउने कोसिस भइरहेको छ ।’ चेपाङ, माझी, पहरी र वनकरिया समुदायका बालबालिकालाई विद्यालय आकर्षण गराउने उद्देश्यले सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ खाजा खर्चसमेत दिने गरेको छ ।

खाँजा खर्चको रकम सम्बन्धित विद्यार्थीकै अभिभावकलाई दिने गरेकाले बालबालिकामा सकारात्मक प्रभाव परेको छैन । स्कुलले नै उनीहरूलाई विद्यालयमा दिउँसो खाजा खुवाउने गरेको भए अरू प्रभावकारी हुने थियो कि ?’ समन्वय इकाईका एक अधिकृतले भने, ‘सरकारले भने अभिभावकलाई नगद भुक्तानी दिने भनेको छ ।’

उक्त रकमको विद्यालयमै खाजा खुवाउने व्यवस्था भए विद्यार्थी आकर्षित हुने उनी बताउँछन् । जिल्लामा प्रावि, आधारभूत र मावि तहका गरी ४ सय १६ सामुदायिक विद्यालय छन् । ईसीडीमा ९ हजार ६ सय ३२, प्राविमा ४९ हजार ६ सय २७, आधारभूतमा २३ हजार ८ सय ३ र ८ कक्षादेखि १२ कक्षासम्म १५ हजार ५ सय ८१ विद्यार्थी अध्ययनरत छन् ।

स्कुलमा उपस्थित भएका शिक्षकले पनि पूरा समय नपढाउने गरेकाले पनि सिकाइमा समस्या देखिएको छ । अधिकृत पौडेलका अनुसार मकवानपुरको सिकाइ दर ४७ प्रतिशत रहेको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?