नौबिसे–नागढुङ्गमा खारिँदै ठूला मोड

हरिहरसिंह राठौर

नौबिसे (धादिङ) — त्रिभुवन राजपथको नौबिसे खण्डको सवारी जामले राजधानी प्रवेश गर्ने यात्रुले हैरानी बेहोर्नुपरेको छ । यही हैरानी अन्त्यका लागि डिभिजन सडक कार्यालयले यहाँका साँघुरा र ठूला मोड खारेर फराकिलो बनाइरहेको छ ।

साँघुरा र ठूला मोड भएका नौबिसे–नागढुंगा खण्डमा फराकिलो बनाइएको सडक । मोड कटान गरी सडक चौडा बनाएसँगै दुर्घटनामा कमी आउनुका साथै घण्टौंको जाम घट्ने सडक विभागको विश्वास छ । तस्बिर : हरिहरसिंह । कान्तिपुर

सडक फराकिलो पारेसँगै दुर्घटनामा कमी आउनुका साथै सवारी जाम पनि घट्ने कार्यालयको विश्वास छ ।

राजधानी प्रवेश गर्ने र फर्कने सवारीसाधनहरूले उकालो मोडमा जामकै कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था छ । खानीखोलादेखि नागढुंगासम्मको १५ किमिमा पर्ने २ दर्जन घुम्ती, साँघुरो सडककै कारण घण्टौं लगाएर जाम छिचोल्नुपर्ने नियति नै बनेको छ । यही घुम्ती र साँघुरो सडककै कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

‘भारत तथा मुलुककै विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने ठूला, लामा मालवाहक गाडी घुम्तीमा मोड नपुगेपछि समस्या थपिएको छ,’ गजुरीस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर हरि ठकुरीले बताए । साँघुरो मोडमा सवारीसाधन आउजाउमा कठिन हुने, मोड्न नमिल्ने, बिग्रिएर रोकिएका गाडीका कारण दसौं किमि दोहोरो जाम पर्ने समस्या हटाउनकै लागि कार्यालयले ठूला मोड कटान गरी सडक फराकिलो बनाउन थालेको हो ।

‘अत्यधिक जाम हुने पिपलामोडदेखि नौबिसेसम्मका घुम्ती आवश्यकताअनुसार कटान गर्दै आएका छौं,’ उनले भने, ‘गत वर्ष ७ ठूला मोड कटान गर्ने जिम्मा दिएकोमा ४ वटा मात्रै कटान भएको छ ।’ बाँकी ३ वटा मोड कटानको जिम्मा नागार्जुन कल्पवृक्ष जेभीलाई दिएको पनि उनले बताए । मोड कटानपछि कम्तीमा ७ देखि बढीमा १० मिटर सडक थप चौडा हुनेछ । एउटा मोड कटान गर्न र पर्खाल लगाउन कम्तीमा १८ लाख खर्च भएको ठकुरीको भनाइ छ ।



कटान गरेका मोडहरूका कारण पनि विगत ६ महिनादेखि नियमित सञ्चालन भइरहेका सवारी जाम घटदै गएको खानीखोला इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक उद्धव पोखरेल बताउँछन् । उनका अनुसार मोडहरू कटान भएसँगै सवारी आवागमनमा सहज भएको छ ।

नौबिसे बजार क्षेत्रको अतिक्रमित सडक मापदण्डअनुसार पुर्‍याई सवारी जाम नहुने अभियानमा धुनीबेंसी नगरपालिकाले पनि सहयोग गरेको नगर प्रमुख बालकृष्ण आचार्यले बताए । खानीखोलादेखि नौबिसे, धार्के, बजारका व्यापारीहरूद्वारा अतिक्रमित सडकसँग जोडिएका क्षेत्र चौडा गरी सोलार बत्ती जडान भइरहेको आचार्यले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चेपाङ, चिउरी र चमेरो परिपूरक

प्रताप विष्ट

हेटौंडा — चिउरीको रूखबाट कमाइ राम्रो भएकाले राक्सिराङ गाउँपालिकाका बासिन्दा यसको संरक्षणमा जुटेका छन् । यहाँका बासिन्दाले भएका चिउरीका रूख संरक्षण गर्नुका साथै एक घर ५० बिरुवा लगाउने अभियान चलाएका छन् ।

राक्सिराङ ६, सिलिङेस्थित सिलिङे सामुदायिक वनले गत वर्षदेखि अभियान चलाएको हो । कीट विकास निर्देशनालय काठमाडांैले वनलाई चिउरीका बिरुवा ढुवानी गर्न ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । ‘चितवनको मौरीपालन केन्द्र भण्डाराबाट गत वर्ष ५ हजार बिरुवा लगेर सिलिङेमा वितरण गरियो, तीमध्ये अधिकांश बिरुवा हुर्केका छन्,’ सिलिङे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष सिंहबहादुर चेपाङले भने, ‘चिउरीको महत्त्व बुझ्दै छौं ।’

विगत केही वर्षदेखि सिलिङेका बासिन्दा चिउरीसँगै चमेराको संरक्षणमा पनि जुटेका छन् । चमेरा अभावमा चिउरीका गेडा नलाग्ने भएकाले संरक्षण थालेको उनीहरूको भनाइ छ । चिउरीका रूखमा परागशेचन गराउने माध्यम नै चमेरा हो । विगतमा चेपाङ समुदायले चमेरा मारेर खाने गर्थे । सिलिङेमा अहिले चमेरा मार्न रोक लगाइएको छ । चिउरीको रूखकै कारण भूक्षय रोकिनुका साथै चैत–वैशाखमा पनि हरियाली देखिन्छ । चिउरीका पात झर्दैनन् ।

‘अरू वनस्पतिको फागुनदेखि चैतसम्म सबै पात झरेर जंगलै उराठ हुन्छ,’ जिल्ला वन कार्यालय प्रमुख प्रह्लाद धितालले भने, ‘तर चिउरीको पात साउन–भदौमा मात्रै झर्छ ।’ चिउरीको मह स्वास्थ्यवद्र्धक र उच्च गुणस्तरको हुने भएकाले सिलिङेमा विगतमा बाहिरी जिल्लाका मौरीपालक कृषकको मौरी चराउन ल्याउन भीड लाग्थ्यो । गत वर्षदेखि सिलिङे सामुदायिक वनले बाहिरी जिल्लाका मौरीपालक कृषकलाई चराउनमा रोक लगाएको छ ।

यहाँका बासिन्दाले गत वर्षदेखि आधुनिक घारमा उन्नत (विकासे) मेलिफेरा जातको मौरीपालन गरेका छन् । विगतमा घरको खोपामा वा मुढेघारमा स्थानीय सेरेना जातको मौरी पाल्ने गरिन्थ्यो । ‘सिलिङेका चेपाङ र तामाङले विगतमा परम्परागत शैलीले निर्वाहमुखी मौरीपालन गर्थे,’ कृषि विकास कार्यालय राक्सिराङ गाउँपालिका प्रमुख रामेश्वर यादवले भने, ‘अहिले व्यावसायिक ढंगले मौरीपालन गर्न थालेका छन् ।’ मुलुकका विभिन्न क्षेत्रमा चिउरीको महको माग धेरै भएकाले बजारको समस्या छैन । लोथर बजारका व्यापारी दिनेश चेपाङले मौरीपालक कृषकसँग प्रतिकेजी २ सयदेखि २ सय २५ रुपैयाँमा खरिद गरी प्रतिकेजी साढे २ सयमा बिक्री गर्छन् । ‘महको बजार समस्या छैन,’ उनले भने । सिलिङेका आइतेसिंह चेपाङले गत आवमा १६ लाख रुपैयाँको मह बिक्री गरे । सिलिङेका ६१ घरधुरीले गत वर्ष आधुनिक घारमा मौरीपालन गरेका थिए ।

न्यूनतम १ लाख २५ हजारदेखि १५ लाख रुपैयाँसम्म महबाट आम्दानी गर्न यहाँका मौरीपालक सफल भएको स्थानीय माविका प्रधानाध्यापक तारा दवाडी बताउँछन् ।
‘महबाट आम्दानीको प्रभाव विद्यालयमा पनि पर्न थालेको छ,’ उनले भने, ‘स्कुलमा छोराछोरी नियमित पढ्न पठाउने गरिएको छ । एसईई गरेपछि हेटौंडामा कोठा भाडामा लिएर पढाउने पनि उत्तिकै देख्न सकिन्छ ।’ चेपाङ, चिउरी र चमेरो एकअर्काको परिपूरक रहेको उनले बताए । ‘एकको अभावमा अर्को संकटमा पर्छ,’ उनले भने । चेपाङ समुदायले भर्खरै मात्र यो कुरा बुझ्न थालेका छन् । ‘चेपाङ, चमेरो र चिउरी हाम्रो जीवनशैलीसँग जोडिएको छ,’ पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले भने, ‘विशेषगरी चेपाङ समुदायले चमेरो र चिउरीको संरक्षण गर्नुपर्छ भन्ने बुझ्न थालेका छन् ।’ चमेरोको संरक्षणका लागि काँकडामा चमेरो संरक्षण समिति पनि गठन गरिएको छ । उक्त समितिले चमेरो मार्न दिँदैन । ‘विगतमा एकै रातमा एक/एक थुन्से चमेरो मार्ने गरिन्थ्यो,’ समिति अध्यक्ष मोतीराम चेपाङले भने।

मौरीको चरनक्षेत्र जोगाउन र भूक्षय रोक्न एवं गाउँलाई हरियाली राखिराख्न मकवानपुरमा मात्र होइन, गत वर्ष मुलुकका विभिन्न जिल्लामा ५० हजार १ सय चिउरीका बिरुवा रोपिएका छन् । चितवन भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको चिउरीका बिरुवा विभिन्न जिल्लाका कृषकले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले बताए ।

मकवानपुरमा ५ हजार, दाङमा १० हजार चितवनमा ५ हजार, रौतहटमा ३ हजार, सर्लाहीमा ५ हजार, बाँकेमा २ हजार ५ सय, भक्तपुर, रुपन्देहीलगायत जिल्लामा पनि चिउरीका बिरुवा लगिएका छन । अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरी चिउरीका बिरुवा रोपेका हुन् । पछिल्लो समयमा मौरीको चरनक्षेत्र नाश हुँदै गएकाले चरनक्षेत्र जोगाउन चिउरी संरक्षण थालिएको मह उत्पादक कृषक आइतेसिंह बताउँछन् ।

प्रदेश ३ सरकारको कृषि मन्त्रालयले चिउरीको राजधानी काँकडाको सिलिङेमा गेडा पिसेर घ्यू निकाल्ने आधुनिक मेसिन पनि उपलब्ध गराउँदै छ । प्रदेश ३ का कृषिमन्त्री दावादोर्जे लामाले छिट्टै काँकडामा चिउरीको गेडा पिस्ने उपकरण उपलब्ध गराउने बताए । चेपाङहरूले अहिले चिउरीको गेडा काठको चेपुवामा पिसेर घ्यू निकाल्ने गर्छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×